रियो शहरको विमानस्थल कर्मचारी हडतालमा

  • 12 जुन 2014
रियो दे जेनेइरो तस्वीर कपीराइट AFP
Image caption विश्वकप प्रतियोगीता आरम्भ हुनु अघि रियो शहरका सडकहरु झकिझकाउ पारिएको छ

ब्राजीलको रियो डे जेनेइरो शहरको विमानस्थल कर्मचारीले विहीबार‌ दिनको पहिलो घण्टाबाट लागु हुने गरी विश्वकप फुटबलको उदघाटनको समयमा पर्ने गरी २४ घण्टे हडतालको घोषणा गरेका छन्।

बीबीसीकी जुलिया कारनेइरोआफ्नो रिपोर्टमा भन्छिन् रियोमा आह्वान गरिएको हडताल शहरको आन्तरिक र अन्तर्राष्ट्रिय -दुई वटै विमानस्थलमा हुनेछ।

कुल कामदार संख्याको झण्डै पांचभागको एकभागले हडतालमा सहभागी भएर काम बन्द गर्नेछन् तर यसबाट ब्राजीलको सबैभन्दा परिचित शहरमा व्यवधानहरु उत्पन्न हुने निश्चित छ।

हडतालमा उत्रेकाहरुमा विमानस्थलको चेक इन सहायक, ब्यागेज ढुवानीकर्ता र विमानस्थल सफाइ कर्मचारीहरु छन्।

थप तलब

तस्वीर कपीराइट Getty
Image caption रियो दे जेनेइरो शहरमा पनि विश्वकप आयोजनाको विषयलाई लिएर जारी विरोधले चर्को रुप लिएको छ

मजदुर युनियनका एकजना नेताले आफूहरुले विश्वकपको आयोजनामा व्यवधान पुर्याउन नखोजेको बताएका छन्।

तर यस्तो ठूलो स्तरको प्रतियोगीताको आयोजनाका क्रममा आफूहरुको काममा पनि बृद्धि हुने हुंदा त्यसको सोधभर्नाका लागि थप तलब मात्र मागेको बीबीसीलाई बताएका छन्।

ब्राजीलको नागरिक उड्डयन निकायले विमानसेवाहरुले प्रतियोगीता अवधिभरका निम्ति बैकल्पीक योजनाहरु तयार पारेका जनाएको छ।

यसरी रियोका अधिकारीहरु चिन्ताग्रस्त रहंदा साओ पाउलोमा भने केहि राहतको स्थिती देखिएको छ।

गत हप्ता यातायात व्यवस्था प्रभावित हुने गरी कामदारहरुले आआफ्नो काम बन्द गरेका भएपनि भूमिगत रेल सेवाका कमर्चारीहरुले विहीबारको दिन हडताल नगर्ने निर्णय गरेका छन्।