आरोहणको मूल्य चुकाउंदै शेर्पाहरु

  • 19 जुन 2014
sherpa_everest

गत वैशाख ३ गते सगरमाथामा १६ जना शेर्पा आरोहीको ज्यान लिने गरी गएको हिमपहिरोको पीडाबाट शेर्पाहरुको बस्ती खुम्बु क्षेत्रका मानिसहरु अझै पनि बाहिर आउन सकेका छैनन्।

यो सगरमाथाको इतिहासमा सबैभन्दा खराब दुर्घटना थियो जुनपछि शेर्पाहरुले आफ्नो काम छाडेर राम्रो सुविधा र रकम पाउनुपर्ने माग गरे।

विकल्प

तर त्यो दुर्घटनाका बाबजुद पनि खुम्बु क्षेत्रका गाउंका शेर्पाहरु आफूहरु सामू यो शरद ऋतुमा हिमालमा फर्कनु बाहेकको विकल्प नरहेको बताउंछन्।

Image caption पेमा शेर्पाले हिमपहिरोमा आफ्ना भाइ गुमाएका थिए

“मैले मेरो भाइ हिमपहिरोमा परी ज्यान गुमाएको मेरो आंखै अगाडि देखे। म अझै पनि विचलित छु,” पेमा छेपाल शेर्पाले भने।

अन्य दुई जना शेर्पासहित उनका भाइ तेन्जिंगको शव अहिलेसम्म भेटिएको छैन।

सगरमाथा आधारशिविर नजिकको खतरनाक खुम्बु आइसफलमा दुर्घटना हुंदा पेमा उनका भाइभन्दा अगाडि क्याम्प टु मा थिए।

“तर मलाई थाहा छ अर्को सिजनमा हिमाल आरोहणमा फर्कुनबाहेकको विकल्प मसंग छैन । किनकी सगरमाथा भनेको पैसा हो,” उनको भाइको आत्माशान्तिका लागि भन्दै पूजा भइरहंदा आंसु रोक्ने प्रयास गर्दै उनले भने।

पेमाको दुविधा थुप्रै शेर्पा आरोहीहरुको प्रतिनिधि धारणा हो।

शोषण

तर उनीहरुको ठूलो चासो के हो भने वैशाखको दुर्घटनापछि आरोहण बहिस्कार गरेता पनि एकदमै कम वा कुनै पनि परिवर्तन भएको छैन।

उनीहरुको भनाइमा उनीहरु आकर्षक पर्वतारोहण व्यवसायको अग्रपंक्तिमा छन् तर त्यो व्यवसायले उनीहरुमाथि शोषण गरिरहेको छ।

हिमपहिरोमा ज्यान गुमाएका प्रत्येकका परिवारलाई किरिया खर्चवापत ४० हजार रुपैयां दिने सुरुको निर्णय आलोचित भएपछि सरकारले रकम १० गुणाले बढाएको थियो।

यसैगरी आरोहण सञ्चालकहरुले उनीहरुको जीवन बीमा रकम १० लाखदेखि १५ लाख रुपैयां पुर्याउनुपर्ने घोषणा पनि सरकारले गरेको थियो।

सरकारले सन् २०१२ मा मात्रै ३५ करोड रुपैयां पर्वतारोहण शुल्क रोयल्टी वापत कमायो।

त्यसको ८० प्रतिशत सगरमाथाबाट मात्रै आएको हो।

सुरुमा सरकारले शेर्पाहरुको समस्याबारे गम्भीर रुपमा ध्यान नदिएको आरोप लागेपनि आरोहणका निजी सञ्चालकहरु पनि दोषको भागीदार रहेको शेर्पा समुदायका सदस्यहरुले बताएका छन्।

Image caption शेर्पा आरोहीहरुले कम्पनीहरुबाट एकदमै कम रकम पाउने गरेको बताएका छन्
Image caption सगरमाथामा आउनेहरुबाट प्राप्त रकममा नाम्चे बजार मूलत: चलिरहेको छ
Image caption चौरी पालनभन्दा पर्वतारोहणले आम्दानीको राम्रो विकल्प दिएको छ
Image caption मिंग्मा शेर्पा आफूलाई आरोहण एजेन्सीले ग्राहकहरुबाट कति रकम लिन्छ भन्ने थाहा छैन भन्छन्

“धैरै जसो शेर्पाहरु युवा छन् र उनीहरु अनपढ छन् जसका कारण उनीहरुको आरोहण एजेन्सीहरुले शोषण गरिरहेका छन्,” नाम्चेमा भेटिएका दावा सोन्जु शेर्पाले भने।

“यी एजेन्सीहरुले उनीहरुलाई ७० प्रतिशत काम गराउंछन् तर ग्राहकबाट आउने १० प्रतिशत पनि उनीहरुलाई दिइंदैन।“

