अल्जेरिया पहिलो पटक दोस्रो चरणमा

  • 27 जुन 2014
तस्वीर कपीराइट Reuters
Image caption सन् २०१८ को विश्वकप आयोजक रुस पहिलो चरणबाटै बाहिरिएको हो

ब्राजीलमा भैरहेको विश्वकप फुटबलमा समुह चरणका अन्तिम खेलहरु सकिएका छन्; फुटबल इतिहासमा पहिलो पटक अल्जेरिया दोस्रो चरणमा पुगेको छ।

सन् २०१८ को विश्वकप आयोजक रुससँग एक गोलको बराबरी खेलेपछि अल्जेरियाले माथिल्लो १६ टोलीमा आफ्नो स्थान पक्का गर्यो।

दक्षिण कोरियालाई एक सुन्यले पराजित गर्दै समूह ‘एच’को विजेता बनेको बेल्जीयमले अर्को हप्ता जर्मनीसँग हारेर पनि दोस्रो चरणमा पुगेको अमेरिकाको सामना गर्नेछ।

पोर्चुगलले घानालाई दुई एक गोलले हराएपनि दुवै समुह चरणबाट नै बाहिरिएका छन्।

ऐतिहासिक

ब्रृटेनका पूर्व प्रशिक्षक फ्याविओ केपेलोको प्रशिक्षणमा रहेको रुसी टोलीका लागि सुरुवातमा नै दिमीत्री खुम्बारुफले दिएको पासमा एलेकसान्डर कुकरिनले गोल हानेका थिए।

तर दोस्रो हाफमा इस्लाम स्लीमानीले यासिन ब्राहिमीको फ्रि किकको सहयातामा गोल फर्काए।

उत्तरी अफ्रिकी टोलीले गरेको गोल विवादमा तानिएको छ किनभने टेलिभिजन फुटेजहरुमा गोलहरु केही अघि मैदानमा उपस्थित भिडबाट रुसी गोलरक्षकको अनुहारमा लेजर प्रकाश ताकेको देखिएको छ।

यसअघि दक्षिण कोरियासँगको खेलमा गोलरक्षकको गल्तीका कारण रुस एक-एक गोलको बराबरी खेल्न बाध्य भएको थियो।

त्यतिबेला अंक गुमाउनु बिहिबारको खेलमा रुसका लागि महंगो सावित भयो जब बराबरीको नतिजा निकाल्दै समूह विजेता वेल्जीयमसँगै अल्जेरिया दोस्रो चरणमा प्रवेश गर्यो।

अर्को चरणमा अब अल्जेरियाले जर्मनीको सामना गर्नेछ र त्यसबेला उसले ३२ बर्षअघिको एउटा विवादित खेलमा जर्मनीले अष्ट्रीयासँग एक-सून्य गोलले जितेपछि दोस्रो चरणमा प्रवेश गर्न नपाएकोमा बदला लिने प्रयास गर्नेछ।

तस्वीर कपीराइट AFP
Image caption बराबरी गोलको खुसी मनाउँदै अल्जेरियाका समर्थकहरु

‍सन् १९८२ को विश्वकपमा अल्जेरियाले तत्कालिन पश्चिम जर्मनीलाई हराएको थियो तर अन्तिम खेलमा मिलेमतो गरेर आफूलाई समूह चरणबाटै हराइएको उसले आरोप लगाउने गरेको छ।

संघर्षपूर्ण

दश जनामा सिमित बेल्जीयमले दक्षिण कोरियालाई एक सुन्यले हराउँदै समूह विजेताका रुपमा दोस्रो चरणमा प्रवेश गर्यो।

उक्त खेलमा निश्चित जितको खोजीमा रहेको दक्षिण कोरियाको आक्रमक खेल्ने रणनिति विफल तुल्याउन क्रममा फल गरेको भन्दै बेल्जीयमका खेलाडी स्टेभन डुफर रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।

एसियाली टोलीले निक्कै संघर्ष गरेको सो खेलमा सोङ हीउङ मिनको प्रहार बेल्जियमको गोलपोष्टमा ठोकिएको थियो।

बेल्जीयमका जान भेरटुङगेनले डिभोक ओरीगीको फिर्ता आएको प्रहारलाई सदुपयोग गर्दै गोल गरे।

तस्वीर कपीराइट AFP
Image caption पछिल्लो १३ खेलमा बेल्जीयम अपराजीत रहेको छ

बेल्जीयमले विश्वकपका तीन खेलमा एक मात्र गोल खाएको छ।

श्रृखंला

ब्रायन म्युनिखका स्ट्राइकर टमस मुलरको एक गोलको मद्दतले अन्तिम खेलमा अमेरिकालाई हराउँदै जर्मनी समूह जीको विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गर्यो।

तस्वीर कपीराइट Getty
Image caption जर्मनी समूह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो

हारपछी पनि कम गोलअन्तरका आधारमा पोर्चुगललाई पन्छाउँदै अमेरिका दोस्रो चरणमा प्रवेश गरेको छ।

मुलरले यो विश्वकपमा चार गोल गरिसकेका छन् र उनले विश्वकपको आफ्नो पहिलो नौ खेलमा नौ गोल गर्ने ब्राजीलका फुटबल बादशाह पेलेको किर्तीमानको बराबरी गरेका छन्।

२४ बर्षीया मुलर विश्वकपमा सर्वाधिक १५ गोलको संयुक्त किर्तीमान राखेका आफ्ना समकक्षी मिरोस्लाभ क्लोस र ब्रजीलका पूर्व खेलाडी रोनाल्डो भन्दा छ गोलले पछि छन्।

बाहिर

तस्वीर कपीराइट Reuters
Image caption घानासँगको खेलको क्रममा पोर्चुगलका रोनाल्डो

बिहिबारकै खेलमा क्रिस्टीयानो रोनाल्डोले मध्यानतरपछि गोल गरेपछि घाना बिरुद्ध पोर्चुगलले दुई-एक गोल अन्तरले हरायो।

घानाका रक्षापङक्तिका खेलाडी जोन बोयीको आत्माघाती गोलमा पोर्चुगलले अग्रता लिएको थियो तर असामोन ज्ञायानले टाउकोले गोल हानेर खेललाई बराबरीमा ल्याए।

पोर्चुगललाई सान्त्वना जीत दिलाउने क्रममा फितलो गरी ‘क्लियर’ गरीएको बललाई रोनाल्डेले पोष्टको दिशा दिएका थिए।

तर संयुक्त राज्य अमेरिकालाई गोल अन्तरले हराउन आवश्यक थप तीन गोल पुर्याउन नसक्दा युरोपेली टोली बाहिरिन पुग्यो।