विश्वकप २०१४ विहीबार आरम्भ हुंदै

  • 13 जुन 2014
ब्राजील २०१४ तस्वीर कपीराइट BBC World Service
Image caption जुलाई १३ तारिख सम्म संसारका ३२ टोलीले विभिन्न ६४ खेलमा प्रतिस्पर्धा गर्नेछन्

ब्राज‌िलमा सन् २०१४ को फिफा विश्वकप फुटबल प्रतियोग‌िता विहीबारबाट आरम्भ हुंदैछ।

आगामी जुलाई १३ तारिखमा हुने फाइनल खेलमा पुग्न संसारभरका विभिन्न ३२ वटा देशका फुटबल टोलीहरुले कडा प्रतिस्पर्धा गर्नेछन्।

ब्राज‌िलको साओ पाउलो शहरमा पहिलो खेल हुनु अघि विशेष उद्घाटन समारोह हुनेछ र त्यसक्रममा प्रकृति, मानवजाति र फुटबलप्रति सम्मान व्यक्त गरिने छ।

तर ब्राज‌िलमा नै भने विभिन्न शहरहरुमा यो खेल आयोजनाका सम्बन्धमा असन्तुष्टीहरु व्यक्त भैरहेका छन्।

विरोध

गत बर्ष मात्रै दश लाख भन्दा बढी मानिसहरुले देशका ठूला शहरका सडकहरुमा उत्रिएर विश्वकपका क्रममा अत्यधिक खर्च भएको भन्दै विरोध गरेका थिए।

त्यस क्रममा भएका केही हिंसात्मक घटनाहरु नदोहोरिउन् भन्नेमा आयोजक राष्ट्रले ठूलो प्रयास गरिरहेको छ।

देशकी राष्ट्रपति डिल्मा रुसेफले भनेकी छन्, "विश्वकपलाई अवरोध पुग्ने गरी हिंसात्मक प्रदर्शनहरु हुन दिइने छैन।"

खेल प्रतियोग‌िताहरु सुचारु रुपले संचालन गराउनका लागि हजारौं थप प्रहरी र सैनिकहरु परिचालन गरिएको छ।

आयोजक ब्राज‌िललाई विश्वकप छैठौं पटक जित्ने एउटा प्रवल दावेदार टोलीका रुपमा धेरैले लिएका देखिएको छ।

विजेता

अर्को तर्फ गत विश्वकपको विजेता स्पेनले दुई वर्ष अघि युरोपेली च्याम्पीयनशीप जिते यता, लगातार चारवटा ठूला विश्व प्रतियोग‌िताहरुमा जीत हासिल गर्ने प्रयास गर्नेछ।

प्रतियोग‌ितामा उच्च वरियतामा रहेका अन्य टोलीहरुमा कोलम्बीया, युरुग्वे, स्वीट्जरल्याण्ड, अर्जेन्टीना, जर्मनी र बेल्जीयम छन्।

तस्वीर कपीराइट Reuters
Image caption साओ पाउलोका भूमिगत रेल सेवाका कर्मचारीहरुले विश्वकप आयोजनामा भएको खर्चको विरोध गरेका थिए

बीबीसीको चर्चित फुटबल कार्यक्रम म्याच अफ द डे का प्रस्तोता तथा पूर्व फूटबल खेलाडी ग्यारी लिनेकर भन्छन्, यस पटक जित्ने सम्भावना बोकेका चार वटा टोलीहरु देखिन्छन्।

“ती चार टोलीहरु मेरो विचारमा जर्मनी, स्पेन, अर्जेन्टीना वा ब्राज‌िल हुन्। तर आयोजक राष्ट्रमाथि अन्यको दांजोमा जितका लागि अलि बढी नै दबाब हुनेछ“, लिनेकरले भने।

विहीबार साओ पाउलोमा ब्राज‌िल र क्रोएशियाबीच हुने पहिलो खेल ६५ हजार दर्शकले रंगशालामा प्रत्यक्ष उपस्थित भएर हेर्ने अनुमान गरिएको छ।

खेल अवधिभरका लागि आफूले २९ लाख भन्दा बढी टिकटहरु बेचीसकेको फुटबलको विश्व प्रशासकीय निकाय फिफाले जनाएको छ।

बीबीसी स्पोर्टको वेबसाइटमा सबै ६४ वटा खेलहरुको प्रत्यक्ष टेक्स्ट कमेन्ट्री उपलब्ध हुनेछ।