सिरियामा ‘४०० नेपाली कामदार’, कैयौं जोखिममा

  • 4 जुलाई 2014
भत्किएका घर तस्वीर कपीराइट Reuters
Image caption कायरोस्थित नेपाली दूतावासका अनुसार ४०० भन्दा बढी नेपाली घुमाउरो बाटो सिरिया पुगिसकेका छन्

इजिप्टको कायरोस्थित नेपाली दूतावासले बीबीसी नेपाली सेवालाई दिएको जानकारी अनुसार सिरियाको दमास्कस वरपरबाट मुख्यगरी नेपाली महिला कामदारहरुले आफूहरुलाई यथासक्य छिटो उद्धार गरिदिन अनुरोध गर्ने क्रम बढेको छ।

नेपाली नागरिकहरुको लागि सिरिया वैदेशिक रोजगारीको निम्ति खुल्ला छैन।

तर कायरोस्थित दूतावासका अनुसार ४०० भन्दा बढी नेपाली कामदारहरु घुमाउरो बाटो सिरिया पुगिसकेका छन्।

कायरोस्थित नेपाली दूतावासका अनुसार सन् २०१० बाट नेपालीहरु खासगरी घरेलु महिला कामदारको रुपमा काम गर्न सिरिया प्रवेश गर्न थालेका हुन्।

त्यो क्रम विगत केही महिनायता ह्वात्तै बढेको दूतावासको भनाइ छ।

त्यहाँ विद्रोही र सरकारी फौजबीच द्वन्द्व चर्किदै गएपछि उद्धारका लागि दूतावासको सहयोग माग्नेहरुको संख्या पनि बढिरहेको बताइएको छ।

आपतमा परेकाहरुलाई सहयोग गर्ने चाँजोपाँजो मिलाउने गरिएको दूतावासको भनाइ छ।

‘खतरा’

तर केही दिनअघि दमास्कस नजिकैबाट सुरक्षित स्थलको खोजी गर्दै अर्को शहर पुगेकी दोलखा खह्रिढुंगाकी मन्जु श्रेष्ठले द्वन्द्व र घरमालिकहरुको दुर्व्यवहारका कारण आफू अहिले निकै अप्ठ्यारोमा परेको शुक्रबार साँझ बीबीसीलाई बताइन्।

“यहाँ त एकदम खतरा छ, छिन् छिनमा गोली, बम पड्किन्छ। मलाई त आफ्नो ज्यान जोगाउनै गाह्रो भयो। त्यसैले म आफ्नो देश फर्किन चाहन्छु,” श्रेष्ठले भनिन्।

मासिक ४० हजार रुपैंयाँ भन्दा बढी तलब र अन्य सुविधा पाइने प्रलोभनमा पारिएकी उनी गत फाल्गुनमा दुबईहुँदै दमास्कस पुगेकी थिइन्।

“यहाँ आएपछि मलाई त ३० हजार मात्र दिइयो र काम गर्ने वातावरण पनि राम्रो रहेनछ।”

कायरोस्थित दूतावासका अनुसार केही सातायता दुई जना नेपाली कामदारको उद्धार भइसकेको छ।

आत्महत्या गरेकी भनिएकी एक महिलाको शव छ महिनादेखि दमास्कसस्थित अस्पतालमै रहेको छ।

चिन्ता

सिरिया र इराकमा सक्रिय इस्लामिक स्टेट इन इराक एण्ड सिरिया अर्थात आइएसआइएस् भनिने इस्लामवादी विद्रोही समूहले इराकमा आफ्नो पकड जमाउन थालेको छ।

सोही समूह सिरियाको एक प्रमुख विपक्षी विद्रोही समूहको रुपमा रहेको छ।

त्यस क्षेत्रमा चर्किदो द्वन्द्वका कारण घुमाउरो बाटो इराक र सिरिया पुगेका नेपाली कामदारहरुबारे चिन्ता बढेको हो।