‘पर्यटन बोर्डमा काम शुरु गर्न चेतावनी’

  • 19 जुन 2014
नेपाल पर्यटन बोर्ड
Image caption पर्यटन बोर्डको समस्या विगत ५२ दिनदेखि विना समाधान जारी रहंदै आएको छ

पर्यटन व्यवसायीहरुको विरोधका कारण बोर्डको दैनिक कामकाज बाहेक राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा गरिने पर्यटन प्रवर्द्धनसम्बन्धी कामहरु समेत अवरुद्ध हुँदै आएको पृष्ठभूमिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मन्त्रालय र बोर्ड पदाधिकारीहरुलाई चेतावनीयुक्त निर्देशन आएको हो।

गत ५२ दिनदेखि बोर्डमा जारी समस्याप्रति सम्बन्धित निकाय र अधिकारीहरु मूकदर्शक भएको भन्दै समस्याको संबोधन गर्नका लागि तीन दिने म्याद दिएको बताउँछन्, आयोगका प्रवक्ता श्रीधर सापकोटा।

उनी भन्छन्, “तीन दिनभित्र समस्याको समाधान नभए कारवाही गर्ने भनेर हामीले विज्ञप्ति जारी गरेका छौं। उहाँहरुमाथि विभागीय कारवाही हुन सक्छ।”

माग

बोर्डको पुनःसंरचना र त्यसका सदस्यमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने माग व्यवसायीहरुको छ।

त्यस्तै, कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलालाई जिम्मेवारीमुक्त गर्नुपर्ने तथा पर्यटन मजदुर सामाजिक कोषको स्थापना र बोर्डको पुनःसंरचनाको माग उनीहरुले गर्दै आएका छन्।

ती मागहरु संबोधन गर्नका लागि आवश्यक सुझाव दिने जिम्मेवारीसहित मन्त्रालयले कार्यदल पनि गठन गरिसकेको जनाएको छ।

तर त्यसका बावजुद समस्या संबोधन नभएकोले मन्त्रालयमाथि पनि कारवाही गर्ने आयोगको चेतावनीबारे जिज्ञासा राख्दा मन्त्रालयका सचिव सुशील घिमिरेले भने, “अख्तियारले निर्देशन दिनुभन्दा अगाडि उहाँहरुले माग गरेका सम्पूर्ण कुरा पूरा भईसकेका छन्।

"त्यो हुँदा-हुँदै उहाँहरुले माग थप्दै जाने भएकोले यो लम्बिएको हो। बिहिबारदेखि संभवतः उहाँहरु बस्ने कुनै पनि कारण छैन्।”

व्यवसायीहरुका कतिपय माग संबोधन गर्नका लागि विद्यामान ऐन नै संशोधन गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुले बताउँदै आएका छन्।