सुआरेज: दोषी ठहरिएमा लामो प्रतिबन्ध

  • 25 जुन 2014
सुआरेज र किएलीनी
Image caption फिफाले दोषी ठहर गरेमा सुआरेजले विश्वकपका बांकी खेलहरु खेल्न नपाउने हुन सक्छ

युरुग्वेका खेलाडी लुइस सुआरेजले इटलीसंगको खेलका क्रममा विपक्षी खेलाडी जोर्जीयो किएलीनीलाई टोकेको आरोपमा दोषी ठहर भएमा, उनले यो विश्वकपका बांकी खेलहरु खेल्न नपाउने गरी लामो अवधिको प्रतिबन्ध बेहोर्नु पर्न सक्छ।

फुटबलको विश्व प्रशासकीय निकाय, फिफाले, मंगलबार युरुग्वेले इटलीलाई जितेको खेलका क्रममा भएको घटनाका सम्बन्धमा अनुशासनको कार्वाही सम्बन्धि प्रकृया अगाडी बढाएको छ।

इटलीका खेलाडी किएलीनीले, सुआरेजले आफूलाई देब्रे कांधमा टोकेको बताएका छन् भने सुआरेजले ति खेलाडी आफूसंग आएर ठोकिएको प्रतिक्रिया दिएका छन्।

दोषी ठहर भएमा ति २७ बर्षे खेलाडीलाई २४ वटा खेल वा दुइ बर्षसम्म प्रतिबन्ध लाग्न सक्छ।

खेलमा उक्त घटना भएका बेला मेक्सिकोको रेफ्रीले कुनै कदम चालेनन् तर फिफाले सुआरेजलाई सजायं दिन सक्छ।

तस्वीर कपीराइट Getty
Image caption किएलीनीले सुआरेजले आफूलाई टोकेको बताएका छन् भने सुआरेजले चांहि किएलीनी आफूसंग ठोक्किन आएको प्रतिक्रिया दिएका छन्

चांडो भन्दा चांडो

हाल ब्राजीलमा रहेका बीबीसीको रेडियो फाइभ लाइभका रिचर्ड कनवे भन्छन्,“फिफाले यो प्रकरणलाई चांडो भन्दा चांडो सल्टाउन चाहनुपर्छ ताकि सबैको ध्यान फेरि विवादबाट खेल मैदानमा नै केन्द्रीत पार्न सकियोस्।”

‌”फिफा नियम अनुसार विपक्षीलाई थुकेमा न्यूनतम छ खेल खेल्न नपाइने सजायं हुन्छ भने, यो घटनामा त्यो भन्दा कडा सजायं हुनसक्ने देखिन्छ।“

लिभरपुलका भूतपूर्व मिडफिल्डर ज्यान मोल्बीको अनुमानमा सुआरेजले यो विश्वकपका बांकीका खेलहरु खेल्न नपाउने हुनसक्छ।

लिभरपुल एको नामको पत्रिकासंग कुरा गर्दै मोल्बीले भन्छन्,“ फिफाले यो घटनालाई एउटा नजीर हुने गरी नै कदम चाल्नेछ।

"अब उनका लागि यो विश्वकप समाप्त भयो भने पनि हुन्छ र मलाई लाग्छ फिफाले उनलाई अन्तर्राष्ट्रिय खेलमा लामै प्रतिबन्ध लगाउन सक्छ।“

विश्वकपमा हालसम्म दिइएको सबैभन्दा लामो समयको प्रतिबन्धको अवधि आठ खेलको छ जुन सन् १९९४ मा इटलीका डिफेन्डर माउरो टासोट्टीलाई स्पेनका लुइस एनरिकेको नाक भांचिनेगरी कुहिनोले हिर्काएको घटनाका क्रममा दिइएको थियो।

फिफाले चालेको कदमप्रति आफ्ना सफाइ प्रस्तुत गर्न सुआरेज र उनको टोली युरुग्वेका सामु बुधबार सांझसम्मको समय छ।

निन्दा

सुआरेजको कार्यको ब्यापक रुपमा निन्दा भैरहेको छ।

लुईस सुआरेजले विपक्षीलाई टोकेका घटनाहरु

  • सन्२०१० मा आयाक्सको क्याप्टेन छंदा पीएसभी आइण्डहोभनका ओटमन बाक्काललाई टोकेकोमा निलम्बित खेल संख्या

  • १० सन् २०१३ मा प्रीमियर लिग खेलका बेला चेल्सीका ब्रानीस्लाभ इभानोभिचको हातमा टोकेकोमा प्रतिबन्धित खेल संख्या

  • २४ विश्वकप २०१४ मा इटलीका जोर्जीयो किएलीनीलाई टोकेकोमा फिफाले दोषी ठहर गरेमा हुन सक्ने अधिकतम खेल प्रतिबन्ध (अथवा दुइ बर्ष)

GETTY

यसभन्दा अघि पनि आफ्ना प्रतिद्वन्द्वीलाई टोकेको घटनामा उनलाई दुइ पटक निलम्बन गरिसकिएको छ।

सन् २०१३ मा ‌प्रिमिएर लिगको खेलका क्रममा चेल्सीका ब्रानीस्लाभ इभानोभिचको हातमा टोकेपछि सुआरेजलाई दश खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।

त्यस अघि सन् २०१० मा उनी आयाक्स टोलीको कप्तान रहेका बेला पीएसभी आइण्डहोभनका ओटमन बाक्कालको कांधमा टोकेकाले उनलाई सातवटा खेल खेल्नबाट रोक लगाइएको थियो।

सन् २०११ को डिसेम्बर महिनामा म्यान्चेष्टर युनाइटेडका प्याट्रीस एभ्रालाई जातिगत दुर्व्यवहार गरेको अभियोगमा सुआरेजले आठवटा खेल खेल्न नपाउने प्रतिबन्ध र चालिस हजार पाउण्ड जरिवाना बेहोरिसकेका छन्।

मंगलबारको इभानोभिच घटनापछि सुआरेजसंग उनको क्लब लिभरपुलले उनको “अस्वीकार्य” व्यवहारका सम्बन्धमा कुराकानी गरेको बताएको छ।

इंगलिश प्रिमिएर लिगको गत सिजनमा सुआरेजले लिभरपुललाई दोस्रो स्थानमा पुग्न ठूलो योगदान दिएका थिए।

पुरस्कार

त्यसबेला ३३ खेलमा ३१ गोल गरेर उनले “गोल्डन बुट” पुरस्कार पनि जितेका थिए।

यो पछिल्लो घटनाका बारे लिभरपुलले औपचारिक रुपमा कुनै टिप्पणी गरेको छैन र आफूले कुनै कदम चाल्नु अघि फिफाले यसलाई टुंगोमा पुर्याओस् भन्ने चाहेको छ।

इटलीका किएलीनीले प्रतिक्रिया व्यक्त गर्दै भनेका छन्, “ फिफाले उनी (सुआरेज) विरुद्ध उपलब्ध भिडियो प्रमाणको प्रयोग गर्ने आंट गरोस् भन्ने म चाहन्छु।

"रेफ्रीले मेरो कांधमा टोकेको डाम देखेका थिए तर उनले त्यसबेला केहि पनि गरेनन्।“

फिफाका उपाध्यक्ष जीम बोयस भन्छन्, “लुइस् सुआरेज बेजोडका फुटबल खेलाडी हुन् भन्नेमा कुनै शंका छैन तर फेरि पनि उनी आफ्नै कदमले गर्दा कडा आलोचनाको पात्र बन्न पुगेका छन्।“