मस्यौदा समितिमा संयोजक चयन

  • 17 जुन 2014
Image caption बांकी दुई उपसमितिमा आउँदो शुक्रबारको बैठकमा संयोजक चयन हुने अपेक्षा गरिएको बताइएको छ।

नयां संविधानको पहिलो मस्यौदा तयार पार्ने जिम्मा पाएको संविधानसभा मस्यौदा समिति अन्तर्गत बनेका पाँच उपसमितिमध्ये मंगलबार तीनवटामा संयोजक चयन भएका छन्।

नयाँ संविधानमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासम्बन्धी व्यवस्थाका लागि मस्यौदा तयार गर्न उपसमितिमा तीन ठूला पार्टीका नेताहरु संयोजकमा चयन भएका हुन्।

असोज मसान्तसम्म संविधानको पहिलो मस्यौदा राजपत्रमा प्रकाशित गर्नुपर्ने कार्यतालिका अनुसार सबै उपसमितिहरुले मस्यौदाको काम सुरु गरिसकेको समितिका सचिवले बताएका छन्।

संयोजक चयनसँगै मस्यौदा समितिको कामले तीव्रता पाउने समेत समितिका सचिवले बताए।

चयन

मस्यौदा समितिका सभापति कृष्ण सिटौला स्वास्थ्यको कारण बैठकमा उपस्थित हुन नसकेपछि एमाले नेता भरतमोहन अधिकारीको सभापतित्वमा बसेको समितिको बैठकले मंगलबार तीनवटा उपसमितिमा संयोजक चयन गरेको हो।

संयोजक चयनबारे समितिका सचिव रबि अर्यालले भने, “व्यवस्थापिका सम्बन्धी उपसमितिमा भरतमोहन अधिकारी, कार्यपालिकामा हितराज पान्डे र न्यायपालिकामा रमेश लेखक चयन भएका छन्।”

बांकी अन्य दुई मध्य प्रस्तावना र परिभाषा उपसमिति तराई केन्द्रीत र मौलिक हक अधिकार र राज्यका निर्देशक सिद्धान्त र आयोगसँग सम्बन्ध‌ित उपसमिति साना दललाई दिने निर्णय भएकोले उनीहरुबीच सहमति बांकी रहेको बताइएको छ।

तीव्रता

अघिल्लो संविधानसभाले पारित गरेर पठाएका सहमतिका विषयहरुलाई मस्यौदाको ढाँचामा राख्ने काम सुरु भइसकेकोले अब राजनीतिक तथा संवैधानिक संवाद समितिले मस्यौदा समितिमा पठाउने प्रतिवेदनका आधारमा काम अघि बढ्ने सचिव अर्यालले बताए।

उनले भने, “सहमति हुन बांकी विषयहरुमा राजनीतिक संवाद समितिले दिएको सहमतिका प्रतिवेदन अनुसार मस्यौदा समितिले काम सकाउँदै जाने छ।”

त्यसरी काम अघि बढाउँदै लैजाने समितिले तयार गरेको संविधानको पहिलो मस्यौदा संविधानसभाको पूर्ण बैठकबाट पारित भएपछि असोज अन्तिमसम्ममा रायसुझाव लिन जनतासम्म पुर्याइने कार्यतालिका छ।