नाइजेरीयामा घातक बिस्फोटन

  • 26 जुन 2014
तस्वीर कपीराइट AP
Image caption उग्रवादी समूह बोको हरामले उक्त विस्फोटन गराएको आशंका गरिएको छ

नाइजेरीयाको राजधानी अबुजा नजिकैको एउटा व्यस्त व्यापारिक केन्द्रमा गराइएको बम बिस्फोटनमा कम्तिमा २१ जनाले ज्यान गुमाएका छन् र थप ५२ जना घाइते भएका छन्।

कौशौँ परसम्म ‍आवाज सुनिएको उक्त बिस्फोटनले उक्त व्यापारिक केन्द्र बाहिर रोकिएका कैयौँ कारहरु ध्वस्त बनाएको थियो।

उक्त हमला कसले गराएको हो स्पष्ट भैसकेको छैन् तर इस्लामवादी उग्रवादी समूह बोको हरामले विगतमा अबुजामा निरन्तर बम आक्रमणहरु गराउँदै आएको छ।

प्रहरीले एक जना शंकास्पद आक्रमणकारीलाई पक्राउ गरेको बताएको छ।

क्षती

उसे जिल्लामा रहेको लोकप्रिय बनेक्स प्लाजा सपिङ कम्पलेक्समा भएको बिस्फोटको आवाज कोशौ परसम्म सुनिएको थियो र त्यसले धुवाँको ठूलो मुस्लो आकाशमा फालेको थियो।

बिस्फोटन भएको स्थानमा पुगेका बीबीसी हाउसा सेवाका महमद मुस्तफका अनुसार घटनास्थलबाट केही किलोमिटर पर रहेको अस्पतालमा चिकित्सक र नर्सहरुले दर्जनौँ घाइतेहरुको उपचार गरिरहेका छन्।

बिस्फोटनको समयमा उक्त व्यापारीक केन्द्रमा सेवाग्राहीहरुको भिड थियो र उक्त केन्द्रबाहिर रोकेर राखिएका धरै कारहरु बिस्फोटनका कारण जलेका थिए।

सरकारी प्रवक्ताका माइक ओमारीले बम हमलाका कारण उक्त बिस्फोटन भएको पुष्टी गरेका छन्।

भावुक

बिस्फोटनमा घाइते भएका एकजनाका आफन्तले बीबीसीसँग भने, “म राष्ट्रपतिसँग विन्ति गर्न चाहान्छु कृपया केहि गर्नुहोस, किनभने हामी प्रत्येक दिन मारिइरहेका छौँ।”

भावुक मुद्रामा उनले भने, “मेरा केही साथीहरु अर्जेन्टीना र नाइजेरीयाबीचको खेल हेर्ने तयारी गरिरहेका थिए तर उनीहरु अब जीवित छैनन् र उनीहरुले अर्जेन्टीनाले जित्यो वा हामीले बराबरी गर्यौँ त्यो थाहा पाउने छैनन्।”

केहि समय यता इस्लामवादी उग्रवादी समूह बोको हरामले अबुजा र उतरी नाइजेरीयामा बम हमलाहरु गर्दै आएको छ।

यसअघि गएको एप्रिलमा बोको हरामले राजधानीको बाहिरी शहरको एउटा बस स्टपमा बम हमाला गर्दा ७० जना भन्दा बढीले ज्यान गुमाएका थिए।क़