भावी अध्यक्षका दावेदारबीच आरोपप्रत्यारोप

  • 20 जुन 2014
तस्वीर कपीराइट .
Image caption असार १९ गतेबाट सुरु हुने महाधिवेशन २४ गतेसम्मका लागि चल्नेछ।

नेकपा एमालेको आसन्न नवौं महाधिवेशन नजिक आइरहँदा अध्यक्षका दुई प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्वलाई लिएर एक अर्काको तीव्र आलोचना गरेका छन्।

संसदीय दलको नेता चयन गर्दैदेखि एकअर्का प्रति लक्षित गरेर थुप्रै टिकाटिप्पणी गर्दै आएका नेताद्वय नेपाल र ओलीको एकअर्काप्रतिको आरोप प्रत्यारोप महाधिवेशन नजिकिँदै जाँदा झन् चर्को रुपमा प्रस्तुत हुन थालेको छ।

महाधिवेशन प्रतिनिधि चुनिने अघिल्लो दिन दुबै नेताहरुले छुट्टाछुट्टै पत्रकार सम्मेलनमा नयाँ पुस्तालाई नेतृत्व दिए मात्रै सर्वसम्मति जुट्न सक्ने धारणा व्यक्त गरे।

आगामी असार १९ गते देखि हुने पार्टीको नवौं महाधिवेशनमा भावी अध्यक्षको दावेदारी प्रस्तुत गरेका दुबै नेताले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी अध्यक्षको लागि आफू योग्य रहेको सावित गर्ने कोसिस गरेका थिए।

आरोप

पार्टी अध्यक्ष झलनाथ खनालले केही दिन अघि सर्वसम्मति भए आफू पनि दोस्रो कार्यकालका लागि नेतृत्वलाई निरन्तरता दिन तयार रहेको अभिव्यक्ति दिएका थिए।

वरिष्ठ नेता माधवकुमार नेपालले भने सर्वसम्मतिको सम्भावना ओलीबाहेक २०३६ सालपछि पार्टीमा प्रवेश गरेका नयाँ पुस्ता आउँदा मात्रै हुनसक्ने बताए।

उनले भने, “दोस्रो पुस्तालाई नेतृत्व दिने भएमा मात्रै म अध्यक्षको दाबेदारी छोड्छु। त्यसबाहेक मैले सर्वसम्मति हुने अवस्था देखेको छैन।”

महाधिवेशन प्रतिनिधि चयन हुने अघिल्लो दिन नेपालले ओली पक्षले आफ्ना कार्यकर्ताहरुलाई राजनीतिक नियुक्तिको लोभ देखाइरहेको आरोप लगाए।

जुहारी

ओलीले पनि नेपाल पक्षलाई लक्षित गर्दै एउटै समूहका मानिसको हातमा मात्रै नेतृत्व रहेकोले त्यो प्रवृत्ति तोड्ने माध्यम आफू बन्न खोजेको बताएका छन्।

उनले नेपाल पक्षसँग पार्टी नेतृत्वलाई लिएर जुहारी खेल्न नचाहेको बताए।

उनले भने, “हामी जुहारी खेल्न चाहँदैनौं। झुट छलछाम गरेर देश बन्छ भन्ने हामीलाई लागेको पनि छैन र हामी त्यो गर्दा पनि गर्दैनौं।”

भावL अध्यक्षका दुबै दावेदारले नेतृत्व आफूले पाउनुपर्ने कडा अभिव्यक्ति दिइरहँदा अध्यक्ष झलनाथ खनालले भने जस्तो नेतृत्व चयनमा सर्वसम्मति हुने सम्भावना भने क्षीण हुँदै गएको देखिन्छ।