इजरायली किशोरहरुको शव फेला: सेना

  • 1 जुलाई 2014
तस्वीर कपीराइट Reuters
Image caption इजरायली सैनिकहरुलाई हत्याराहरुको खोजीकार्यलाई तिव्रता दिएको छ

इजरायली सुरक्षा फौजले पदयात्राका क्रममा वेपत्ता भएका तीनजना किशोरहरुको शव फेला पारेको छ।

एकजना सैनिक प्रवक्ताका अनुसार उनीहरुको शव वेस्ट बैँङ्कस्थित हेब्रोन शहरको एउटा मैदानमा चट्टानको ढिस्को तल पाइएको थियो।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले प्यालेस्टिनी समूह हमास ती किशोरहरुको हत्यामा जिम्मेवार रहेको आरोप लगाएका छन्।

तर प्यालेस्टानी बिद्रोही समूहले सो आरोपको अस्वीकार गरेको छ।

आक्रोश

सोह्र वर्षका दुईजना र १९ बर्षका एक किशोर अन्तिम पटक घर फर्कन लागेको अवस्थामा हेब्रोन नजिककै एउटा चोकमा देखिएका थिए।

इजरायलको मन्त्रिपरिषदको सुरक्षा सम्बन्धी बैठकमा नेतन्याहूले जनावरहरुले पार्शविक रुपमा अपहरण गरेर उनीहरुको हत्या गरेको भन्दै हमासले त्यसको मूल्य चुकाउनुपर्ने बताए।

तर हमासका प्रवक्ताले आफ्नो आन्दोलनलाई दण्डित गर्ने कुनै पनि कदमले नर्कको बाटो खुल्ला गर्ने चेतावनी दिएका छन्।

एक जना हमासका नेताले भने, “इजरायाली वा प्यालेस्टिनी जसले क्षति भोगेपनि हामी ग्लानी महसुस गर्छौ र दुखी हुन्छौ, हामी यो स्थानमा शान्ति कायम भएको हेर्न चाहन्छौँ जसले गर्दा कुनै पनि आमा वा परिवार आफ्नो नजिकका अफन्तको मृत्युमा शोकाकुल हुनु नपरोस।”

यसअघि इजरायलको सुरक्षा निकाय सिन वेटले हत्यामा संलग्न भएको आशंका गरिएका दुईजना मानिसहरुको नाम सार्वजनिक गर्दै उनीहरु हमासका सदस्यहरु रहेको बताएको थियो।

हाल सो क्षेत्रमा फोरेन्शिक विज्ञहरु पुगेका छन् र आक्रमणमा संलग्नहरुको खोजी कार्य तीव्र पारिएको छ।

चिन्ता

राष्ट्रपति सिमोन पेरिसले देश पुरै शोकमा डुबेको भन्दै आपराधिक कार्यमा संलग्न आतंकवादीहरुलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका छन्।

प्यालिटिनी राष्ट्रपति महमुद अब्बासले किशोरहरुको निधनबारे छलफल गर्न देशका नेताहरुको अपतकालिन बैठक बोलाएका छन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको तर्फबाट व्हाइट हाउसले निर्दोष युवाहरुको हत्या गरिएको भन्दै भत्सर्ना गरेको छ र अस्थिरता निम्त्याउने कदम नचाल्न सबै पक्षलाई आग्रह गरेको छ।

भ्याटिकनस्थित पोप फ्रान्सिसका प्रवक्ताले किशोरहरुको हत्यालाई अमानविय र अस्वीकार्य अपराध भन्दै त्यो शान्तिको मार्गमा एउटा गम्भिर अवरोध रहेको बताएका छन्।

राष्ट्रसंघका महासचिव वान कि मूनले चुलिँदो तनाव रोक्न दुवै पक्षलाई अग्रह गरेका छन्।