कियभ शान्ति योजना पुटीनद्वारा स्वीकार

  • 22 जुन 2014
तस्वीर कपीराइट AP
Image caption युक्रेनी राष्ट्रपतिको विकेन्द्रीकरण र मध्यवर्ती क्षेत्र सहितको शान्ति योजना विद्रोहीले अस्वीकार गरेका छन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले अघि सारेको शान्ति योजनाको समर्थन गरेका छन्।

तर पुटीनले योजना संभव र यथार्थवादी तुल्याउन कियभले रुस समर्थक विद्रोहीसँग मोलतोल र संझौता गर्नुपर्ने बताएका छन्।

रुसी राष्ट्रपति पुटिनले युक्रेनी राष्ट्रपति पेट्रो पेरोशेन्कोले घोषणा गरेको संघर्ष अन्त्यको घोषणा चेतावनीको रुपमा प्रयोग गर्न नहुने बताएका छन्।

पूर्वी युक्रेनमा झडपहरु जारी छन् र विद्रोहीहरुले राती भएका झडपमा छ जना सीमा रक्षकहरुलाई घाइते बनाएका छन्।

उल्लंघन

पृथकतावादी लडाकुहरुले संघर्ष अन्त्यलाई अस्वीकार गरेका छन् र युक्रेनी सेनाले उनीहरुको आफ्नै युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन्।

यसैबीच अमेरिकाले युक्रेनका सातजना रुस समर्थक नेताहरुको अमेरिकमा रहेको धनसम्पत्ति रोक्काको नाकाबन्दी लगाएका छन्।

पश्चिमा नेताहरुले रुस विरुद्ध थप नाकाबन्दी गर्ने धम्की दिएका छन् उनीहरु युक्रेनमा तनाव बढाउन रुसले सहयोग पुर्याएको बताउँछन् ।

अस्वीकार

कियभले मस्कोले लडाकुहरुलाई ट्यांकसहितका हातहतियार उपलब्ध गराएको आरोप लगाउँछ रुसले ति सबै आरोप अस्वीकार गर्छ।

तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति पोरोशेन्कोको शान्ति योजना अस्वीकार गरेका विद्रोही प्रभावी पूर्वी युक्रेनमा झडप जारी छ

रुस सँग सीमा जोडिएको पूर्वी क्षेत्रमा सशस्त्र पृथकतावादीहरुले नियन्त्रणमा लिएको भुभाग र भवनहरु फिर्ता लिन युक्रेनी फौजले संघर्ष गरिरहेको छ।

पोरोशेन्कोले शुक्रबार एकहप्ते संघर्षविरामको घोषणा गर्दै शक्ति विकेन्द्रीकरण छिटो चुनाव र युक्रेन र रुसी सीमाबीच दश किलोमीटरको मध्यवर्ती क्षेत्र बनाउने योजना पनि सार्वजनिक गरेका थिए।

तर विद्रोही नेताहरुले भने सम्पूर्ण सरकारी फौज पूर्व नछोडेसम्म हतियार नछोड्ने बताएका छन्।