ब्रीटेनमा राहदानी नविकरणमा ढिलाई

  • 14 जुन 2014
Image caption बेलायतमा नयाँ पासपोर्ट लिने र नविकरण गर्न चाहनेको संख्याको चाप बढ्दै गएको बताइएको छ

ब्रीटेनकी गृहमन्त्री थेरेसा मेले राहदानी (पासपोर्टहरु) बनाउनुपर्ने संख्या असाध्यै धेरै आइलागेकाले आपतकालीन उपायहरु घोषणा गरेकी छन्।

हजारौं मानिसहरुले नयाँ पासपोर्ट पाउन आवश्यक भन्दा ढिलो भएको अनुभव गरेका छन्।

प्रधानमन्त्री डेभिड क्यामरनले कम्तिमा ३० हजार भन्दा बढि पासपोर्ट आवेदन दर्ता भएकाले गर्नुपर्ने काम धेरै भएको स्वीकारेका छन्।

पासपोर्ट कार्यालयले भनेको छ अनपेक्षित रुपमा कार्यालयमा नयाँ पासपोर्ट बनाउने या पुरानो नविकरण गर्नेको माग ह्वात्तै बढेको छ।

कागजी प्रक्रिया

मन्त्रीहरुले यो अर्थतन्त्रमा आएको सुधारका कारण भएको बताएका छन्।

तर ब्रीटीश कुटनीति सम्बनद्ध मानिसहरुले भनेका छन्, प्रक्रिया पुरा गर्ने समय निकै बढेको छ किनभने पैसा बचाउने भन्दै मार्चमा सातवटा अन्तर्राष्ट्रिय पासपोर्ट केन्द्रहरु बन्द गरिएका छन्।

सबैखाले कागजी प्रक्रिया अब ब्रीटेनमा मात्र हेरिन्छ।

ब्रीटेनमा पासपोर्ट नविकरण गर्न सामान्यत तीनहप्ता जति लाग्छ भने नयाँ पासपोर्ट बनाउन ६ हप्तासम्म लाग्न सक्छ।

गृहमन्त्रीले केहिलाई तीन हप्ताभित्र पासपोर्ट दिइएको र कतिलाई चारहप्तामा दिइएको बताइन् तर केहि मानिसहरुले बीबीसीलाई भने उनीहरुले पासपोर्ट पाउन दुइ महिनासम्म लागेको थियो।

थप कर्मचारी

यो समस्या तह लगाउन २५० जना कर्मचारीलाई पुन पासपोर्टको काममा लगाइएको छ।

पासपोर्ट दिने कार्यालयको काम गर्ने समय बढाइएको छ र हप्तामा सातै दिन पासपोर्टको काम गर्ने गरिएको छ।

सय जना थप कर्मचारी सहित नयाँ ठाउँमा कार्यालय खोलिनेछ।

कैयौं दिनको दवावपछि गृहमन्त्री थेरेसा मेले श्रृंखलाबद्ध आपतकालीन व्यवस्था गरेको घोषणा गरेकी छन्।

विदेशबाट नविकरण गर्न चाहनेहरुलाई अहिलेकै पासपोर्टलाई एक वर्ष थपिनेछ।

आफ्ना बालबच्चाका लागि विदेश जान पासपोर्ट चाहनेहरुका लागि 'इमर्जेन्सी ट्राभल डकुमेन्ट' दिइनेछ।

नविकरण

त्यो बाहेक धेरै पैसा तिर्नेहरुका लागि तत्काल नविकरण हुने व्यवस्था गरिएको छ।

१ सय २८ पाउण्ड भनेको झण्डै एक्काइस हजार तिर्यो भने चार घन्टाभित्रै पासपोर्ट नविकरण हुन्छ।

र १सय ३ पाउन्ड भनेको १७ हजार रुपैया जति तिर्यो भने एक हप्ताभित्रै नविकरण हुन्छ।

तर यस्तो सेवा अनलाइन निवेदन दिने र विशेष किसिमको पासपोर्टलाई भने उपलब्ध छैन।

ब्रीटेनमा साधारणत पासपोर्टको ७२ पाउण्ड भनेको साढे एघार हजार रुपैया जति पर्छ भने बच्चाको पासपोर्टलाई सातहजार रुपैया जति पर्छ।