उपनिर्वाचनमा कांग्रेसलाई फाइदा

  • 23 जुन 2014
ca
Image caption उपनिर्वाचनको परिणामसंगै संविधानसभाको प्रत्यक्षतर्फको सदस्य संख्या पूर्ण भएको छ

गत मंसिरको आमनिर्वाचनको सात महिनापछि देशका विभिन्न चार स्थानमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई फाइदा भएको छ।

उसका सभासदहरुले राजीनामा दिएको दुई निर्वाचन क्षेत्रमा जीतलाई निरन्तरता दिदैं कांग्रेसले सत्तासहकर्मी एमाले आमनिर्वाचनमा विजय भएको काठमाडौं २ मा पनि जीत हात पारेको छ।

आमनिर्वाचनमा भन्दा पनि नराम्रो प्रदर्शन गरेको प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले एउटा निर्वाचन क्षेत्रमा त जमानत समेत गुमाउने अवस्था आएको छ।

बलियो

उपनिर्वाचन भएको चार स्थानमध्ये तीन कांग्रेसको पोल्टामा गयो भने एउटा एमालेको।

आफ्ना उपाध्यक्ष वामदेव गौतमले जितेको बर्दिया १ मा एमालेले पकड कायमै राखेपनि वरिष्ठ नेता माधवकुमार नेपालले जितेको काठमाडौ २ भने कांग्रेसको पक्षमा गयो।

यसरी अब पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली अन्तर्गत कांग्रेसको कूल सिट संख्या एक बढेर १०६ पुगेको छ भने एमालेको घटेर ९० भएको छ।

२०६४ मा एकीकृत माओवादीको जीतलाई छाडेर २०४८ यताका आमनिर्वाचनहरुमा काठमाडौ २ मा एमाले विजयी हुंदै आएको थियो।

यसरी यो उपनिर्वाचनमा कांग्रेस बलियो भएको जस्तो देखिएपनि त्यसलाई उ नेतृत्वको सरकारको कामको मूल्यांकनका रुपमा हेर्न नमिल्ने धारणा विज्ञहरुको छ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले भने "खासगरी एक डेढ वर्षमा भएको भए उपनिर्वाचनलाई मध्यावधिकै रुपमा मान्ने गरिन्छ। तर नेपालको अवस्थामा यो चाहि आमनिर्वाचनकै निरन्तरता हो।"

झड्का

यसरी निरन्तरता भनिएपनि आमनिर्वाचनको तुलनामा एकीकृत माओवादीले भने थप झड्का व्योहर्नुपरेको देखिएको छ।

निर्वाचनलाई नजिकबाट नियालिरहेका अनलाइन पत्रिका सेतोपाटीका सम्पादक अमीत ढकालले भने, "यसपालिको उपनिर्वाचनको सबैभन्दा ठूलो पक्ष भनेको एमाओवादीलाई पुगेको धक्का हो जसलाई धेरै मानिसले ध्यान दिएका छैनन्। एमाओवादीको संगठन र प्रभाव खस्किंदै गएको देखिएको छ।"

एकीकृत माओवादी कैलाली ६ मा तेस्रो स्थानबाट झरेर पांचौं भएको छ जहां उसले जमानत जफत हुन नदिन आवश्यक पर्ने १० प्रतिशत मतसमेत ल्याउन सकेन।

बर्दिया १ मा मंसिरकै निर्वाचनको जस्तैजस्तै मत ल्याएपनि चितवन ४ र काठमाडौं २ मा भने उसले ३० देखि ५० प्रतिशतसम्म कम मत ल्याएको छ।

चौथो ठूलो शक्ति राप्रपा नेपालले कैलालीमा तेस्रो स्थानमा उक्लँदै पहिलेको भन्दा राम्रो प्रदर्शन गरेपनि काठमाडौंमा भने उही उम्मेदवार दोहोर्याएको उसले ३० प्रतिशतभन्दा कम मत ल्याएको छ।