विश्वकपबाट स्पेन, अष्ट्रेलिया र क्यामरुन बाहिर

  • 19 जुन 2014
चिलीका भारगास गोल गरेपछि तस्वीर कपीराइट Getty
Image caption चिलीले यसपटक राम्रो खेल्ने आशा धेरैको थियो तर स्पेनलाई बाहिर पठाउने अनुमान थोरैले गरेका थिए

ब्राजीलमा जारी विश्वकप फुटबल प्रतियोगीतामा प्रभावशाली खेल खेलेको चिलीसंग पराजीत भएपछि अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको अग्रताको चरण समाप्त भएको छ।

समूह चरणको खेलमा दोस्रो पटकको हारसंगै गत विश्वकपको विजेता स्पेन हालको प्रतियोगीताबाट बाहिरिएको छ।

आफ्नो पहिलो खेलमा स्पेन नेदरल्याण्ड्ससंग पांचका विरुद्ध एक गोलले पराजीत भएको थियो।

चिलीसंगको खेलको मध्यान्तर अघि नै एडुआर्डो भारगास र चार्लेस् आराङ्गीसले गरेका गोलले स्पेनलाई अप्ठ्यारोमा पारिसकेको थियो र जवाफी गोल फर्काउन मुश्किल परेको देखिन्थ्यो।

अब विश्वकपको इतिहासमा समूह चरणबाटै बाहिरिने स्पेन पांचौं डिफेन्डींग च्यापीयन बन्न पुगेको छ।

पुरस्कार

स्पेनमाथि प्रतिस्पर्धात्मक विजय हासिल गरेको चिलीले पहिलो पल्ट हो र उत्कृष्ट आक्रामक खेल खेले बापतको पुरस्कार पनि।

अब स्पेनको प्रशिक्षक भिसन्टे डेल बोस्के र गोलरक्षक इकेर कासियास, मध्यपंक्तिका खेलाडी साबी आलोन्सो तथा चाबी एरनान्डेस जस्ता कतिपय खेलाडीहरुको आगामी अन्तर्राष्ट्रिय भविष्यका बारे निश्चय नै प्रश्नहरु उठाइने छन्।

अब जुन २३ तारिखमा स्पेनले अष्ट्रेलियासंग उपलब्धि हासिल नहुने खेल खेल्नु पर्नेछ भने अब समूह बी को अग्रस्थानमा को रहने भन्ने निर्णय गर्न चिली र नेदरल्याण्ड्स बीच भिडन्त हुनेछ। ‌

यसपालीको विश्वकपमा चिलीले राम्रो खेल्ने अनुमान धेरैले गरेका थिए तर स्पेन जस्तो टोलीलाई विश्वकपबाटै बाहिर पठाउने गरी चिलीको भूमिका रहने अपेक्षा भने थोरैलाई मात्र थियो।

तस्वीर कपीराइट Getty
Image caption लगातार दुई खेल हारेपछि स्पेन यो पल्टको विश्वकपबाट बाहिरिएको छ

समर्थक

रंगशालामा चिलीका समर्थकहरु ठूलो संख्यामा उपस्थित थिए र खेल आरम्भ हुनु अघि तिनीहरुले उत्साहप्रद वातावरण बनाउंदै थिए।

तर तिनीहरु मध्ये केहि रंगशालास्थित मिडिया सेन्टरमा जबर्जस्ती प्रवेश गरेपछि स्थिती केहि अन्योलपूर्ण भने बन्न पुगेको थियो। ‌

समूह बी को अर्को खेलमा अष्ट्रेलियालाई ३-२ ले जीतेर नेदरल्याण्डस् पनि अर्को चरणमा प्रवेश गरेको छ भने यो पराजयसंगै अर्को चरणमा पुग्नबाट अष्ट्रेलिया पनि बञ्चित हुनु परेको छ।

समूह ए को खेलमा क्रोएशियाबाट ४-० ले पराजीत भएपछि क्यामरुन पनि प्रतियोगीताबाट बाहिरिएको छ।