टिक्रिट शहरमा भीषण आक्रमण

  • 29 जुन 2014
तस्वीर कपीराइट AFP
Image caption इराकमा केही दिनदेखि लगातार आक्रमणका घटना हुँदै आएको छ

इराकी सरकारी फौजले टिक्रिट शहरलाई सुन्नी विद्रोहीहरुबाट पुन: आफ्नो नियन्त्रणमा लिने प्रयासमा भीषण आक्रमण गरिरहेको छ।

इस्लामिक स्टेट इन इराक एन्ड द लिभेन्ट (आइएसआइएस) नेतृत्वका विद्रोहीहरु रहेको स्थानहरुमा हवाइ हमला गरिनुका साथै शहरका विभिन्न भागमा दोहोरो भिडन्तहरु भएको प्रत्यक्षदर्शी तथा अधिकारीहरुले बताएका छन्।

टिक्रिटको एउटा उत्तरी जिल्ला कादिसियामा सरकारी फौज र सुन्नी विद्रोहीहरुबीच भीषण भिडन्त भइरहेको बताइएको छ।

तर ठूलो क्षति व्योहोरे पछि सरकारी फौज टिक्रिटका कतिपय भागबाट नजिकैको डिज्ला शहरमा फर्किएको भन्ने खबरहरु पनि आएका छन्।

संघर्ष

विद्रोहीहरुले सडकहरुमा विस्फोटक पदार्थ राखेकाले शहरको मध्यभागमा पुग्न सरकारी फौजले संघर्ष गर्नुपरेको अधिकारीहरुले बताएका छन्।

इराकी राजधानी बग्दादमा रहेका बीबीसी संवाददाता पल एडम्स् भन्छन्, “टिक्रिटका सडकमा बम राखिएको तथा टिक्रिटको बाहिरी भागमा भीषण लडाइ भएको खबरहरु छन्। प्रष्ट रुपमा यो एकदमै जटील लडाइ जस्तो देखिन्छ।”

करिब तीनसाताअघि सुन्नी विद्रोहीहरुले उत्तरी इराकका थुप्रै भागहरुसहित टिक्रिट पनि आफ्नो नियन्त्रणमा लिएका थिए।

यसैबीच इराक सरकारले रुसबाट आफूले मगाएका सैनिक जेटको पहिलो किस्ता प्राप्त भएको र यसले विद्रोहीहरु विरुद्धको लडाईंमा सहयोग पुग्ने आशा व्यक्त गरेको छ।