ब्राजीलको विजयी शुरुआत

  • 13 जुन 2014
तस्वीर कपीराइट AFP
Image caption उद्घाटन खेलमा ब्राजीली युवा खेलाडी नेमारको प्रदर्शन उत्कृष्ट रह्यो

ब्राजीलको साओ पाउलो रंगशालाको एक भब्य उद्घाटन समारोह सकिनासाथ शुरु भएको विश्वकप प्रतिस्पर्धामा आयोजक ब्राजीलले आफ्नो शैली अनुरुपको विजय पाएको छ ।

क्रोएसियालाई १ का विरुद्ध ३ गोलले हराउने पराजित गरेपछि रंगशाला भित्र र बाहिर रंगिन जर्सीमा सजिएका लाखौं ब्राजीली समर्थकहरुले विजय उत्सव मनाएका थिए ।

तर खेलकै क्रममा दिइएको पेनाल्टी निर्णयलाई विपक्षी प्रशिक्षकले गलत भनेपछि खेल विवादास्पद बन्न पुगेको छ ।

रंगिन उद्घाटन समारोह गरेको आयोजक ब्राजीलले विश्वकपको विरोध अझै झेलिनै रहेको छ ।

नेमार नायक

केही विवाद र तनावकाबीच क्रोयसियालाई १ का विरुद्ध ३ गोलले हराउने क्रममा ब्राजीलका अग्रपंक्तिका खेलाडि नेमार नायक बने ।

बार्सिलोनाबाट खेल्ने २२ वर्षिय नेमारले २ गोल गर्दै ब्राजिललाई उद्घाटन खेलमा जित दिलाउन मुख्य भुमिका खेले।

खेल शुरु हुना साथ खाएको आत्मघाती गोलका कारण १ गोलले पछि परेपछि स्तव्ध भएका ब्राजीली समर्थकहरु लाई नेमारले खेलको २९ औं मिनेटमा गोल गरी खुशी दिलाएका थिए ।

२५ गज टाढाबाट उनले बाया खुटटाले गरेको प्रहार पोष्टको दाया कुना च्याप्दै जाली छुन पुगेको थियो ।

अग्रता

७१ औं मिनेटमा पेनाल्टी मार्फत नेमारले नै गरेको गोल गरेपछि ब्राजीलले खेलमा अग्रता लिएको थियो ।

बिस्तारै घुमेर र केही बेर रोकिदै उनले हानेको पेनाल्टी प्रहारलाई तीनवटा विश्वकपको अनुभव वटुलिसकेका क्रोएसियाका गोलकिपरले रोकेपनि बल फुत्केर गोलमा परिणत भएको थियो ।

खेलको दोस्रो हाफमा भने ब्राजिलले क्रोयसियामाथी एकोहोरो दवाव बनाउन सफल भएको थियो ।

तस्वीर कपीराइट VIPCOMM
Image caption शुरुमा आत्मघाती गोल गरेर पनि अन्त्यमा ब्राजीलले क्रोएशियालाई तीन गोल हानेर विजयी भयो

घरेलु टोली विरुद्धको खेलमा क्रोयसियाका खेलाडीहरुले नियन्त्रण गुमाएको देखिएको थियो।

शानदार विजय

इन्जुरी समयमा चेल्सीका मिडफिल्डर ओस्कारले अर्को गोल थपेपछि ब्राजिलको विजय शानदार बनेको थियो ।

अतिरिक्त समयमा उनले गोल थपेपछि साओ पाउलो रंगशाला र बाहिर सडकमा पहेंलो र हरियो जर्सिमा सजिएका समर्थकहरुले ठुलो खुशियाली मनाएका थिए ।

विश्वकपको २० औं सस्करण सम्म अहिलेसम्म आयोजक राष्ट्रले खेलेको पहिलो खेल हारेको छैन ।

पेनाल्टी आक्रोस

जापानी रेफ्री युची निसिमुराले दिएको पेनाल्टी निर्णय विवादास्पद बनेको हो ।

क्रोएशियाका देयान लोभरेनले पेनाल्टी बक्स भित्र ब्राजीलका फ्रेडलाई लडाएको भन्दै दिइएको सो पेनाल्टी रिप्लेमा हेर्दा सामान्य देखिएको थियो ।

बीबीसी रेडियोका क्रिस वाडल भन्छन् दुर्भाग्यवश रेफ्री समाचारको केन्द्र बनेका छन्। ब्राजीलले निकै राम्रो खेलेको हो । तर भाग्य पनि उनिहरुकै साथमा रह्यो ।

क्रोएसियाका प्रशिक्षक निको कोभाक निकै आक्रोसित देखिए ।

उनले भने, "यदि त्यो पेनाल्टी हो भने हामीले अव फुटबल खेल्नु पर्दैन । अब बास्केटबल खेलौं । यदि यस्तो पेनाल्टी निर्णय दिने हो भने सयौं पेनाल्टीहरु हुनेछ।"

तस्वीर कपीराइट AFP
Image caption विहिबारदेखि ब्राजीलमा शुरु भएको विश्वकप फुटबल झण्डै एकमहिनासम्म जारी रहनेछ

ब्राजीलका प्रशिक्षक फिलिप स्कोलारीले भने पेनाल्टीको बचाउ गरेका छन् ।

विरोध संगसंगै

तर उद्घाटन समारोह सकिएपछि कतिपय दर्शकहरुले ब्राजीलकी राष्ट्रपति डिल्मा रुसेफ र विश्व फुटबलको सर्वोच्च संस्था फिफा विरुद्ध नाराबाजी समेत गरेका थिए ।

थोरै संख्यामा रहेका विरोधीहरुले विश्वकप फुटबल हुने अन्य शहरहरुमा समेत प्रदर्शन गरेका थिए ।

पुलिसले साओ पाउलो रंगशाला बाहिर ३० जनालाई पक्राउ गरेको थियो । चार जना प्रदर्शनकारी घाइते पनि भएका थिए ।

विश्वकप शुरु हुनु महिनौं अगाडी देखि नै कतिपय विरोधीहरुले निरन्तर प्रतियोगिताको विरोध गर्दै आएका थिए।

उनीहरुले विश्वकप फुटबल र दुई वर्षपछि रियो डि जेनेरियो शहरमा हुन लागेको ओलिम्पिक खेलको आयोजनाको लागि देशको थुप्रै धन खर्च गरेकोमा विरोध गर्दै आएका छन् ।