रकम

वैशाख ३ को दुर्घटनामा जोगिन सफल भएका शर्पा आरोही मिंग्माले आरोहण एजेन्सीहरुले ग्राहकहरुबाट कति लिन्छन् भन्ने कुरा थाहा नभएको बताए।

Image caption १६ शेर्पा आरोहीहरुको समूह आरोहणको तयारी गरिरहेका बेला हिमपहिरोमा परेको थियो

“हामीसंग कहिल्यै पनि त्यसबारे सूचना हुंदैन। तर हामीलाई दिइने रकम एकदमै कम छ र त्यसले हामीलाई केही महिना पनि पुग्दैन।“

उपलब्ध तथ्यांकहरुले संकेत गरेअनुसार एकजना शेर्पा आरोहीले एउटा सिजनमा ५ हजार डलर अर्थात करिब पांच लाख रुपैयां पाउंछन्।

Image caption मिंग्मा ल्यामुले पछिल्लो तीन वर्षमा सगरमाथामा आफ्ना दुई छोरा गुमाएकी छन्

वर्षमा वसन्त र शरद ऋतु गरी दुई पटक आरोहण हुन्छ।

त्यो रकम नेपालीहरुको प्रतिव्यक्ति आय ६५० डलर अर्थात् करिब ६५ हजारभन्दा निकै धेरै हो।

तर केही एजेन्सीले एक जना ग्राहकबाट मात्रै पनि ८० हजार डलर अर्थात् करिब ८० लाख रुपैयां कमाउंछन् र त्यस्ता ग्राहक हरेक वर्ष दर्जनौंको संख्यामा हुन्छन्।

अन्तर्राष्ट्रिय पर्वतारोहण कम्पनीहरुले भने शेर्पाहरुलाई राम्रो रकम दिने गरेको बताउंछन्।

तर नेपाली कम्पनीहरुले त्यसो नगरेको कारण शेर्पाहरुलाई दिइने रकममा असर परेको बताइन्छ।

जुनकुरा नेपाल पर्वतारोहण संघका अध्यक्ष आंग छिरिंग शेर्पाले पनि स्वीकारे।

“आरोहण सञ्चालन गर्ने कम्पनीहरुलाई भन्नुस् अन्तर्राष्ट्रिय कम्पनीहरुले दिदै आएको सुविधा दिनका लागि“, आफ्नो कम्पनीले त्यसो गरिसकेको बताउंदै शेर्पाले बीबीसीलाई भने।

आरोहण सञ्चालकहरुका प्रमुख डम्बर पराजुलीले एकदमै प्रतिस्पर्धा रहेको स्वीकार्दै न्यूनतम मापदण्ड पालना गरिनुपर्ने बताए।

“तर विदेशी आरोहण कम्पनीहरुको पनि सबै कुरा ठीक छ भन्ने होइन। हामीलाई थाहा छैन उनीहरुले ग्राहकहरुबाट कति असुल्छन् अनि कति रकम नेपाललाई जान्छ भन्ने।“

हिमपहिरोको दुई महिना बितिसक्दा पनि सरकार र आरोहण एजेन्सीहरु अझै पनि शेर्पाहरुको बीमा रकम बढाउने विषयमा फरक धारमा छन् र एकअर्कामाथि दोष थोपरिरहेका छन्।

निराशा

सरकारले पुराना पर्वतारोहण नियमहरु पुनर्विचार गर्नुपर्ने स्वीकार गरेको छ।

“तर शेर्पा आरोहीहरुलाई विदेशी कम्पनीहरुले पनि काममा लगाउने भएकाले उनीहरुको ख्याल गर्ने जिम्मा ती कम्पनीको पनि हो”, अर्थमन्त्री रामशरण महतले भने।

तर हिमपहिरोमा गम्भीर घाइते भएका दावा शेर्पा जस्ता शेर्पा आरोहीहरु भने कुनै पनि परिवर्तन हुनेमा आशावादी छैनन्।

“हामीले बाटो बनाउंछौ, डोरी टांग्छौं अनि आरोहीहरुलाई चुचुरोसम्म मार्गनिर्देश गर्छौ र उद्धारको काम पनि गर्छौ,” आफ्नो भांचिएको करंग देखाउंदै उनले भने।

अन्तर्राष्ट्रिय आरोहण महासंघका अध्यक्ष फ्रिट्स् भ्रिजलान्द्तको विचारमा विदेशी आरोहीहरु जो अधिकांश अनुभवी हुंदैनन् उनीहरुले शेर्पाहरुबाट व्यापक काम गराउन खोज्नु मुख्य समस्या हो।

“अहिले जो पनि सगरमाथाको चुचुरोमा पुग्न चाहन्छन् र त्यहांसम्म पुग्नका लागि शेर्पाहरुले सबै काम गरिदिउन् भन्ने चाहन्छन्।“

औसतमा ३० वटा टोली प्रत्येक वर्ष सगरमाथा चढ्छन्। गत वर्ष ५ सय ६२ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए।