'शव परीक्षण सकिएको छैन'

  • 2 जुलाई 2014
तस्वीर कपीराइट Reuters
Image caption इजरायली सुरक्षा अधिकारीहरुले मंगलबार राती भएको घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्

इजरायली प्रहरीले पूर्वी जेरुसलममा अपहरणपछि बुधबार हत्या गरिएका एकजना प्यालेस्टिनी किशोरको शव परीक्षण अझै नसकिएको जनाएका छन्।

मोहमद अबु खदेरका परिवारले उनको शव पाएमा बुधबार नै उनको अन्त्येष्ठि गर्न आफुहरुले तयारी गरेको बताए।

तीनजना इजारायली किशोरहरुको अपहरण पछि हत्या गरिए लगत्तै ती प्यालेस्टिनी किशोरको पनि अपहरण पछि हत्या गरिएको थियो।

प्यालेस्टिनी किशोर खदेरको अपहरण तथा हत्या पछि तनाव बढेको थियो।

प्रहार

इजरायली अधिकारीहरुले प्यालेस्टिनी उग्रवादीहरुले इजरायली भूभागमा दर्जनौं मोर्टार तथा रकेट प्रहार गरेको बताए।

त्यसको जवाफमा बिहीबार इजरायलले गाजामा गरेको हवाइ हमलामा दशजना प्यालेस्टिनीहरु घाइते भएको बताइएको छ।

एकजना इजरायली अधिकारीले उग्रवादीहरुको हातहतियार बनाउने कारखाना तथा प्रशिक्षण स्थललाई निशाना बनाइएको जनाए।

मोहमद अबु खदेरका पिताले आफ्नो छोराको शव आफुहरुले अझै नपाएको बताए।

उनले बुधबार इजरायली प्रहरीले आफुसंग झण्डै आठ घन्टासम्म सोधपुछ गरेको जनाए।

दबाब

उनले प्रहरीले उनलाई तीनजना इजरायली किशोरहरुको अपहरण तथा हत्याको बदला लिन उनको छोराको हत्या गरिएको हैन भन्न दबाब दिएको पनि बताए।

इजरायली प्रहरीले आफुहरुले त्यस्तो कुनै दबाब नदिएको बताएका छन्।

इजरायलकी न्याय मन्त्री जिपी लिभ्नीले भनिन्, “यी किशोरको बदला लिने उद्देश्यले हत्या गरिएको हो वा हैन भन्ने हामीलाई अझै थाहा छैन। हामी यसबारे छानबीन गरिरहेका छौं। जे सुकै होस्, उत्तेजना फैलाउने काम इजरायल राज्यको मान्यता र कानुन विपरित हो।“

पूर्वी जेरुसलममा मंगलबार राती प्यालेस्टाइनी किशोरको जलेको शव भेट्टिएपछि विरोधमा उत्रिएका प्यालेस्टाइनी युवाहरु र इजरायली दंगा प्रहरीबीच झडपहरु भएका थिए।

सत्र वर्षीय किशोर मोहम्मद अबु खदेरका परिवारले उनलाई नजिकैको मस्जिदमा प्रार्थना गर्न जान लागेको बेला एउटा कारमा जबरजस्ती हालेर लगिएको बताएका छन्।

हत्याको कारण यकीन नभएपनि हालै तीनजना इजरेली युवाहरुको अपहरणपछि हत्या गरिएको घटनाको बदलास्वरुप यो घटना गराइएको हुन सक्ने ठानिएको छ।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले ती किशोरको हत्याको भर्त्सना गरेका छन।

अमेरिकी विदेश मन्त्री जोन केरीले पनि एक वक्तव्य प्रकाशित गरी प्यालेस्टिनी किशोरको हत्याको निन्दा गरेका छन्।

आग्रह

केरीले, उनकै शब्दमा, यस्तो तनावपूर्ण र खतरनाक क्षणमा बदलाको भावना नलिइ संयम अपनाउन सबैलाई आग्रह गरे।

सो घटनाले क्रुद्ध बनेका प्यालेस्टाइनी युवाहरु ती मृत किशोरको घर नजिकै इजरेली दंगा प्रहरीविरुद्ध झडपमा उत्रिएका थिए।

उनको हत्या तीनजना यहुदी विद्यार्थीहरुको अपहरण र हत्या भए लगत्तै भएकोले यसलाई बदलाको कारवाहीको रुपमा प्यालेस्टाइनीहरुले हेरेका छन।

करीब अढाइ साताअघि अपहरित ती तीन इजरेली युवाहरुको शव सोमबार हेब्रोन शहर नजिकै भेटिएको थियो।

पछिल्ला घटनाक्रमले इजरायल तथा प्यालेस्टाइनबीच थप हिंसा चर्कन सक्ने आशंका गरिएको छ।