इराकमा सैन्य सल्लाहकार पठाउने: अमेरिका

  • 20 जुन 2014
तस्वीर कपीराइट Getty
Image caption लडाकुको नभै सल्लाहकारको भूमिकामा तीन सय अमेरिकी सेना इराकका लागि पठाउने निर्णय गरिएको छ

अमेरिकी राष्ट्रपति बराक ओबामाले इश्लामवादी लडाकुहरु विरुद्ध लड्न सहयोग पुर्याउन भन्दै तीन सय सैन्य सल्लाहकारहरु इराक पठाउने बताएका छन्।

ओबामाले स्थलगत आवश्यकता अनुसार लक्षित र सहि किसिमको सैन्य कारवाहीका लागि अमेरिका तयार रहेको तर अमेरिकी फौज इराकमा लडाइमा नजाने बताएका छन्।

ओबामाले इराकको समस्याको सैनिक समाधान नरहेको दोहोर्याए र शिया नेतृत्तवको सरकारलाई समावेशी हुन पुन: आग्रह गरेक छन्। उनले सक्षम इराकी सेनाको आवश्यकतामा जोड दिएका छन्।

उनी भन्छन्, "अमेरिकाले इराकभित्रको एउटा समुदायलाई फाइदा र अर्कोलाई वेफाइदा हुने गरी सैन्य कारवाही अमेरिकाले अगाडि बढाउँदैन। इराकको समस्याको सैनिक समाधान हुन सक्दैन अमेरिकी सेना संलग्न सैनिक समाधान त हुँदै हुँदैन।"

आग्रह

इराकले अमेरिकालाई सुन्नी विद्रोही विरुद्ध हवाइ कारवाहीका लागि आग्रह गरेको थियो।

गत दश दिनमा आइएसआइएस सम्बद्ध बन्दुकधारीहरुले मुख्य भुभागहरुमा नियन्त्रण जमाएका छन्।

ओबामाले भनेका छन्, इराकका नेता चयन गर्ने काम अमेरिकाको होइन।

आलोचना

संवाददाताहरु भन्छन्, ओबामाको यो भनाइलाई शिया प्रधानमन्त्री नुरी मलिकीको अप्रत्यक्ष आलोचनाका रुपमा पनि हेर्न सकिन्छ किनभने मलिकिले सुन्नी विरोधी नीति बनाएकाले अस्थीरता बढाउन सघाउ पुर्याएको भन्ने आलोचना हुँदै आएको छ।

तस्वीर कपीराइट Getty
Image caption इश्लामवादी विद्रोही संगठन आइएसआइएसले इराकको ठूलो भूभाग नियन्त्रणमा लिएका छन्

ओबामाका अनुसार सल्लाहकारका साथसाथमा थप गुप्तचरी उपायहरु तयार गरिनेछ र गोप्य सूचना तथा सहकार्य युक्त योजनाका लागि बगदाद र उत्तर इराकमा संयुक्त कारवाही केन्द्रहरु स्थापना गरिनेछ।

दक्षिण इराकका हजारौं शियाहरु इराकको सेनालाई सहयोग पुर्याउन स्वंयसेवक बनेका छन्।

शिया लडाकुहरु अहिले युद्धमैदान बनिरहेको दियाला प्रान्तको राजधानी संरक्षणका लागि र समारा शहर नजिकै रहेको एउटा मुख्य शिया धार्मिक स्थल संरक्षणका लागि पठाइएको छ।