सीतामाथि न्याय भएन: महिला अधिकारकर्मी

  • 14 जुन 2014
गृह मन्त्रालय तस्वीर कपीराइट .
Image caption महिला सुरक्षामा पर्याप्त ध्यान नदिइएको भन्दै महिला अधिकारकर्मीले असन्तुष्टी जनाउँदै आएका छन्

बैदेशिक रोजगारीबाट फर्किएपछि भोजपुरकी सीता राईका अध्यागमन विभागका कर्मचारीबाट ठगिएकी चारजना दोषीहरुलाई विशेष अदालतले चार-चार महिना कैद र करिब ७० हजार रुपियाँ जरिवाना तिराउने फैसला सुनाएको छ।

शुरुदेखि नै दलालको जालझेलमा परेर वैदेशिक रोजगारीमा जाने उनीजस्ता महिलाहरु ठग्ने व्यक्तिलाई सजाय गर्ने कानुनी व्यवस्था फितलो भएको महिला अधिकारकर्मीहरुले प्रतिकृया दिएका छन्।

करिब डेढ वर्ष अघि नक्कली राहदानीमा साउदी अरबमा तीन वर्ष काम गरेर फर्किएकी सीता राईलाई डर धम्की देखाएर घुस माग्ने कर्मचारीहरुलाई कम सजाय भएको र उनीमाथि पूर्ण न्याय हुन नसकेको उनीहरुले बताए।

अपुग

घटना भएको केहिपछि मात्रै सार्वजनिक भएको राईको मुद्दामा कर्मचारीको ब्यापक आलोचना गर्दै कयौं मानिसहरु विरोधमा उत्रिएका थिए।

धेरैजसो गुपचुपमै रहेर उजुरी नहुने भनिएका त्यस्ता विषय अदालत पुगे पनि दोषीमाथि हदैसम्म सजाय नभएको महिलाका विषयमा वकालत गर्ने एकजना अधिवक्ता मिरा ढुंगानाले बताइन्।

उनले भनिन्, “जो निरह छ, जसले सही बोल्छ उसमाथि अन्याय गर्नेले जति सजाय पाउनुपर्ने हो त्यति पाएनन्, भ्रष्टाचार ऐन अन्तर्गत त अझै धेरै सजाय छ नि।”

विदेशमा काम गर्न जाने महिलाहरुमाथि दुर्ब्यवहारको अनेकौं घटना सार्वजनिक भइरहँदा केही समयअघि सरकारले ३० वर्ष उमेर नपुगेका महिलाहरु विदेशमा काम गर्न जान नपाउने नियम ल्याएको थियो।

पीडित

उक्त नियम आएलगतै त्यसले गलत बाटोबाट विदेशमा काम गर्न जाने महिलाको संख्या बढेको एकजना महिला अधिकारकर्मी रेणु राजभण्डारीले बताइन्।

उनले भनिन्, “८० प्रतिशत महिलाहरु अहिले भारतको बाटो हुँदै जान्छन्, त्यसो गर्दा उनीहरु धेरै अन्याय पर्ने र ठगिने गर्छन्।”

सरकारी आँकडा अनुसार वैदेशिक रोजगारीमा रहेका करिब ४० लाख श्रमिकमध्ये करिब १५ प्रतिशत महिलाहरु छन्।

करिब ११ प्रतिशत रेमिट्यान्स महिलाहरुबाट भित्रिने गरे पनि उनीहरुमाथिका विभिन्न यौनजन्य हिंसा र अन्य यातनाबारेमा कानुनी व्यवस्था अत्यन्त फितलो हुने गरेको अधिकारकर्मीहरुको भनाइ छ।