उप-चुनावमा विद्युतीय मतदान जारी

  • 22 जुन 2014
संविधानसभा भवन तस्वीर कपीराइट Surendra Phuyal
Image caption दलहरुले २६ जना सभासदको मनोनयन गर्न बाँकी नै रहेकाले अझैं पनि संविधानसभा पूर्ण हुने छाँट देखिन्न

गत संविधानसभा चुनावमा दुई-दुईवटा ठाउँमा जितेका सभासद्हरुले छाडेपछि खालि भएका चारवटा निर्वाचन क्षेत्रको उपचुनावमा विद्युतीय मतदान भइरहेको छ।

नेपाली कांग्रेसका सुशील कोइरालाले चितवनको क्षेत्र नं ४ र शेरबहादुर देउवाले कैलालीको क्षेत्र नं ६ तथा एमालेका माधवकुमार नेपालले काठमाण्डूको क्षेत्र नं २ तथा बामदेव गौतमले बर्दियाको क्षेत्र नं १ बाट राजीनामा दिएका थिए।

परिणाम

मत परिणाम आइतवार रातिसम्ममा घोषणा गर्ने निर्वाचन आयोगको तयारी छ।

आयोगका अनुसार सबै कुरा पूर्वयोजना अनुसार भएमा परिणाम मतदान सकिएको केही घण्टाभित्रै सार्वजनिक गर्न सकिने छ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, “एकैचोटि ४-५ वटा उपकरणको गणना गरियो भने तीन घण्टा पनि लाग्दैन, तर दलहरुले एउटा सकेपछि मात्रै अर्को गरौं भनेको अवस्थामा सोमबार बिहानसम्म परिणाम आउँछ।”

अघिल्लो चुनाव भएको झण्डै ७ महिनापछि भइरहेको उपनिर्वाचनमा ७७ जना चुनावी प्रतिष्पर्धामा छन्।

ती मध्ये दलहरुका ६० जना र अन्य स्वतन्त्र उम्मेदवारहरु रहेको निर्वाचन आयोगले जनाएको छ।

अझैं अपुरो

चारवटै निर्वाचन क्षेत्रमा जम्मा साढे दुई लाखभन्दा बढी मतदाता छन्।

बेला बेला परिरहेको पानीले मतदाताहरुलाई प्रभावित गर्ने गरेको छ।

उपनिर्वाचनको परिणामसंगै संविधानसभामा प्रत्यक्ष चुनिने सदस्य संख्याले पूर्णता पाउने छ।

तर मनोनयनको महत्वपूर्ण हिस्साबारे अझैं अन्योल रहेकाले संविधानसभाले पूर्ण आकार ग्रहण गर्न भने अझै केही समय लाग्ने देखिन्छ।