पूर्व सोभियत विदेशमन्त्री सेबर्दनाद्जेको निधन

  • 7 जुलाई 2014
तस्वीर कपीराइट none
Image caption उनलाई सन् २००३ मा जोर्जियाको राष्ट्रपति पदबाट 'रोज रिभोल्यूसन' मार्फत अपदस्थ गरिएको थियो

जोर्जियाका पूर्व राष्ट्रपति तथा पूर्व सोभियत संघका विदेश मन्त्री एडवर्ड शेबर्दनाद्जेको ८६ वर्षको उमेरमा निधन भएको छ।

सोभियत संघ टुक्रिनु अघि शेबर्दनाद्जे त्यहाँका अन्तिम विदेश मन्त्री थिए।

राष्ट्रपति गोर्वाचेभ अनि विदेशमन्त्री उनी भएका पालामा पश्चिमा जगतसंग सम्बन्ध सुधार थालिएको थियो।

त्यसपछि उनी जोर्जियामा राष्ट्रपति हुन पुगे।

शेबर्दनाद्जेलाई मिखाइल गोर्वाचेभले सन् १९८५ मा सोभियत संघको विदेश मन्त्री नबनाउँदासम्म उनी जोर्जियाबाहिर अपरिचित थिए।

उनले अस्त्र सम्झौतामा खेलेको नेतृत्वदायी भूमिकाका कारण आणविक युद्धको खतरा निकै हदसम्म घटेको थियो।

तर पछि उनी आफ्नो गृह राज्य जोर्जियाका राष्ट्रपति बनेपछि त्यहाँ उनलाई भ्रष्टाचारको अभियोगमा सत्ताबाट निकालिएको थियो।

सदस्यता

शेबर्दनाद्जे सन् १९२८ जनेवरीमा सोभियत संघको अर्मेनिया, अजरबैजान र जोर्जिया समेटिएको ट्रान्स ककेसियन सोभियत फेडेरेटिभ सोसलिस्ट रिपब्लिकको लान्चखुटि भन्ने शहरमा जन्मिएका थिए।

उनका बाबु एक शिक्षक र प्रतिबद्ध कम्युनिष्ट थिए भन्ने कुरा उनलाई उनकी आमाले बताएकी थिइनन्।

उनी सधैँ बाबु, छोरालाई राजनीतिक गतिविधिबाट बाहिर राख्न चाहन्थिन्।

उनले सन् १९४६ को युवा आन्दोलनताका कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।

त्यहाँबाट नेतृत्वमा अघि बढ्दै गएका उनी १९७२ मा जोर्जियामा पार्टीको नेता बने।

सन् १९७० ताका उनले कर्मचारीतन्त्रविरुद्ध लडेका थिए र खुल्ला बजारको अवधारणा ल्याएका थिए।

उनले कम्यूनिष्ट पार्टीभित्र भ्रष्टाचारलाई निर्मूल पार्न सयौं कर्मचारीले लिँदै आएको आरामदायी गाडी, सुविधायुक्त घरमाथि बन्देज लगाएका थिए।

१९८५ देखि १९९० सम्म उनी सोभियत संघको विदेश मन्त्री हुँदा शीतयुद्धको राप कमजोर हुँदै गएका बखत उनले विदेश नीतिलाइ परिवर्तन गर्न चाहेका थिए।

बीबीसीका संवाददाता पाउल हेन उनको जीवनबारे टिप्पणी गर्दै भन्छन्, 'एडवर्ड शेबर्दनाद्जेको राजनीतिक जीवन विराधाभाषले पूर्ण छ। उनी सोभियत व्यवस्थाकै उत्पादन हुन्। तर त्यही व्यवस्था ध्वस्त पार्न उनले महत्वपूर्ण भूमिका खेले। उनी सोभियत संघका विदेश मन्त्री बनाइए। तर उनैले केही यस्ता नीति अख्तियार गरे जसले शीत युद्ध अन्त गरिदियो।’

नाटकीय रुपमा उनले १९९० मा दिएको राजीनामाप्रति गोर्वाचेभले पनि अचम्म मानेका थिए।

प्रभाव

त्यसको ८ महिनापछि मस्कोमा सत्ता विद्रोह गर्न प्रयास गरिएपछि उनको आशंका अन्तत: सही सावित भएको थियो।

केही दिनमै कु विफल भएपछि उनी फेरि एक महिनाका लागि अहिले विघटन भइसकेको सोभियत संघको विदेश मन्त्री भएका थिए।

उनको आफ्नै देश जोर्जिया पनि हिँसाको चपेटामा परेको थियो।

गृहयुद्ध र आर्थिक मन्दीले त्यहाँ खाना र तेलको अभाव बढ्न थालेको थियो।

उनले त्यतिबेलाको गृहयुद्धको नाममा भएको दमनलाई व्यवस्थित गर्न खोजेका थिए, तर देश भने अस्थिर नै रह्यो।

सन् १९९५ मा भएको एक हत्या योजनाबाट बाँचेका उनी त्यसपछि जोर्जियाको निर्वाचित राष्ट्रपति बनेका थिए।

तर भ्रष्टाचारका आरोपहरुमाझ उनलाई आन्दोलन मार्फत सन् २००३ मा सत्ताबाट अपदस्थ गरियो।

उनी विषयहरुलाई सहज ढंगले हेर्ने व्यक्तित्वका रुपमा परिचित थिए।

उनले अन्तर्राष्ट्रिय रुपमा बनाएको व्यक्तित्वले उनलाई जोर्जियाको राष्ट्रपति बनाएको थियो।

शीत युद्ध अन्त गर्न, मध्य युरोपलाई मुक्त गर्न र जर्मनीलाई पुन: एकीकरण गर्न मद्दत पु-याएको भनेर शेबर्दनाद्जेलाई सम्झिइन्छ।