दश वर्षमा २५ विमान: निगमको योजना

  • 1 जुलाई 2014
नेपाल वायुसेवा निगम
Image caption वितेका वर्षहरुमा निगम खुम्चँदै गएको भन्दै व्यापक आलोचनाको शिकार बनेको थियो

सन् २०२४ भित्र करीब ६० अर्ब रुपियाँ खर्च गरेर २५ वटा विमान सञ्चालनमा ल्याउने योजना नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको छ।

हाल निगमसंग जम्मा जम्मी ४ वटा विमान छ।

दुई वटा बोइंगले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन् भने एउटा ट्वीन अट्टर र एउटा एम ए सीक्स्टीआन्तरिक उडानमा छन्।

करीब दुई महिना अगाडि धूमधामका साथ चीनबाट ल्याइएको त्यही एम ए सीक्सटीपनि नियमित उडान थालेको केही दिनमै चरासंग ठोकिएका कारण सोमबारदेखि सञ्चालनमा छैन।

महत्वाकांक्षी

स्थापनाको ५६ औं वार्षिकोत्सव मनाउने क्रममा अधिकारीहरुले निगमको गएगुज्रेको हालतलाई सुधार्न एक महत्वाकांक्षी ठानिएको दश वर्षे योजना सार्वजनिक गरेका हुन्।

जस अनुसार आउने दश वर्षभित्र २१ वटा अरु जहाज थपेर निगमले कूल २५ वटा विमान सञ्चालन गर्नेछ।

ती मध्ये ९ वटा अन्तर्राष्ट्रिय क्षेत्रमा उडाइनेछ भने १६ वटा घरेलु उडानमा रहनेछन्।

ती सबै विमान किन्न निगमले ६० अर्ब रुपियाँ आवश्यक पर्ने हिसाब निकालेको छ।

केही वर्षको अन्तरालमा किनिने ती विमानको पैसा आधी निगमले ऋण खोजेर बेहोर्ने अनि आधी सरकारसंग माग्ने योजना छ।

निर्देशन

ती योजना सार्वजनिक भएसंगै सोमबार निगमको वार्षिकोत्सवमा बोल्ने क्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले निगमको सञ्चालक समितिलाई करीब २०० सीट क्षमताका न्यारो बडी दुई तथा करीब ३०० सीट क्षमताका वाइड बडी दुई गरी चार विमान किन्ने निर्णय गर्न निर्देशन दिए।

उनले भने, “चारवटा जहाज किन्ने तुरुन्तै निर्णय गरेर मन्त्रालय पठाउ भनेको छु। दुई हप्ताभित्रै त्यस्तो निर्णय गरिहाल्न भनेको छु।”

ती जहाज बाहेक यसै वर्षपनि एउटा एम ए सीक्सटी तथा ४ वटा वाइ ट्वेल्भ नामक चिनियाँ जहाज आन्तरिक उडानका निम्ति ल्याइँदैछन्।

अर्को वर्ष एयरबससंग किन्ने सम्झौता भएका दुई वटा न्यारो बडी जेट विमान आउनेछन्।

निगमले आफ्नो नयाँ योजना कार्यान्वयन गरेर सन् २०२४ भित्र आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै बजारको करीब एक तिहाई हिस्सा ओगट्ने लक्ष्य लिएको जनाएको छ।