सुचीद्वारा सर्वस्वीकार्य संविधानमा जोड

  • 14 जुन 2014
तस्वीर कपीराइट
Image caption नेपालमा मित्रवत व्यवहार पाएको भन्दै प्रजातन्त्रवादी नेतृ सुचीले खुशी व्यक्त गरिन्।

नेपाल भ्रमणमा रहेकी बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीले मुलुकको शान्तिपूर्ण भविष्यका लागि धेरैभन्दा धेरै मानिसलाई मान्य संविधान जरुरी रहेको भन्दै नेपाल त्यसतर्फ अघि बढ्नेमा विश्वास व्यक्त गरेकी छन्।

संविधान बनाउने जिम्मा पाएको संविधानसभालाई शनिबार संबोधन गर्दै सुचीले त्यस्तो धारणा राखेकी हुन्।

उनले शनिबार राष्ट्रपति रामवरण यादव तथा अन्य नेताहरुसँग भेटवार्ता समेत गरेकी छन्।

मान्य

नोबेल शान्ति पुरस्कार विजेता समेत रहेकी सुचीले संविधानसभामा सभासदहरुलाई शनिबार साँझ संबोधन गर्दै शान्ति, लोकतन्त्र लगायतका विषयमा आफ्नो धारणा राखिन।

समग्र मुलुकका लागि मान्य हुने संविधान बनाउन कठीन भएपनि नेपाली नेताहरुले त्यस्तो संविधान दिनेमा आफू विश्वस्त रहेको सुचीले उल्लेख गरिन्।

त्यसअघि सामाजिक लोकतन्त्रको सान्दर्भिकताबारे राजधानी काठमाण्डुमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनलाई संबोधन गर्दै सुचीले वार्ताबाट सम्झौतामा पुग्ने नेपाली नेताहरुको अभ्यासलाई खुलेर प्रशंसा गरिन्।

सम्झौता

उनले भनिन्, ''मलाई लाग्छ नेपालीहरुले लोकतान्त्रिक राजनीतिको एउटा महत्वपूर्ण पाठ सिकेका छन्। उनीहरुले वार्ताबाट सम्झौतामा पुग्ने कुरा सिकेका छन्। वार्ताबाट सम्झौतामा पुग्नु असफलता होईन। सम्झौता कमजोरी नभई शक्ति हो।''

उनले नेपालले लोकतान्त्रिक अभ्यासमा विश्वमा उदाहरण पेश गरेको पनि बताइन्।

लोकतन्त्रलाई अधिकार प्राप्तिका रुपमा मात्रै बुझ्नु नहुने भन्दै उनले त्यो एउटा चरित्र भएको टिप्पणी गरिन्।

सुचीले भनिन्, ''लोकतन्त्रको जग भनेको मानिसहरुप्रतिको सम्मान हो। र मेरो लागि मानिसहरुप्रतिको सम्मान भनेको उनीहरुको अधिकारलाई मात्र मान्यता दिने होइन कि जिम्मेवारीको पनि पहिचान गर्नु हो। अधिकारको कुरा मात्र सोच्नु मानिसप्रतिको सम्मान होइन।''

बर्मामा पनि लोकतान्त्रिक चरित्रको सेनाको आवश्यकतामाथि जोड दिदै सुचीले नेपाली सेना व्यवसायिक छविको भएको भन्दै पटकपटक प्रशंसा समेत गरेकी थिइन्।