रुहानीद्वारा खाडी मुलुकहरुको आलोचना

तस्बिर स्रोत, AP
इरानका सर्वोच्च नेता खमेनीले इराकमा संभाव्य अमेरिकी हस्तक्षेपको कडा विरोध गरेका छन्
इरानका राष्ट्रपति हसन रुहानीले मध्यपूर्वका तेल सम्पदामा धनी मुलुकहरुले इराकमा सुन्नी विद्रोहीहरुलाई आर्थिक सहायता दिइरहेको भन्दै त्यसको आलोचना गरेका छन्।
उनले त्यस्तो नीतिले भविष्यमा तिनै मुलुकहरुलाई नोक्सान पुग्ने चेतावनी पनि दिए।
राष्ट्रपति रुहानीले कुनै मुलुकको नाम त लिएनन्, तर उनले कतार र सउदी अरबको अप्रत्यक्ष आलोचना गरे।
उनले भने, "आफ्नो पैसा र पेट्रोडलरले उनीहरुले आतंककारीहरुलाई सहयोग गरिरहेका छन्। हामी उनीहरुलाई भन्न चाहन्छौं- सावधान, भोलि तिमीहरुको पालो आउनेछ।"
सुरक्षा
यसअघि राष्ट्रपति रुहानीले इराकका पवित्र शिया धर्मस्थलहरुको सुरक्षा गर्न इरान तयार रहेको पनि बताएका थिए।
उनले इराक सरकारले अनुरोध गरेमा जस्तो सुकै सहयोग गर्न इरान तयार रहेको पनि बताएका थिए।
सिरियामा राष्ट्पति बसर अल असद नेतृत्वको सरकार विरुद्ध लडिरहेका पश्चिमा मुलुकहरुको समर्थन प्राप्त विद्रोहीहरुलाई खाडी मुलुकहरुले ठूलो आर्थिक सहयोग दिइरहेको जानकारहरु बताउँछन्।
तिनै लडाकुहरुमध्ये एक, अलकायदासंग छुट्टिएर बनेको इस्लामवादी आइएसआइएस लडाकुहरुले अहिले छिमेकी इराकका थुप्रै भूभागमा कब्जा जमाएका छन्।
इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले संयुक्त राज्य अमेरिका वा अरु कुनै मुलुकले इराकमा हस्तक्षेप गर्ने कामको कडा विरोध गरेका छन्।
इरानको सरकारी सन्चार संस्थाले खमेनीले इराक सरकार र त्यहाँका धार्मिक नेताहरु विद्रोह अन्त्य गर्न सक्षम रहेको भनि बताएको उद्धृत गरेको छ।
नियन्त्रण
यसैबीच सुन्नी जिहादीहरुले इराकको पश्चिमी अनवर प्रान्तका थप भूभागमा नियन्त्रण कायम गरेका छन्।
अधिकारीहरुले भने, सीमावर्ती नगर अल कइम, आना तथा रावा नगरहरुमा नियन्त्रण कायम गरेको केही घन्टाभित्रै महत्वपूर्ण नगर रुतबामा पनि उनीहरुले कब्जा जमाएका छन्।
अधिकारीहरुले भने, उग्रवादीहरुले हमला गरेपछि इराकी सैन्य त्यहाँबाट पछि हटेका थिए।
विद्रोहीहरुका एकजना प्रवक्ताले बीबीसीलाई भने, उनीहरु सुन्नी बहुल उक्त प्रान्तमा पूर्ण नियन्त्रण कायम गर्न चाहन्छन्।
विद्रेाहीहरुको नियन्त्रण रहेको टिक्रिट शहरमा गरिउको एउटा सरकारी हवाइ हमलामा चालिस जना उग्रवादीहरु मारिएको अधिकारीहरुले जनाएका छन्।
तर प्रत्यक्षदर्शीहरुलाई उद्धृत गरिएका अन्य समाचारहरुमा हवाइ हमलाका कारण एउटा पेट्रोल स्टेशनमा आगो लागेपछि थुप्रै गैरसैनिक हताहति भएको बताइएको छ।
इराक सरकारले इस्लामवादी विद्रोहीहरु विरुद्ध हवाइ हमला गर्न संयुक्त राज्य अमेरिकालाई अनुरोध गरेको छ।
तर विशेषज्ञहरुले त्यस्तो कारवाहीबाट ठूलो संख्यामा सर्वसाधारणको ज्यान जानसक्ने चेतावनी दिएका छन्।