स्पेन विरुद्ध नेदरल्याण्ड्सको रोमाञ्चक जीत

  • 14 जुन 2014
तस्वीर कपीराइट AP
Image caption नेदरल्याण्ड्सका खेलाडिहरु विश्व कप विजेता स्पेन विरुद्ध जीत हासिल गर्दै जाँदा जीतको उल्लासमा

द नेदरल्याण्ड्सले विश्वकप विजेता स्पेनलाई १ का विरुद्ध ५ गोलले पराजित गरेको छ ।

चार वर्ष अगाडि भएको विश्वकप फाइनलमा भेटेका यी दुई राष्ट्रबीच भएको खेलमा त्यतिबेला स्पेनले १-० ले हराउदैं उपाधि जितेको थियो, त्यहि खेलको पुनराबृति ब्राजीलमा हुंदा नेदरल्याण्डसले बाजी मार्यो ।

साविक विजेता राष्ट्रको यस्तो हार विश्वकपको इतिहासमा अविस्मरणीय रहनेछ।

स्पेनले २७ औं मिनेटमा पाएको पेनाल्टीमा जाभी अलोन्सोको गोल मार्फत खेलमा अग्रता लिएको थियो ।

तर मध्यान्तर हुनु एक मिनेट अगाडि रोबिन भान पर्सीले डाइभिङ हेडमा बराबरी गोल गरेपछि खेलको कथा बदलिएको थियो ।

मध्यान्तरपछि नेदरल्याण्ड्सले लगातार चार गोल गरेको थियो । जसमा भान पर्सी र आर्यन रोबेनले २ २ गोल गरे भने एक गोल स्टेफन डी व्रिजको नाममा रह्यो ।

मध्यान्तर पछि

आर्येन रोबेनले नेदरल्याण्ड्सलाई अग्रता दिलाउने क्रममा ५३ औं मिनेटमा टोलीको लागि दोस्रो गोल गरे ।

तस्वीर कपीराइट AP
Image caption विश्वकप विजेता स्पेनले गत विश्वकपको फाइनलको प्रतिद्वन्द्वी नेदरल्याण्ड्सँग हारेको छ

उनले दुई जना विपक्षी रक्षकलाई छक्याउदै बायाँ खुटटाले उत्कृष्ट प्रहारमा गोल गरेका थिए ।

सेतो जर्सीमा साल्वाडोर रंगशालामा उत्रेका स्पेनी खेलाडीहरुले नेदरल्याण्ड्सलाई दवाव नदिएको होइन तर नेदरल्याण्ड्सका खेलाडीहरुले स्पेनको रक्षाक्षेत्रको कमजोरी उजागर गर्दै एक पछि अर्को गोल थपिरहे ।

६४ औं मिनेटमा स्टेफन डी व्रिजले देशको लागि पहिलो गोल गरेका थिए । गोलको क्रम यतिमै रोकिएन । ७२ औं मिनेटमा भान पर्सी र ८० औं मिनेटमा रोवेनले गोल गरेपछि मात्र गोलको क्रम रोकिएको थियो ।

कठीन

गत विश्वकपमा फाइनल खेलेका यी दुई टोलीको यसपाली प्रारम्भिक चरणमै भेट हुनु पहिलो संयोग थियो ।

अनि दुई टोलीले त्यो फाइनलपछि आजै पहिलो पटक एक अर्कासंग खेलेका थिए ।

नेदरल्याण्ड्सको लागि यो चार वर्ष अगाडिको उपाधी गुमाउनु परेको पीडाको मिठो बदला बन्यो ।

समुह वी को यो पराजय स्पेनको लागि अझ महंगो हुन सक्छ ।

सम्भावना

Image caption ब्राजीलमा नेदरल्याण्ड्सका प्रशंशकको उल्लास

किनकी यो समुहको उपविजेताको भेट अर्को चरणमा आयोजक ब्राजिलसंग हुने सम्भावना देखा परेको छ ।

यस्तोमा विश्वकपमा दावेदार मध्ये एकको विदाई दोस्रो चरणबाटै हुन सक्छ।

स्पेनले यसअघि सन् १९६३ मा स्कटल्याण्डसंग ६-२ को फराकिलो हार बेहोरेको थियो ।

त्यस्तै यसअघि १९५० मा ब्राजिलले नै आयोजना गरेको विश्वकपमा स्पेन ब्राजिलसंगै ६-१ ले हारेको थियो ।