प्यालेस्टाइनी किशोरको अन्त्येष्टीमा हजारौंको सहभागिता

  • 4 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption किशोरको हत्याको विरोधमा प्यालेस्टाइनी समूहले इजरेलविरुद्ध चर्को नारा लगाइरहँदा जेरुसलेमको सुरक्षा व्यवस्था कडा पारिएको थियो।

यसैसाताको सुरुवातमा मारिएका एक जना किशोरको अन्त्येष्टिमा हजारौं प्यालेस्टाइनीले भाग लिएका छन्।

अन्त्येष्टिका क्रममा हिंसा भड्कन सक्ने आशंकामा इजरेलले पूर्वी जेरुसलेममा सुरक्षा व्यवस्था कडा पारेको छ।

तनावबीच प्यालेस्टाइनी समूह हमास र इजरेलबीच युद्धविराम भएको खबरहरु पनि आएका छन्।

प्यालेस्टाइनी किशोर महोम्मद अबु खाडेयरको अन्त्येष्टिमा सहभागीहरुले उनको शव पूर्वी जेरुसलेममा परिक्रमा गराउने क्रममा इजरेलविरुद्ध चर्को नारा लगाएका थिए।

विरोध

सहभागीहरुले उनको शवलाई प्यालेस्टाइनको झण्डा ओडाएर शहरभरि बोकेर हिंडेका थिए।

गत महिना मारिएका तीन जना इजरेली युवाको हत्याको बदलामा ती १६ वर्षे किशोरको अपहरण गरी हत्या गरिएको उनको परिवारले बताउंदै आएको छ।

इजरेली अधिकारीहरुले खाडेयरको शव शुक्रबारको नियमित इस्लामिक प्रार्थनापछि परिवारका सदस्यहरुलाई सुम्पिएका थिए।

उनको शव एकदमै जलेको र उनको परिवारले हिजो नै अन्त्येष्टि गर्न चाहेको बताइएको छ।

सुरक्षा

अन्त्येष्टिकै वरपर हिंसा भड्कन सक्ने आशंकामा इजरेलले पूर्वी जेरुसलेममा सुरक्षा व्यवस्था कडा तुल्याएको छ।

नकाबधारी प्यालेस्टाइनी प्रदर्शनकारी र इजरेली प्रहरीबीच किशोरको हत्याको विषयलाई लिएर पछिल्ला दुई दिन झडप समेत भएको थियो।

यसैबीच प्यालेस्टाइनी उग्रवादी समूह हमासले इजरेलले गाजा क्षेत्रमा जारी हवाइ हमला रोके आफूले रकेट आक्रमण स्थगन गर्ने प्रस्ताव गरेको छ।

इजिप्टका गुप्तचर अधिकारीहरुले उक्त सम्भावित युद्धविरामको सहजीकरण गरेको सूत्रहरुले बताएका छन्।