नेदरल्याण्डस र कोस्टारिका क्वार्टर फाइनलमा

  • 30 जुन 2014
तस्वीर कपीराइट
Image caption पेनाल्टी मार्फत गोल गर्दै क्लास जान हन्टेलारले डच टोलीलाई बिजयी बनाए

विश्वकप फुटबल अन्तर्गत भएका रोमाञ्चक खेलहरुमा विजयी हुदैँ नेदरल्याण्डस र कोस्टारीका क्वार्टर फाइनलमा पुगेका छन्।

खेल सकिनु दुई मिनेट अघिसम्म अग्रता लिएको मेक्सिकोलाई जिल्यांउदै नेदरल्याण्डसले १ का विरुद्ध २ गोल फर्काएर खेलको परिणाम उल्ट्याएको थियो।

अर्को खेलमा कोस्टारिकाले ग्रिसलाई पेनाल्टी शुटआउटमा ३ का विरद्ध ५ गोलले पराजित गरेर पहिलो पटक प्रतियोगिताको क्वार्टर फाइनल स्थान बनाएको हो।

क्वार्टर फाइनलमा अव नेदरल्याण्डस र कोस्टारिका आमने सामने हुनेछन्।

स्तब्ध

मेक्सिको लगातार छैठौँ पटक विश्वकपको क्वार्टर फाइनलमा पुग्न असफल भएको हो।

सन १९९४ देखि लिग चरण पार गर्दै आएपनि नकआउट चरणमा पुगेपछि मेक्सिकोले प्रि क्वार्टर फाइनलको खड्को पार गर्न सकेको छैन।

नेदरल्याण्डस विरुद्ध निकै हावी भएको मेक्सिकोले खेलको अधिकांश समय आफ्नो पक्षमा पारेको थियो।

तस्वीर कपीराइट Getty
Image caption अन्तिम समयमा गोल खाएपछि मेक्सिकोको विश्वकप यात्रा टुङ्गिएको छ

खेलको ४८ औं मिनेटमा जियोभानी डोस सान्तोसको गोलबाट अग्रता लिएको मेक्सिकोको त्यसपछि पनि लगातार आक्रमण जारी राखेको थियो।

तर खेलको ८८ औं मिनेटमा नेदर्ल्याण्डसका कप्तान वेस्ले स्नाइडरले डि बक्सको छेउबाट कडा प्रहारमा बराबरी गोल गरेर टोलीलाई जोगाए।

त्यसपछि थपिएको ७ मिनेटको इन्जुरी समयको चौथो मिनेटमा प्राप्त पेनाल्टीमा वैकल्पिक खेलाडी क्लास जान हन्टेलारले गोल गरेपछि खेल नेदरल्याण्डसको पक्षमा गयो।

तस्वीर कपीराइट AP
Image caption मेक्सिकोका गोलरक्षकले उत्कृष्ट खेल पस्किएका थिए

नेदरल्याण्डसका मुख्य खेलाडी आर्येन रोबेनलाई मेक्सिकोका कप्तान राफेल मार्क्विजले पेनाल्टी बक्सभित्र लडाएका कारण अन्तिम क्षणमा सो पेनाल्टी दिइएको थियो।

मेक्सिकोको लागि निकै दुखद बनेको उक्त खेल आफ्नो हातबाट कतिखेर चिप्लेको हो भन्ने खेलाडीहरुले बुझ्नै सकिरहेका थिएनन्।

खेल सकिएपछि उनीहरु लामो समयसम्म मैदानमा ढलेका थिए।

सफलता

कोस्टारिकाले ग्रिसलाई पेनाल्टी शुट आउटमा ३ का विरुद्ध ५ गोलले पराजित गरेको इतिहासमा पहिलो पटक क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

समूह चरणमा इटली, उरुग्वे र इग्लैण्डलाईपछि पारेर अगाडि वढेको मध्य अमेरिकी टोलीले सफलताको यात्रा जारी राखेको छ ।

तस्वीर कपीराइट AP
Image caption जितको हर्ष: ईतिहास रच्दै कोस्टारिका

कोस्टारिकाका खेल पत्रकार लियो सान्डीले बीबीसीसंग भने, "कोस्टारिकाको फुटबलको लागि यो निकै महत्वपुर्ण समय हो, हामीले इतिहास रचेका छौं।"

ओस्कार डर्टले रातोकार्ड पाएपछि झन्डै एक घण्टा १० खेलाडीको भरमा खेलेको कोस्टारिकाका लागि ब्रायन रुइजले खेलको ५२ ‌औं मिनेटमा गोल गरी कोस्टारिकालाई अग्रता दिलाएका थिए।

तर खेल सकिनै लाग्दाको इन्जुरी समयमा सोक्राटिस पापास्टाथोपोलुस गोल गरेपछि ग्रिसले निर्धारित समयको हार टारेको थियो।

बराबरीमा टुंगिएको खेल र थप समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउट पुगेको थियो।

पहिलो र पांचौं पेनाल्टी जोगाएका कोस्टारिकाका गोलरक्षक केलोर नाभास नायक बने भने कोस्टारिका पांचैजना खेलाडीले पेनाल्टी प्रहारमा गोल गर्न सफल भएका थिए।