उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न

  • 22 जुन 2014
Image caption खेतीपाती गर्ने मौसम पनि भएको हुनाले तुलनात्मक रुपमा कम मत खसेको अधिकारीहरुको भनाइ छ

पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीअन्तर्गत संविधानसभाका बाँकी चार सदस्यहरुको चयनका लागि आइतबार चितवनको क्षेत्र नं. ४, कैलालीको ६, काठमाण्डूको २ र बर्दियाको क्षेत्र नं. १ मा मतदान सम्पन्न भएको छ।

आइतबार राती नै मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

मंसिर ४ गते सम्पन्न चुनावमा दुई, दुई क्षेत्रबाट जितेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चितवनको क्षेत्र नं. ४, सोही पार्टीका शेरबहादुर देउवाले कैलाली ६ तथा एमालेका माधवकुमार नेपालले काठमाण्डू २ र वामदेव गौतमले बर्दियाको क्षेत्र नं. १ बाट राजीनामा दिएपछि उपनिर्वाचन भएको हो।

चारवटै क्षेत्रमा विद्युतीय उपकरणबाट मतदान गराइएको आयोगले जनाएको छ।

मतदान

दुई लाख ५१ हजार मतदाता रहेका चार क्षेत्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले बताए।

उनका अनुसार ७८ प्रतिशत मत खसेको मंसिर ४ गतेको जस्तो माहोल नभएको र वर्षायाम पनि भएकाले तुलनात्मक रुपमा उपनिर्वाचनमा कम मत खसेको छ।

उनले भने, ''कुनै कुनै क्षेत्रमा ७० प्रतिशत नाघेको छ। जस्तै बर्दिया र चितवनमा ७० प्रतिशत नाघेको खबर छ। कैलाली र काठमाण्डूमा अलि कम भएको हुनाले औषतमा ६५ प्रतिशत मत खसेको हाम्रो पूर्वानुमान छ।''

उपनिर्वाचन अन्तर्गत चार क्षेत्रमा ३ सय ३४ वटा मतदान केन्द्रहरु तोकिएका थिए भने साढे ३ हजार कर्मचारी खटाइएको आयोगले जनाएको छ।

नतिजा

त्यस्तै ६ हजार सुरक्षाकर्मी खटाइएका थिए।

चार स्थानका लागि राजनीतिक दलका ६० जना गरी जम्मा ७६ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।

विद्युतीय मतदान भएकोले आइतबार राती नै नतिजा सार्वजनिक गरिने तयारीमा आयोग छ।

उप्रेतीले भने, ''मतगणना शुरु भएको केही घण्टामा सम्बन्धित क्षेत्रको परिणाम प्रकाशन हुन सक्छ। म आशावादी छु कि चारै क्षेत्रमा कुनै असजिलो नपरेको खण्डमा आजै नतिजा आउनेछ।''

उपनिर्वाचनको नतिजा प्रकाशन र विजयी उम्मेदवारहरुलाई आयोगले प्रमाणपत्र प्रदान गरेपछि संविधानसभाको पहिलो हुनेले जित्ने निर्वाचन प्रणालीअन्तर्गतका सबै सभासदको संख्या पूर्ण हुनेछ।