ईराकमा धर्मगुरुद्वारा शस्त्र उठाउन आव्हान

  • 13 जुन 2014
विस्थापित मानिसहरु तस्वीर कपीराइट AP
Image caption लडाईंका कारण कैयौं मानिसहरु विस्थापित हुन पुगेका छन्

सुन्नी समुदायको नेतृत्वमा रहेका ईस्लामिक स्टेट ईन ईराक एन्ड लेभान्त भनिने आईएसआईएस नामक विद्रोही समूहले लगालग ईराकी शहरहरुमाथ‌ि हमला गर्दै तिनको नियन्त्रण खोस्दै अघि बढ्न थालेपछि ईराकका शिया समुदायका सबभन्दा वरिष्ठ धर्मगुरुले हतियार उठाउन भनेका छन्।

विद्रोहीहरुले उत्तर तथा पूर्वमा आफ्ना पकड दह्रो बनाउंदै दक्षिणतर्फ अघि लाग्दै गर्दा शुक्रबारे प्रार्थना सभाका दौरान ग्रान्ड आयातोल्ला अलि अल सीस्तानीले त्यसो भनेका हुन्। मोसुल शहर कब्जामा लिएपछि विद्रोहीहरुले जथाभावी मानिस मारेको र सैयौंको ज्यान गईसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

ईराकको पछिल्लो अवस्थाबारे बीबीसीका कुटनीतिक सम्वाददाता जोनाथन मार्कस भन्छन् ताजा द्वन्द्वका कारण मध्यपूर्वको वर्तमान सीमारेखानै खतरामा परेको छ।

मध्यपूर्वको हालको सीमारेखा खासगरी प्रथम विश्व युध्दताका खिंचिएका हुन्। अट्टोमान साम्राज्यको पराजयपछि साम्राज्यवादी शक्तिहरुले ती रेखा कोरेका थिए।

ती सीमारेखा अब मूलत दुई कारणले खतरामा परेको देखिएको मार्कसको विश्लेषण छ। ती दुई कारण हुन् - सिरियामा जारी लडाईं र उसको निरन्तरको विखण्डन अन‌ि ईराकमा आईएसआईएस ले गरेको चढाई। आईएसआईएस लाई रोक्न नसकिए त्यसले विगतमा कहिल्यै नदेखिएको स्तरमा ईराकी राज्यमाथि जोखिम उत्पन्न गर्नेछ। सिरिया तथा ईराकमा देखिएका यी समस्याहरुले आईएसआईएस को पकड रहेको पूर्वी सिरिया र पश्चिमी ईराकका भूभाग गाभेर नयां राज्यको स्थापना हुने खतरा बढेको छ।

त्यसो भएमा त्यसले उक्त क्षेत्र र बाहिर ठूलो असर पार्न सक्छ।

कारण

तस्वीर कपीराइट AFP
Image caption पछिल्लो द्वन्द्वलाई लिएर अमेरिकी सरकारले गम्भीर चिन्ता जनाएको छ

एकपछि अर्को समस्यासंग जुध्दै आएको ईराक पछिल्लो स्थ‌ितिसम्म कसरी आईपुग्यो त? कारणहरु धेरै छन्।

एक त ईराकको स्थापनाताकै यी समस्याको बीज रोपिएको ठान्नेहरुपन‌ि छन्। तत्कालीन साम्राज्यवादी शक्ति ब्रीटेनले हाशेमाईट अधिराज्यको स्थापना गरिदियो जसले त्यहांका शिया तथा कुर्द समुदायलाई बेवास्ता गर्यो। यो शैली ईराकको उतारचढाव युक्त ईतिहासमा बारम्बार देखियो।

अर्को सन् २००३ मा ईराकलाई मुक्त पार्ने भनी अमेरिका तथा ब्रीटेनले गरेको अतिक्रमण पछि सद्दाम हुसेनको सरकार त ढल्यो तर त्यसले ईराक एक एकात्मक राज्यको रुपमा रहिरहनेप्रत‌ि धेरैले शंका गरेका थिए।

अनि सन् २०११ मा अमेरिकी सेना त्यहांबाट हट्यो। उसले सुन्नी समुदायलाईपन‌ि केही हदसम्म साथै लिएर अल कायदासंग लडेको थियो। तर उसको बहिर्गमनसंगै ती सहयात्रा तोडिए।

पछिल्ला वर्षमा ईराकमा जातियताको द्वन्द्व चर्कियो। सद्दाम हुसेनलाई हटाईएपछि छेवैको ईरानको पुनरोदय जस्तो भयो। क्षेत्रिय द्वन्द्वको अवस्थामा ईरानले ईराकका शिया समुदायलाई आफ्नो निकट ठान्यो। त्यसले सुन्नी समुदाय चिढिए।

त्यसमाथि आर्थिक र सामाजिक रुपमा अघि बढ्न नसक्नु अनि क्षेत्रिय घटनाक्रमलेपनि ईराकको निम्त‌ि स्थ‌िति प्रतिकुल बनाईदियो।