पहिलो खेल: ब्राजील र क्रोएशियाबीच

  • 13 जुन 2014
ब्राजीलका खेलाडी प्रशिक्षणमा तस्वीर कपीराइट AFP
Image caption आयोजक राष्ट्रका हैसियतले ब्राजीलको टोलीमाथि चर्को दबाब परिरहेको छ

सन् २०१४ को फिफा विश्वकप प्रतियोगीताको आयोजनाको जिम्मा पाएको घोषणाको सातबर्षपछि ब्राजीलमा विहीबारबाट विश्व फुटबलको महाप्रतियोगीता आरम्भ हुंदैछ।

संसारको सबैभन्दा उत्कृष्ट अन्तर्राष्ट्रिय फुटबल टिम को बन्ने भन्ने प्रतिष्पर्धाका ६४ वटा खेहरु मध्येको पहिलो प्रतियोगीता आयोजक राष्ट्र ब्राजील र क्रोएशियाबीच हुंदैछ।

पहिलो खेल ब्राजीलको साओ पाउलोस्थित एरेना डे साओ पाउलो रंगशालामा हुंदैछ।

बीबीसी स्पोर्टका फुटबल विश्लेषक मार्क लरेन्सन् भन्छन्: “ब्राजील आयोजक राष्ट्र हो र तिनीहरु धेरै मानिसहरुका मनपर्ने टोली पनि हुन्।

त्यसैले तिनीहरुले बेहोर्नु पर्ने दबाब र तिनीहरुप्रतिको अपेक्षा एकदमै चर्को छ। तिनीहरुले प्रतियोगीता जितेमा पनि त्यो त्यति सजीलो भने हुने छैन।“

“तिनीहरु आजको पहिलो खेलमा विना कुनै समस्या अघि बढ्न सक्ने सम्भावना छ। किनकी अहिलेको क्रोएशियाको जुन टोली छ त्यो पहिलेका प्रतियोगीताहरुमा सहभागी टोलीहरु जतिको बलियो देखिएको छैन।“

ध्यान दिनु पर्ने खेलाडी

ब्राजीलका कप्तान थियागो सिल्भा माझिएका खेलाडी हुन्।

सन् २०१३ को फिफा बालोन डओर, उत्कृष्ट खेलाडी पुरस्कारका लागि छनौटमा परेका उनी एक मात्र डिफेन्डर, रक्षापंक्ति, को खेलाडी थिए।

फ्रान्सेली च्यापीयन प्यारिस सेन्ट जर्मेनका लागि खेल्ने सिल्भाले खासगरी चेल्सीका डिफेन्डर डेभिड लुइजसंग बलियो तालमेल मिलाएका छन् जुन साझेदारी ब्राजीलको रक्षा रणनीतिको केन्द्रमा रहनेछ।

मुख्य भिडन्त

ब्यापक चर्चालाई विश्वास गर्ने हो भने नेयमार ब्राजीलका लागि निकै महत्वपूर्ण हुनेछन्।

उनी जोशिला छन्, फुटबलको सिपहरुमा पोख्त र अविश्वसनीय गतिमा बललाई अघि बढाउन खप्पीस्।

ब्राजीलका कोच स्कोलारीको टोलीको खेलमा परिवर्तन ल्याउन सक्ने सबैभन्दा बढी खुबी भएका मध्ये उनी एक हुन्।

ब्राजीलका स्ट्राइकर फ्रेडले भनेका छन् यदि खेलमा कसैको केहि जोड नचलेमा नेयमारलाई बल दिनु पर्छ उनले केहि न केहि उपलब्धी गरेरै छाड्छन्।

तर क्रोएशियका लुका मोड्रीच का बारेमा पनि यिनै कुराहरु लागु हुन्छन्।

इंग्ल्याण्डको टोट्नम क्लबका यि २८ बर्षिय पूर्व खेलाडीले यो बर्षको सिजनमा रेआल मड्रीडको तर्फबाट निकै राम्रो खेल खेलेका छन्।

उनको सोझो बल पास गर्न सक्ने क्षमता ८९.७३ प्रतिशत सटीक छ। उनको सुझबुझ ब्राजीलको रक्षापंक्तिलाई तोड्नमा विशेष उपयोगी हुन सक्छ।

तस्वीर कपीराइट AFP
Image caption क्रोएशियाको फुटबल टोली यसअघिका टोलीहरु भन्दा कमजोर रहेको बताइन्छ

दिनको तथ्यांक ब्राजीलले कुनै पनि विश्वकपमा आफूले खेलेको पहिलो खेल हारेको छैन।

अन्य आयोजकहरुले गत २० वटा प्रतियोगीतामा १४ वटा जीतेका छन् भने ६ वटा बराबरी गरेका छन्।

क्रोयशियाले सहभागी १३ वटा विश्वकप खेलहरुमा जम्मा ११ वटा मात्र गोल खाएको छ।

जुन सन् २०१४ को विश्वकपमा सहभागी ३२ टोलीहरुमा सबैभन्दा उत्तम अनुपात हो।

पछिल्लो पटक सन् २००६ को विश्वकपमा ब्राजील र क्रोएशियाबीचको खेलमा क्रोएशिया १-० ले पराजीत भएको थियो।

बर्लिनमा भएको खेलमा ब्राजीलका खेलाडी काकाले विजयी गोल गरेका थिए।