स्लोभियान्स्क युक्रेनी सेनाको नियन्त्रणमा

  • 5 जुलाई 2014
तस्वीर कपीराइट AFP
Image caption युक्रेनी सेनाले स्लोभियान्स्कमाथि पुनः कब्जा जमाउनु ठूलो उपलब्धी भएको बताइएको छ

युक्रेनमा सरकारी सेनाको ठूलो स्तरको कारवाहीपछि रुस समर्थक पृथकतावादीहरु आफ्नो नियन्त्रण रहेको पूर्वी शहर स्लोभियान्स्कबाट पछि हटेका छन्।

युक्रेनी रक्षामन्त्रीले नगर परिषद्को भवनमाथि राष्ट्रिय झण्डा फहराइएको बताएका छन्।

गत अप्रिलमा शुरु भएको विद्रोहपछि उक्त शहरमाथि सेनाले पुनः नियन्त्रण कायम गर्नु कियेभका लागि ठूलो उपलब्धि भएको ठानिएको छ।

विजय

त्यहाँ रहेका बीबीसीका संवाददाताले युक्रेनका लागि यो एउटा ठूलो विजय भएपनि अवस्था अझै तरल रहेको बताएका छन्।

त्यस्तै आशय व्यक्त गर्दै सेनाका एक जना प्रवक्ताले भने, ''अवस्था के छ भन्दाखेरि स्लोभियान्स्क अहिले हाम्रो नियन्त्रणमा छ। सर्वसाधारणका घरहरुमा लुकेर बसिरहेका साना समूहमा रहेका लडाकुहरु विरुद्ध कारवाही जारी छ। राष्ट्रपतिबाट हामीलाई अह्राइएको प्रमुख कार्य नागरिकहरुको सुरक्षा सुनिश्चित गर्नु हो। यसकारण कारवाही एकदमै जटिल छ।''

युक्रेनी रक्षामन्त्री भेलिरी हेलेटिले नगर परिषद्को भवनमाथि अहिले युक्रेनको राष्ट्रिय झण्डा फहराईरहेको बताएका छन्।

पृथकतावादी नेताहरुले पनि ठूलो संख्यामा रहेका सेनाका कारण लडाकुहरु अर्को स्थानमा सरेको बताएका छन्।

कारवाही

समाचार संस्था एएफपीसँग कुरा गर्दै विद्रोही समर्थित स्लोभियान्स्कका मेयर भ्लादिमिर पेभलेन्कोले लडाकुहरु शहर छोडेर भागेको पुष्टि गरेका छन्।

दश दिने युद्धविराम भंग भएपछि युक्रेनी सेनाले यसैसाता विद्रोहीहरु विरुद्ध कारवाही थालेको थियो।

युद्धविराम ब्युताउनका निम्ति युक्रेनमाथि कुटनीतिक दबाब तीव्र पारिएको बताइएको छ।

युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले भने युद्धविराममा फर्किन तयार रहेको बताएपनि त्यसको दुवै पक्षबाट अनुगमन हुनुपर्ने र बन्दी बनाइएकाहरुलाई रिहा गरिनुपर्ने बताएका छन्।