पूर्वी युक्रेनमा एकतर्फी संघर्ष विरामको घोषणा

  • 21 जुन 2014
युक्रेनी राष्ट्रपति तस्वीर कपीराइट AFP GETTY
Image caption अचानक विद्रोही नियन्त्रित क्षेत्र नजिकैको नगर गई राष्ट्रपतिले सेना र स्थानीयसँग कुराकानी गरेका थिए

युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकोले रुस समर्थक पृथकतावादीहरु लडिरहेको देशको पूर्वी इलाकामा एक हप्ताकानिम्ति एकतर्फी संघर्ष विरामको घोषणा गरेका छन्।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एकसाताभित्र दोश्रो पटक फोनवार्ता गरेलगतै युक्रेनले उक्त कदम उठाएको छ।

तर रुसले ‘शान्ति र वार्ताको निम्ति आमन्त्रण नभई त्यो एउटा चेतावनी हो’ भनेको छ।

विद्रोहीहरुका एकजना वरिष्ठ कमाण्डरले युक्रेनी सेनाले पूर्वी युक्रेन नछाड्दासम्म हतियार नत्याग्ने बताएका छन्।

मौन नबस्ने

राष्ट्रपति बनेपछि पोरोशेंको शुक्रवार अनपेक्षित रुपमा पहिलो पटक पूर्वी युक्रेनको स्लोभियान्स्कस्थित लडाकुहरुको नियन्त्रणमा रहेको क्षेत्रभन्दा पन्ध्र किलोमिटर टाढाको नगरको भ्रमण गरेका छन्।

स्थानीय जनता र त्यहाँ तैनाथ युक्रैनी फौजका जवानहरुसँगको कुराकानीका क्रममा उनले भने, “संघर्ष विराम लडाकुहरुलाई निशस्त्र हुने मौका हो। तर यसको अर्थ हामी हाम्रा सैनिक विरुद्धका कुनै पनि किसिमका कारवाहीमा मौन बस्छौं भन्ने होइन।”

शान्ति योजनाको कार्यान्वयन अघि उक्त कदम चालिने अपेक्षा गरिएको थियो।

पोरोशेन्कोले राखेको शान्ति योजनाको प्रस्तावमा शासकीय विकेन्द्रिकरण एंव स्थानीय तथा संसदीय चुनाव छिट्टै गराउने प्रतिवद्धता गरिएको छ।

तस्वीर कपीराइट Reuters

त्यसमा युक्रेन र रुसको सीमामा दश किलोमिटर लामो मध्यवर्ती क्षेत्र र संघर्ष भइरहेको इलाकाबाट जान रुस समर्थक पृथकतावादीहरुलाई सुरक्षित बाटो दिने प्रस्ताव गरिएको छ।

हेर्न बाँकी

युक्रेनको राजधानी कियभस्थिति बीबीसी सम्वाददाता डेभिड स्टर्न भन्छन्, “राष्ट्रपति पोरोशेंकोको शान्ति योजनामा भनिएका कुरामा अधिकांश नयाँ छैनन्, उनले त्यो योजना कसरी लागू गर्छन् भन्ने कुरा भने अझैं प्रष्ट हुन बाँकी छ, तर रुस समर्थक लडाकूले हतियार त्याग्ने र संघर्ष विरामको पालना गर्लान जस्तो देखिन्न।”

शान्ति योजना विफल भयो भने पोरोशेंकोले कुन बाटो अख्तियार गर्छन् भन्ने कुरा हेर्न बाँकी छ।

युक्रेनका रुस समर्थित राष्ट्रपति भिक्टर यानुकोवीचलाई अपदस्त गरिनुकासाथै क्राइमियालाई रुसमा विलय गराइएपछि पूर्वी युक्रेनमा लडाई चर्किएको छ।

पोरोशेंकोले यूरोपेली संघसँगको एउटा विवादित सम्झौतामा २७ जुनमा हस्ताक्षर गर्ने बताएका छन्।

यानुकोवीचले उक्त सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेपछि लगातारका प्रदर्शनहरुका माझ उनी यसै वर्षको फेव्रुअरीमा सत्ताबाट हटाइएका थिए।