इराकी सेनाद्वारा पुन: नियन्त्रण

  • 15 जुन 2014
सुन्नी उग्रवादीहरु तस्वीर कपीराइट AP
Image caption टिक्रिट र मोसुल शहरहरु अझै इस्लामिक उग्रवादीहरुको नियन्त्रणमा छन्

इराकबाट प्राप्त समाचारहरुमा सरकारी सैन्य तथा शिया मिलिसियाहरुले बगदादभन्दा उत्तरमा सुन्नी उग्रवादीहरुलाई अघि बढ्न नदिएको र उनीहरुबाट कैयौं नगरहरु पुन आफ्नो नियन्त्रणमा लिएको जनाइएको छ।

तर मोसुल तथा टिक्रिटजस्ता महत्वपूर्ण शहरहरु अझै उग्रवादीहरुकै नियन्त्रणमा छन्।

इराकमा रहेका हाम्रा संवाददाता भन्छन्, सरकारी सैन्य समर्रा शहरमा भेला भैरहेका छन् र उत्तर तर्फ रहेको सद्दाम हुसेनको गृह नगर टिक्रिटबाट लडाकुहरुलाई धपाउन तयारी गरिरहेका जस्तो देखिन्छन्।

हमला

आइतबार बिहान बगदादबाट उत्तर पूर्वमा रहेको बकुबा शहरमा एउटा सैनिक भर्ती केन्द्रमा गरिएको एक मोर्टार हमलामा तीनजना इराकी सैनिक तथा तीनजना मिलिसिया मारिएका थिए।

सरकारी सैन्य तथा मिलिसियाहरुले विद्रोहीहरुको नियन्त्रणमा रहेका थुप्रै नगरहरुमाथि फेरि नियन्त्रण कायम गरेका छन्।

उनीहरुले इशाक नगरमा बाह्रजना प्रहरीका डढाइएका शवहरु आफुहरुले फेला पारेको बताए।

राजधानीको उत्तरपूर्वमा रहेको जलावला नगरमा शनिबार राती सरकारी हेलिकोप्टरबाट गरिएको एक हमलामा पहिले सुन्नी विद्रोहीहरुले प्रयोग गरेको एक अखाडामा रहेका सातजना कुर्दिश लडाकुहरु मारिएका छन्।

अधिकारीहरुले गल्तीले उक्त हमला गरिएको जनाएका छन्।

चेतावनी

यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले इराकी नेताहरुले तिनका मतभिन्नता सुल्झाएमा मात्रै इस्लामवादी उग्रवादीहरुसंग जुध्न अमेरिकाले दिने सहयोग सफल हुने चेतावनी दिएका थिए।

इराकमा चर्कंदो हिंसालाई ध्यानमा राखेर एउटा अमेरिकी विमान वाहक लाई खाडीतर्फ पठाउन लागिएको अमेरिकी अधिकारीहरुले जनाएका छन्।

यद्यपि संवाददाताहरु भन्छन्, प्रधानमन्त्री नुरी अल मलिकी र उनको शिया नेतृत्वको सरकारले सुन्नी तथा कुर्द समुदायका चिन्ताहरुलाई संबोधन नगरेको भनी वाशिङटन निराश बनेको छ।

शनिबार इरानका राष्ट्रपति हसन रुहानीले इराक सरकारलाई प्रत्यक्ष सहयोग दिन प्रस्ताव गरेका थिए।

तर उनले इराकमा आइएसआइएस भनिने इस्लामिक उग्रवादीहरुसंग जुध्न आफ्ना सैनिकहरु पठाइसकेको भन्ने समाचारहरुको खण्डन गरेका थिए।

इरानले भनेको छ, इराकमा सुन्नी उग्रवादीहरुसंग जुध्न उ लामो समयदेखि शत्रुता रहेको संयुक्त राज्य अमेरिकासंग मिलेर काम गर्न तयार छ।