केन्यामा अडचालिसजनाको मृत्यु

  • 16 जुन 2014
केन्यामा हमला तस्वीर कपीराइट
Image caption बन्दूकधारीहरुले विभिन्न होटलहरुमा आगो लगाइदिएका थिए

केन्याको लामु प्रायद्वीप नजीकै एउटा तटवर्ती नगरमा गरिएको हमलामा कम्तीमा अडचालिस जनाको ज्यान गएको छ।

ती हमलाको कसैले जिम्मा लिएको छैन।

आइतबार राती स्थानीय वासिन्दाहरुले टेलिभिजनमा विश्व कप फुटबल हेरिरहेका बेला उक्त हमला गरिएको थियो।

हमला

लामु प्रायद्वीप नजीकै रहेको एउटा लोकप्रिय पर्यटकीय स्थलमा ती हमलाहरु गरिएको थियो।

आठजना बन्दूकधारीहरुले दुईवटा भ्यानहरुलाई अपहरण गरी एमपेकेतोनीतर्फ जान आदेश दिएको र त्यहाँ उनीहरुले जथाभावी गोली चलाएको बताइएको छ।

प्रत्यक्षदर्शीहरुले उक्त समूहले दुईवटा होटल, एउटा प्रहरी चौकी, एउटा बैङ्क तथा एउटा पेट्रोल स्टेशनमा धावा बोलेको बताए।

लामु काउन्टीका उपगभर्नर एरिको मुगोले भने, "अहिलेसम्म हामीले सडकबाट लाशहरु उठाएर स्थानीय शवगृहमा राखेका छौं। कैयौं शवहरु किवाओनी जाने बाटोमा त्यस्तै रहिरहेका छन्। आगो लगाइएका अन्य होटलहरुमा रहेका हुनसक्ने मृतकहरुको संख्या पत्ता लागीसकेको छैन।"

मारिने अडचालिस जना सबै स्थानीय वासिन्दाहरु भएको बताइएको छ।

टिप्पणी

केन्याली सेनाका एकजना प्रवक्ताले हमलाकारीहरु सोमालियामा सकृय अल शबाबका सदस्यहरु हुनसक्ने बताए, तर उक्त समूहले कुनै टिप्पणी गरेको छैन।

अरु अपुष्ट समाचारहरुमा सो हमला प्रतिद्वन्द्वी समुदायहरुको जग्गा विवादसंग संबन्धित हुनसक्ने पनि बताइएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार अनुहार छोपेका बन्दूकधारीहरुले स्थानीय प्रहरी चौकीमा विष्फोटक पदार्थ प्रयोग गरी त्यहाँ रहेका हातहतियार लुटेर लगेका थिए।

उनीहरुले सोमाली भाषामा आपसमा कुराकानी गरेको पनि उनीहरुले बताएका छन्।

हमलाकारीहरुले झण्डै पाँच घन्टासम्म आगलागी र लुटपाट जारी राख्दा पनि सुरक्षादलहरुले उचित प्रतिकृया नजनाएको स्थानीय वासिन्दाहरुले गुनासो गरेका छन्।

छलफल

राष्ट्रपति उहुरु केन्याटाले सुरक्षा स्थितिबारे छलफल गर्न गृह मन्त्री जोसेफ ओलेलेङ्कु तथा प्रहरी प्रमुख डेभिड किमाइयोलाई बोलाएका छन्।

झण्डै तीन वर्ष अघि अल शबाब लडाकुहरुले सोमालियाबाट सीमा पार गरी किवायु प्रायद्वीपमा दुईजना ब्रिटिश पर्यटकहरुलाई अपहरण गरेपछि केन्याली सेनाले अल शबाब विरुद्ध कारवाही चलाएको थियो।

त्यस यता अल शबाब लडाकुहरुले नैरोबी, मोम्बासा र उतरपूर्वी केन्यामा कैयौं हमलाहरु गरेका छन्।

गत वर्ष सेप्टेम्बर महिनामा राजधानी नैरोबीस्थित वेस्टगेट व्यापारिक परिसरमा अल शबाब लडाकुहरुले गरेको हमलामा कम्तीमा ६७ जनाको ज्यान गएको थियो।

त्यस पछि राष्ट्रपति केन्याटाले ती हमलाको बदला लिइछाडने चेतावनी दिएका थिए।