‘अख्तियारको आदेश प्रकृया अनुरुप लागु हुने’

  • 27 जुन 2014
अख्तियार कार्यालय
Image caption सरकारले जनसरोकारका विषयमा आफूले दिएका आदेश नमानेको भन्दै अख्तिायार असन्तुष्ट देखिन्छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएका आदेश आवश्यक प्रक्रिया पुरा गरेर मात्र कार्यान्वयन गर्न सकिने सरकारले बताएको छ।

आफ्ना अधिकांश निर्देशनहरु कार्यान्वयन नभएको भन्दै आयोगले सरकारलाई सचेत गराएको पृष्ठभूमिमा सरकारका प्रवक्ताले निर्देशनकै भरमा सबै कुरा गर्न नमिल्ने बताएका हुन्।

विगतमा आफूले दिएका निर्देशनहरु कार्यान्वयन गर्न आयोगले हिंजो सरकारका मुख्यसचिवमार्फत मन्त्रिपरिषद्को कार्यालयलाई सचेत गराएको एक अधिकारीले बताए।

प्रकृया

कारवाहीका लागि आफूले गरेका सिफारिशहरु सरकारले कार्यान्वयन नगरेको गुनासो विगतमा राष्ट्रिय मानवअधिकार आयोगले गर्दै आएकोमा पछिल्लो पटक अख्तियारबाट पनि त्यस्तै असन्तुष्टि व्यक्त भएको छ।

तर सबै निकायहरुसँग समन्वय गरेर अघि बढिरहेको भन्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राज्यका कुनै पनि अंगलाई असहयोग गर्ने मनसाय नरहेको प्रतिक्रिया दिए।

उनले भने, "पहिलो कुरा संविधान कानुनले सृजना गरेका निकायहरुको अधिकार क्षेत्रभित्र हुने काममा सरकारले सहयोग पुर्याउने हो, कतिपय कुरा सामान्य निर्देशन दिँदा पनि हुने हुन्छ, कतिपय कुरा कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ, सबै काम गर्न उही प्रक्रिया र उतिकै समय लाग्ने हुन्छ।"

आयोगले सहकारीहरुमा देखिएका अव्यवस्था रोक्न, पोखराको फेवातालको व्यवस्थापन गर्न र समयमा निर्णय नगर्ने सरकारी कर्मचारीहरुमाथि आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको जनाएको छ।

कारवाही

तर ती विषयहरुमा खासै परिणाम नदेखिएपछि सरकारलाई सचेत गराएको बताउँछन्, आयोगका प्रवक्ता श्रीधर सापकोटा।

उनी भन्छन्, "सरकारले थोरैमा केही कुरा गरेको भएपनि धेरैजसोमा कुनै कारवाही गरेको स्थिति दैखिएन। जस्तो जनसरोकारको विषयलाई छिट्टोभन्दा छिट्टो सरकारले संबोधन गर्नुपर्दथ्यो। त्यो चाहिँ गरेको पाइएन। आयोगले मुख्यसचिवमार्फत सरकारलाई यस्ता खालका निर्देशनहरु प्रभावकारी रुपमा गरिदिनुस भनेर पत्र पठाएको हो।"

मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्नका लागि आफूले दिएका निर्देशनहरुको अपेक्षित कार्यान्वयन नहुँदा जनतामा नकारात्मक सन्देश जाने आयोगका अधिकारीहरु बताउँछन्।