एमाओवादी नेतृत्वको मोर्चा ‘दबाब’को पक्षमा

  • 30 जुन 2014
संविधानसभा
Image caption पछिल्लो कार्यकत एकताले संविधान निर्माणको प्रक्रियालाई थप चुनौतिपूर्ण बनाउनसक्ने चिन्ता कायमै छ

एकीकृत माओवादी सहितका पाँच दलको सोमबारको वैठकमा सहभागी नेताहरुका अनुसार परिवर्तनको पक्षमा संविधान निर्माण गर्न एकीकृत माओवादीले सदनबाट दबाब दिनेछ।

अन्य चार दलले चाहीं त्यस निम्ति सडकबाट दबाब बढाउने छन्।

त्यस निम्ति थप गृहकार्य अर्को साता हुने नेताहरुको भनाइ छ।

टुटफुट र विभाजन भोग्दै दोस्रो संविधानसभामा आफ्नो दलको उपस्थिति कमजोर भएपछि एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र खासगरी उनकै दलबाट अलग भएका दलहरुबीच गत साता मात्रै कार्यगत एकताको घोषणा भएको थियो।

‘परिवर्तनको पक्षमा’

सो कार्यगत एकता अब संविधान निर्माणलाई, उनीहरुकै शब्दमा, परिवर्तन र जनताको पक्षमा पार्नको निम्ति केन्द्रित गरिने भनाइ मोर्चाबन्दी गरेका दलहरुका नेताहरुबाट आएको छ।

सोमबारको वैठकपछि मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका नेता देव गुरुङले अर्को साता हुने गोष्ठीपछि दबाबका कार्यक्रमबारे थप प्रष्टता आउने बताए।

“सरोकारवालाहरुबीच गोष्ठी, सभा, अन्तरक्रिया गर्ने, सडकबाट दबाब सृजना गर्ने र सदनमा भएको दलले त्यहाँभित्र बाट दबाब सृजना गर्ने कुरा भएको छ।”

संविधान निर्माणको लागि सहमति जुटाउन सर्वपक्षीय सभाको आयोजना गर्नु पर्ने माग मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले राख्दै आएको थियो।

एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलका विचारमा नयाँ मोर्चाका कृयाकलापले संविधान निर्माणको निम्ति रचनात्मक भूमिका खेल्न सक्छ।

“पहिला ड्यास माओवादीकै सहभागीतामा थुप्रै विवादित विषयहरुमाथि सहमति भएकै हो, अब पनि सहमतिकै लागि पहलहरु गर्ने हो।”

संविधान निर्माणका विवादित विषयहरुमा सहमति जुटाउन संविधानसभाको संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको नेतृत्व एकीकृत माओवादीका नेता बाबुराम भट्टराई आफैंले गरेका छन्।

‘राष्ट्रिय सहमति’

सो समिति अन्तर्गतको एक उपसमितिले संविधान निर्माणका विवादित विषयहरुमाथि सहमति जुटाउन संविधान सभाबाहिर रहेका दलहरुसंग समेत संवादको प्रयास थालेको थियो।

तर नेकपा-माओवादीका नेता गुरुङले त्यो पहललाई आफूहरुबाट अस्वीकृत भैसकेकोले र संविधान निर्माणका अन्तरवस्तुमाथि राष्ट्रिय सहमति जुटाउन अब सबै पक्ष गम्भीर हुनु पर्ने आफ्नो दलको अडान दोहोर्याएका छन्।

कार्यगत एकता गर्ने पाँच दलमा एकीकृत माओवादी, वैद्य नेतृत्वको नेकपा माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, परि थापा नेतृत्वको नेकपा एकीकृत र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रहेका छन्।