'इराकस्थित नेपाली कामदारहरु सुरक्षित'

  • 19 जुन 2014
इराकको नक्सा तस्वीर कपीराइट bbc
Image caption नेपालीहरुलाई रोजगारीको लागि बर्जित इराकमा ठ्याक्कै कति नेपाली छन् त्यो कसैलाई पनि थाहा छैन

राजधानी बग्दाददेखि उत्तरतिर तनाव चर्किदैं गर्दा त्याहाँ ४० जना भारतीय कामदारहरुलाई विद्रोहीहरुले अपहरण गरेको खबर सार्वजनिक भएपछि इराकस्थित नेपालीहरुको अवस्थाबारे चासो र चिन्ता बढेको हो।

वैदेशिक रोजगारीको लागि प्रतिबन्ध लगाइएको इराकमा रहेका नेपालीहरुको संख्या यकिन गर्न र आवश्यक पर्दा उद्वारको पहल गर्न मन्त्रालयले छुट्टै एकाइ गठन गरेको छ।

नेपालीहरुलाई वैदेशिक रोजगारी बर्ज‌ित गरिएको इराकमा ठ्याक्कै कति नेपाली छन् त्यो कसैलाई पनि थाहा छैन।

तर इराकसमेत हेर्ने जिम्मेवारी पाएका पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूत भरतराज पौड्यालको अनुमानमा त्याहाँ १५ हजार भन्दा बढी नेपालीहरु हुन सक्छन्।

‘सुरक्षित’

केही दिनयता बग्दाद देखि उत्तर तिरका मोसुल, टिक्रित र बाइजी क्षेत्रमा आइएसआइएस भनिने इस्लामवादी उग्रवादी समूहमा आवध्द विद्रोही र सरकारी फौजबीच भीडन्त चर्किरहेको खबर आइरहेका छन्।

तर ती क्षेत्रमा रहेका हुन सक्ने नेपालीहरुबारे अप्रिय खबर थाहा नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले बताए।

“अहिलेसम्म विभिन्न स्रोतबाट पाएको जानकारी अनुसार नेपालीहरु जे जति छन् ती सबै सुरक्षित नै छन्। तर त्यहाँको स्थिति सामान्य देखिदैन।”

उनले त्यहाँको विग्रदो सुरक्षा स्थितिलाई मध्यनजर गरेर सरकारले भइपरि आउने अवस्थाको निम्ति सबै उपायहरुबारे सोच्न थालेको बताएका छन्।

धितालका अनुसार इराकको अवस्था थप बिग्रिएमा त्यहाँ स्थित नेपालीहरुलाई उद्वार गर्नको निम्ति छिमेकी देशहरुको सहयोग लिने विकल्प पनि खुल्ला गरिएको छ।

“हामी त्यहाँ रहेका नेपालीहरुसंग सम्पर्कमा छौं, जे जस्तो परिस्थिति उत्पन्न हुन्छ त्यसनिम्ति हामी तयार हुनै पर्छ, हामीले विकल्पहरु खुल्ला राखेका छौं।”

लगभग १० वर्ष अघि, २०६१ साल भदौ १९ गते, इराकमा १२ जना नेपाली नागरिकलाई एक इराकी उग्रवादी समूहले हत्या गरेको घटनापछि नेपाल सरकारले वैदेशिक रोजगारीको लागि इराक जान नेपाली नागरिकहरुलाई प्रतिबन्ध लगाएको थियो।

‘प्रतिवन्ध अटेर’

तर त्यसलाई अटेर गरेर हजारौं नेपाली त्यहाँ पुगेको अनुमान अधिकारीहरुको छ।

इराकको स्वायत्त प्रदेश कुर्दीस्तानको एर्बीलमा रहेका, गैर आवासीय नेपाली महासंघ इराकका अध्यक्ष लालकाजी गुरूङले शुक्रबार साँझ बीबीसीसंग टेलिफोनमा कुरा गर्दै इराकस्थित नेपालीहरु सुरक्षित रहेको बताए।

“भीडन्त भइरहेको मोसुल र अन्य क्षेत्रहरु तर्फ प्राय नेपालीहरु काम गर्न जाँदैनन्।”

तर प्रतिवन्धको वेवास्ता गर्दै कुर्दिस्तान र अन्य क्षेत्रहरुमा नेपालीहरु आउने क्रम जारी रहेको उनले बताए।