इराकी शहर टिक्रिट नियन्त्रणमा लिएको सरकारी दावी

  • 29 जुन 2014
तस्वीर कपीराइट AP
Image caption टिक्रिटमा भएको लडाईमा सुन्नी विद्रोहीहरुका कमाण्डरहरु पनि मारिएको बताइएको छ

इराकी सेनाले एउटा ठूलो हमला गरी सुन्नी व्रिद्रोहीहरुलाई लखेटेर उनीहरुको कब्जामा रहेको उत्तरी शहर टिक्रिट पुन: नियन्त्रणमा लिएको त्यहाँको सरकारी संचार माध्यमले जनाएको छ।

उक्त टेलिभिजनको समाचार अनुसार आक्रमणमा इस्लामिक स्टेट इन इराक एण्ड अल शाम (आईएसआईएस) का ६० जना लडाकू पनि मारिएका छन्।

सरकारी टेलिभिजनको रिपोर्टमा आईएसआईएसका विद्रोहीहरुले जुन ११ तारेकमा कब्जामा लिएको उक्त शहरमा शनिवार हेलिकोप्टर र ट्याङ्कको सहायताले हजारौ इराकी सैनिकले चारैतिरबाट हमला गरेको जनाइएको छ।

सहभागी

त्यसक्रममा सेनाले स्थानीय गभर्नरको निवास पनि पुन: नियन्त्रणमा लिएको छ।

आक्रमणमा इराकी सेनासँगै उसलाई समर्थन गरिरहेका आदिवासी सुन्नी र शिया मिलिशिया पनि सहभागी छन्।

रिपोर्टमा मारिनेमा आईएसआईएसका केही कमाण्डरहरु रहेको र अरु भागेको बताइएको छ।

आईएसआईएसका एकजना प्रवक्ताले त्यहाँ ठूलो लडाई भएको स्वीकार गरेका छन्।

तस्वीर कपीराइट AP
Image caption विद्रोहीहरुले लडाई भएको पुष्टी गरे पनि सेनाको आक्रमण विफल तुल्याएको दावी गरेका छन्

तर उनले सेनाको आक्रमण विफल भएको र आक्रमणपछिको स्थितिको आँकलन गरिरहेको बताए।

विकल्प

इराकी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल सबाह फतलावीले विद्रोहीहरुलाई चेतावनी दिँदै भनेका छन्, "अव उनीहरुका सामू दुईवटा मात्र विकल्प छन्, भाग्नु वा मारिनु।"

टिक्रिटका एकजना बासिन्दा यूसेफले बीबीसीलाई बताए अनुसार शहरको उत्तरी र दक्षिणि जिल्लामा अझै पनि लडाई भइरहेको छ।

इराकी सैनिक सुत्रका अनुसार टिक्रिटमाथिको हमला अमेरिकी सैन्य सल्लाहकारसँगको समन्वयमा भएको हो।

अमेरिकाले इराकमा करिव तीन सय सैन्य सल्लाहकार पठाएको छ।

अर्को हमला

सरकारी टिभिको रिपोर्टमा सेना मोसूल तर्फ बढ्ने तयारीमा रहेको उल्लेख छ।

मोसूल शहरमा पनि कयौं हवाई आक्रमणका खबरहरु प्राप्त भएका छन्।

सुन्नी विद्रोहीले उत्तर र पश्चिम इराकको ठूलो हिस्सा कब्जामा लिएका छन्।

दोश्रो ठूलो शहर मोसूलमा कब्जा गरेपछि उनीहरुले आफ्नो अभियानमा तीव्र सफलता हात पारेका थिए।