पहिलो विश्वयुद्धको युरोपमा संझना

  • 28 जुन 2014
तस्वीर कपीराइट Getty
Image caption आर्चड्युकको हत्याको संझनामा छुट्टा-छुट्टै कार्यक्रम गरिदैछन

पहिलो विश्वयुद्धतर्फ डो-याउने एउटा महत्वपूर्ण घटना, अस्ट्रिया र हंगेरी साम्राज्यका उत्तराधिकारीको हत्याको शनिबार युरोपभरि संझना गरिदैछ।

अस्ट्रिया र हंगेरी साम्राज्यका उत्तराधिकारी आर्चड्युक फर्डिनेन्ड र उनकी श्रीमती सवार छत नभएको कार गलत दिशामा जाँदा उनीहरुलाई गेभ्रिलो प्रिन्सिपले गोली हानेको समयकै संझनामा मानिसहरु सारायेभोमा भेला भए।

सन् १९१४ को जुन २८ तारेखमा भएको सो हत्यापछि युरोपका शक्ति राष्ट्रहरुबीच चार वर्ष युद्ध चल्यो।

सर्बियाका स्थानीय नेताहरुले छुट्टै स्मृतिसभाहरु गरेका छन्।

विश्वयुद्ध

अस्ट्रियामा आर्चड्युक वंशहरुले आफ्नो पारिवारीक महलमा छुट्टै कार्यक्रम र परेडको आयोजना गरिरहेका छन्।

आर्चड्युककी पनातिनीले उक्त घटनाले विश्वयुद्ध निम्त्याउने कुरा आफ्ना जिजुहजुरबुवाले थाहा पाएको भए उनी भयभीत हुन्थे भनी बीबीसीलाई बताएकी छिन्।

सारायेभोमा अस्ट्रियाली आर्चड्युकको हत्या भएको एक सय वर्ष पुगेको सम्झनामा बोस्नियाले स्मृतिसभाहरुको आयोजना गरिरहेको छ।

उक्त हत्यापछि भएका घटनाहरुले पहिलो विश्वयुद्ध निम्त्याएको बताइन्छ।

अस्ट्रिया र हंगेरी साम्राज्यका उत्तराधिकारीको हत्या गर्ने सर्बेली राष्ट्रवादी गेभ्रिलो प्रिन्सिपको पक्ष विपक्षमा अझै पनि बोस्नियाका सर्बियालीहरु, क्रोएसियालीहरु र मुसलमान बोस्नियाकहरु विभाजित रहेको देखिन्छ।

बोस्नियामा रहेका सर्बियालीहरुले छुट्टै स्मृतिसभा गर्दैछन।

स्मृतिसभा

आर्चड्युकको अन्त्येष्टी गरिएको भियना नजिकैको एक महलमा उनकी पनातिनी र परिवारका अन्य सदस्यले छुट्टै स्मृतिसभा गर्दैछन्।

बीबीसीलाई उनले भनिन, ''मेरा जिजुहजुरबुवा भयभित हुनुहुन्थ्यो होला। साच्चिकै भयभित हुनुहुन्थ्यो होला। किनभने उहाँले आफ्नै सैनिकहरु अपाङ्ग भएको थाहा पाउनुहुन्थ्यो।''

सर्बिया र बोस्नियामा रहेका केही सर्बियालीहरुले आधिकारिक कार्यक्रम बहिष्कार गरेका छन।

उनीहरुले ती कार्यक्रम सर्बियालीहरुलाई दोषी तुल्याउनका लागि भएको बताएका छन।

शुक्रबार पूर्वी सारायेभोमा प्रिन्सिपको शालिक अनावरण गरिएको छ।

उनीहरु अष्ट्रिया र हंगेरी साम्राज्यले बाल्कनमाथि कायम गरेको उपनिवेशलाई अन्त्य गराएको भन्दै प्रिन्सिपलाई एक नायकका रुपमा हेर्छन।