पाँच करोडको मागले बजेट ठूलो हुने चिन्ता

  • 6 जुलाई 2014
Image caption प्रत्येक क्षेत्रमा पाँच करोड रकम विनियोजन नगरे बजेट पारित हुन नदिने कयौं सभासदले चेतावनी दिएका छन्

प्रत्येक निर्वाचन क्षेत्रका निम्ति पाँच करोड रुपैयां विनियोजन गर्दा बजेट ठूलो आकारको हुने भन्दै अर्थमन्त्री रामशरण महतले चिन्ता व्यक्त गरेका छन्।

सो रकम विनियोजन गर्ने सभासद्हरुको आग्रहप्रति यसअघि उनी असन्तुष्ट जस्तो देखिका थिए।

दलहरुबाटै संस्थागत रुपमा उक्त माग आउन थालेपछि त्यसलाई बजेटमा कसरी व्यवस्थापन गर्ने विषयले आफूलाई चिन्तित तुल्याएको अर्थमन्त्री महतको भनाई छ।

ढुकुटीमा भार

उनी भन्छन्, "हिंजो कल्पना गरिएको थिएन्, त्यसैले यसले बजेटको आकार निश्चय नै बढाउँछ, अन्य शिर्षकलाई पनि प्रभावित पार्छ, यसलाई कसरी सम्बोधन गर्ने त्यो अर्थमन्त्रीको चासो र चिन्ताको विषय हो।"

शनिबारमात्रै उनको आफ्नै पार्टी नेपाली कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयां विनियोजनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।

यसरी २४० निर्वाचन क्षेत्रमा रकम दिने हो भने राज्यको ढुकुटीबाट १२ अर्ब रुपैयां जानेछ।

अहिले बजेटको चटारोमा रहेका अर्थमन्त्री रामशरण महतलाई उक्त प्रस्तावले बजेटमा असर पार्ने चिन्ताले सताएको प्रष्ट झल्कन्छ।

विकल्प

त्यसलाई व्यवस्थापन गर्ने विकल्पबारे छलफल भइरहेको जनाउंदै उनले भने, "भएका कार्यक्रमहरु काट्ने कि, राजश्व कसरी उठाउने भन्ने चिन्ताको विषय हो, तर पनि कुनै न कुनै उपाए निकाल्छौं।"

तर त्यस्ता उपाय निकाल्न, यदि सरकारको अहिलेको तयारीलाई आधार मान्ने हो भने, अर्थमन्त्रीसंग थोरैमात्रै समय छ।

किनकी उनका अनुसार आर्थिक सर्वेक्षण यही २६ गते र बजेट २७ वा २८ गते ल्याउने सरकारको तयारी छ।