विद्रोही विरुद्ध हवाइ कारवाहीका लागि आग्रह

  • 19 जुन 2014
तस्वीर कपीराइट AP
Image caption ओबामाले इराकलाई उपलब्ध गराउने सैन्य सहयोगबारे अमेरिकी कंग्रेस र सिनेट सदस्यहरुसँग परामर्श गरेका छन्

इराकले गत एकहप्तामा कैयौं मुख्य शहरहरु नियन्त्रणमा लिएका जिहादी विद्रोहीहरु विरुद्ध हवाइ कारवाही शुरु गर्न अमेरिकासँग औपचारिक आग्रह गरेको छ।

अमेरिकी सैन्य कमाण्डर जनरल मार्टिन डेम्पसीले अमेरिकी सिनेटसमक्ष भनेका छन् अमेरिकासँग अब इराकी सरकारले हवाइ कारवाही गरिदिन गरेको अनुरोध छ।

सुन्नी विद्रोहीहरुले इराकको राजधानी बगदादको उत्तरतिर रहेको बाइजीस्थित इराकको सबभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका थिए।

त्यसअघि इराकी प्रधानमन्त्री नुरी अल मलिकीले विद्रोहीहरुविरुद्ध एक हुन इराकीहरुसँग अपील गरेका थिए।

सरकारी फौजहरु आइएसआइएस र उसका सुन्नी मुश्लिम समर्थकहरुलाई दियाला र सलाहुद्दिन प्रान्तमा पछाडि धकेल्न संघर्ष गरिरहेका छन्।

गत हप्तादेखि दोश्रो सहर मोसुल विद्रोहीहरुको नियन्त्रणमा छ।

अमेरिकाका लागि इराकी राजदुत ल्युकम्यान फेइलीले भनेका छन्, इराकी सैन्य संरचनाभित्र पनि परिवर्तन गरिएको छ। थप समीक्षा गरिनेछ।

उनी भन्छन्, "अहिले त तत्कालको खतरासँग सामना गर्नुछ। थप मानिसहरु मारिनेछन्। स्थलगत आवश्यकताका कारण र हामीले सामना गर्नु परिरहेका शत्रुको प्रकारका कारण पनि हामीलाई अमेरिका र अरु देशको पनि सहयोग आवश्यक परेको छ।"

अमेरिकी राष्ट्रपति बराक ओबमाले कंग्रेसका बरिष्ठ सदस्यहरुसँग बुधबार इराक समस्याबारे छलफल गरेका छन्।

तस्वीर कपीराइट AP
Image caption इराकमा विद्रोहीहरुले तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरेका छन्

ह्वाइट हाउसले भनेको छ, ओबामाले इराकको सुरक्षा फौजको क्षमता बलियो बनाउन भएका अमेरिकी प्रयासहरुको समीक्षा गरेका छन्।

उनले आइएसआइएसको खतरासँग जुध्न सुरक्षा सहयोग बढाउने विकल्पबारे पनि सोचिरहेका छन्।

ब्रीफिङ अघि डेमोक्रेटिक पार्टिका सिनेट नेता ह्यारी रेइडले उनी अमेरिकी फौजलाई इराकी गृहयुद्धमा सहभागी गराउने कुनै पनि सहयोगको समर्थन गर्न सक्दैनन् भनेका छन् ।

तर जेन डेम्पसीले सीनेटको एउटा प्यानललाई आइएसआइएससँग जहाँ मिल्यो त्यहिँ टक्कर लिनु अमेरिकाको राष्ट्रिय हीतमा हुनेछ भनेका छन्।

तस्वीर कपीराइट BBC World Service
Image caption आइएसआइएस विद्रोहीहरुले इराकका कैयौं शहरहरु नियन्त्रणमा लिएका छन्

बुधबार इराकी सेनाले भनेको थियो बाइजी तेल प्रशोधन केन्द्रमा आक्रमण गरिरहेका आइएसआइएस लडाकुहरुलाई भगाइदिएका थिए।

आक्रमण तीन मुख्य प्रवेशद्वारमध्ये दुइवटा प्रवेशद्वारबाट शुरु गरिएको थियो।

सेनाका प्रवक्ताले टेलिभिजनमा प्रत्यक्ष प्रसारित पत्रकार सम्मेलनमा आइएसआइएसको आक्रमण प्रयास विफल पारिएको र चालीसजना आतंककारीहरु मारिएको बताएका छन्।

तर रोयटर्स समाचारसंस्थालाई नाम खुलाउन नचाहने एक अधिकारीले भनेका छन्, तेल प्रशोधन केन्द्रको ७५ प्रतिशत लडाकुहरुको नियन्त्रणमा छ।