बोक्सी प्रथा विरुद्ध कडा कानूनको तयारी

  • 25 जुन 2014
तस्वीर कपीराइट bbc
Image caption ग्रामीण भेगमा आर्थिक समाजिक अवस्था कमजोर भएका महिलाहरु बोक्सीको आरोपमा यातना खेप्न बाध्य छन्

बोक्सीको आरोपमा यातना दिनेलाई दश वर्षको सम्मको कैद सजाय प्रस्ताव गरेको कानूनको मस्यौदा सरकारले संसदमा पेश गर्ने तयारी गरेको छ।

कानूनको अभावमा कसुरदारहरु सामान्य धरौटीमा छुटिरहेको भन्ने गुनासाका माझ नयाँ विधेयकको प्रस्तुत गर्न लागिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ।

बोक्सीको आरोपमा यातना दिएका खबरहरु बारम्बार आउने गरेपनि समाजिक चेतना कम हुँदा उजुरीहरु कम पर्ने गरेको प्रहरी अधिकारीहरुको भनाई छ।

बलियो कानून भएमा उजुरीको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

आँकडा

बोक्सीको आरोपमा भएका घटनाहरु विरुद्ध वितेको एक वर्षमा ३२ वटा उजुरीहरु परेको नेपाल प्रहरीको आंकडाले देखाउँछ।

जसमध्ये २३ वटा उजुरी तराई र ९ वटा उजुरी पहाडी जिल्लाहरुबाट परेको देखिन्छ भने हिमाली जिल्लाबाट एउटा पनि उजुरी परेको देखिंदैन।

३२ वटा घटना मध्ये २९ वटा घटनाका पिडित, महिलाहरु छन् भने तीन वटा घटनामा मात्रै पुरुषहरु पिडित भएको देखिन्छ।

उजुरी

गएको ६ वर्षको आंकडा हेर्ने हो भने सबै भन्दा बढि आर्थिक वर्ष २०६७/६८ मा ३९ वटा उजुरी परेको छ भने सबैभन्दा कम आर्थिक वर्ष ६६/६७ मा चार वटा मात्रै परेको छ।

यस्ता घटनाका पिडितहरु धेरैजसो कमजोर वर्गका हुने हुनाले उजुरी कम परेको नेपाल प्रहरीका प्रवक्ता गणेश केसीको भनाई छ।

उनले भने, “सामाजिक कारणले दबिएर बसेको पनि हुन सक्छ, यस्ता घटनाहरुलाई प्रहरीको अनुसन्धानमा आउन नदिने वातावरण स्थानीय स्तरमा भएको हुन सक्छ भन्ने हाम्रो अनुसन्धानको निचोड हो।”

यस वर्ष भएका घटनाहरुको कार्वाहीको विवरण हेर्ने हो भने बोक्सीको आरोपमा कुटपिटको घटनामा औषधी उपचारको लागि समेत गरी बढीमा ५२ हजार रुपैयाँ र थोरैमा पाँच हजार रुपैयाँ धरौटी तिरेर धेरै जसो कसुरदारहरु छुटेको देखिन्छ।

केहीको फैसला हुन बाँकी छ।

पिडकहरु छुटेर पुन दुख दिन सक्ने हुनाले उजुरी दिन पिडितहरुले नसकेको प्रहरीको भनाई छ।

कानूनी

कडा सजायको व्यवस्था सहितको विधेयकको मस्यौदा तयार पारिएको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहायक प्रवक्ता रामप्रसाद भट्टराईले बताएका छन्।

उनका अनुसार प्रस्तावित कानूनमा कसुरको आधारमा चार किसिमको सजायको तोकिएको छ।

उनले भने, “गाली बेइज्जती, अपमानजनक व्यवहार जस्ता विषयहरुका लागि एक देखि तीन वर्ष सम्म कैद र दश देखि तीस हजार रुपैयाँसम्मको जरीवाना छ, सबैभन्दा माथिल्लो सजाय चाहिं पाँच देखि दश वर्ष सम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँ सम्म जरीवाना छ।”

बोक्सीको आरोपमा हुने यातना सम्बन्धी घटनाका विरुद्ध निश्चित कानून नभएकोले हालसम्म प्रहरीले घरेलु हिंसा सम्बन्धी ऐन अन्तर्गत मुद्दा चलाउंदै आएको छ।