'उत्पादनमूलक उद्योगको अवस्था गतिहीन'

  • 25 जुन 2014
Image caption ऊर्जाको अभावका कारण उद्योगहरुले माग अनुसार उत्पादन गर्न नसकेको बताएका छन

पछिल्लो पाँच वर्षमा उत्पादनमूलक उद्योगहरुको संख्यामा वृद्धि भएपनि कूल ग्राहस्थ उत्पादनमा त्यसको प्रभाव नदेखिएको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको एक अध्ययनले देखाएको छ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको औद्योगिक गणनाको नतिजा अनुसार खाद्यान्न तथा पेय पदार्थ उत्पादन गर्ने उद्योगहरुको संख्या वृद्धि भएको छ भने कपडा, औषधिजन्य सामग्री तथा सवारीसाधनका पार्टपुर्जा बनाउने उद्योगहरुको संख्या घटेको देखिएको छ।

अर्थतन्त्रमा योगदानको हिसाब गर्दा उत्पादनमूलक उद्योगहरुको अवस्था गतिहीन बन्न पुगेको अधिकारीहरुले बताएका छन्।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको दशौं औद्योगिक गणनाको नतिजा अनुसार पछिल्लो पाँच वर्षमा १० वा सोभन्दा बढी कामदार भएका उत्पादनमूलक उद्योगहरुको संख्या बढेर ४ हजार नाघेको छ।

खस्किंदो

उद्योगहरुको संख्यामा वृद्धि हुनु सकारात्मक भएपनि त्यसअनुसार कूल ग्राहस्थ उत्पादनमा उनीहरुको योगदान भने बढेको देखिंदैन।

सन् १९९० मा कुल ग्राहस्थ उत्पादनमा ६ प्रतिशत योगदान पुर्याएका उत्पादनमूलक उद्योगहरुले सन् १९९६ मा कूल ग्राहस्थ उत्पादनको १० प्रतिशत हिस्सा ओगटेका थिए।

बुधबार सार्वजनिक नतिजाले स्थिति झन् झन् खस्कंदै गएको देखाएको राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले बताए।

उनले भने, ''दुर्भाग्यवश त्यसपछि क्रमिकरुपमा हाम्रो अधोगति शुरु भयो। सन् २०१३ मा आईपुग्दा त उत्पादनमूलक उद्योगको अंश फेरि ६ प्रतिशतमा झरेको देखिन्छ। यो चाहिँ ठूलो चिन्ताको विषय हो। अलिअलि आशावादी विन्दुमा पुगेर ओरालो लागेर अहिले गतिहीन अवस्थामा छौं।''

विभागका अनुसार उत्पादनमूलक उद्योगहरुमा करीब १ खर्ब १९ अर्ब रुपैयाँ स्थिर पूँजी लगानी रहेको छ भने पछिल्लो पाँच वर्षमा तिनको ६ अर्बको स्थायी सम्पति थप भएको छ।

उक्त अवधिमा ती उद्योगहरुले करीब २ खर्ब ४२ अर्ब रुपैयाँ लगानी गरेर ३ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा उत्पादन गरेको विभागले सार्वजनिक गरेको नतिजाले देखाएको छ।

उत्पादन

तर अधिकांश उद्योगहरुले माग जति उत्पादन गर्न नसकेको बताएको विभागका निर्देशक राजेश धितालले जानकारी गराएका छन्।

माग अनुसारको उत्पादन हुन नसकेको कारणबारे उनले भने, ''८७ प्रतिशत उद्योगहरुले विद्युतको उपलब्धता नहुँदा नकारात्मक असर परेको बताएका छन्। करीब ३७ प्रतिशतले कच्चा पदार्थको अभाव र झण्डै ३७ प्रतिशत उद्योगले दक्ष जनशक्तिको अभावले नकारात्मक असर परेको बताएका छन्।''

बितेका वर्षहरुमा पर्यटन, बैंक, वित्तिय जस्ता सेवा क्षेत्र अनि विदेशबाट पठाइने रेमिट्यान्सको फराकिलो विस्तार हुन पुग्यो।

तर विकासोन्मुख देशका निम्ति रोजगारी र आर्थिक विस्तारको मेरुदण्ड मानिने उत्पादनमूलक क्षेत्र भने त्यही गतिमा बढ्न नसकेको आंकडाहरुले प्रष्ट देखाएका छन्।

यो स्थिति निराशाजनक पक्कै भएपनि अझै सबैकुरा बिग्रिनसकेकाले उत्पादनमूलक उद्योगहरुको स्थिति सुधार्न उर्जाको उपलब्धता, उचित श्रम कानुन, लगानीको वातावरण जस्ता पाटाहरुमा तत्काल ध्यान दिनुपर्ने जानकारहरुले बताएका छन्।