सुनको जालो

  • 8 जुलाई 2014
सुन तस्वीर कपीराइट bbc
Image caption बांग्लादेशमा सुन तश्करहरुको सञ्जाल बढ्दै गएको अधिकारीहरु बताउंछन्

भारतमा बढेको मागका कारण दक्षिण एसियामा सुनको अवैध धन्दा मौलाएको देखिएको छ।

देशको चालु खातामा भएको घाटासंग जुध्न गएको वर्ष भारतले विदेशी मुद्राको खर्च कटौती गर्न सुनको आयातमा कडाइ गरेपछि दैनिक सात सय किलो परिमाणको सुन भारतमा गैरकानूनी रुपमा भित्रिन थालेको छ।

तस्करी बढेपछी भारतको नयाँ सरकारले सुनको आयातमा गरीएको कडाइ खुकुलो बनाउने तयारी गरिरहेको बताइन्छ।

चमक

भारतको राजधानी दिल्लीको मुटुमा रहेको चाँदनी चोक एउटा व्यस्त बजार हो जहाँ विवाहको समान खरिद गर्न चाहनेहरु सुन किन्न झुम्मिन्छन्।

यहाँ पाइने सुनका गरगहना सबैभन्दा लोकप्रिय छन् र निक्कै धेरै विक्रि हुन्छन्।

आफ्नो छोरीको विहेका लागि गरगहना किन्न आएकी सोनिया चोपडा भन्छिन् गहनाहरुको आदान प्रदान एउटा परम्परा र शुभकार्य हो।

“यो भारतीय परम्पराको अभिन्न अंग हो। विवाह, जन्मदिन लगायत अन्य समारोहमा सुन नै दिनुपर्छ। गरगहना महिलाहरुको पहिलो रोजाई हो,” उनले भनिन्।

विवाहमा सुन दिने चलन भारतमा वर्षौ देखि छ र सुनको मूल्य निरन्तर बढिरहे पनि निक्कै कम मानिस उनीभन्दा फरक धारणा राख्छन्।

धेरै वर्ष अघि देखि भारतीयहरुले सम्पत्ति सुरक्षित हुने विश्वासमा सुन जम्मा गरेर राख्दै आएका छन्।

चाँदनी चोकमा गरगहनाको पसल चलाउने प्रदिप गुप्ता भन्छन्,सुनको आयातमा भन्सार दर बढेपनि यसको विक्री निरन्तर उकालो लागिरहेको छ।

तस्वीर कपीराइट bbc
Image caption नेपाल र भारतबीच रहेको खुला सीमाको फाइदा सुन तश्करहरुले पनि उठाउने गरेको बताइन्छ

“सुनको ठूलो हिस्सा छिमेकी मुलुकहरुबाट अवैध रुपमा भित्रिन्छ। सरकारले सुनको आयात घटाउन भन्सार दर बढाएको छ तर मानिसहरु र व्यापारीहरु सुनको गैरकानुनी श्रोतसम्म पुगेका छन्,” गुप्ताले भने।

तश्करीको जञ्जाल

भारतको सुन विक्रेता संघका अनुसार दैनिक सात सय किलो सुन अवैध रुपमा भारत भित्रिने गरेको छ र त्यो बढ्दो रुपमा छिमेकी देशहरुको चासो बन्दैछ।

ढाका विमानस्थलको भन्सारमा बाहिरबाट ल्याइएका सुन प्रष्टै बढेको देखिन्छ।

तर त्यहाँको भन्सार विभागका कमिसनर होसेन अहमद भन्छन् त्यो देशभित्रको उपभोगको लागि हुँदैन। ‍ बंगलादेशको भारतसँग लामो र फितलो सुरक्षा भएको सिमानाका कारण सुन तश्करहरुको सञ्जाल बढ्दै गएको अधिकारीहरु बताउँछन्।

उसो भए कसले यस्तो सञ्जाल चलाइरहेका छन्?

बीबीसी बांग्लासँग कुरा गरेका एक जना तश्कर यस्तो जवाफ दिन्छन्, “हामीले हाम्रो नाइके देख्न पाउँदैनौँ। हामी जसलाई सुन पुर्याउनुपर्छ उसलाई मात्रै चिन्छौँ। ढाकामा बस्ने ठूला व्यापारीहरु यो धन्दा चलाउँछन्। पैसाको थुप्रोमा बसेर उनीहरु सुनको अवैध व्यापारमा लगानी गरिरहेका छन्। प्रत्येक पल्ट लगानीकर्ताले नाफाको ५० प्रतिशत लैजान्छ र बाँकी हामी बाँडछौँ।”

भारतको उत्तरी छिमेकी नेपालमा पनि यस्तै तश्करहरुको धन्दा मौलाएको छ। नेपाल र चीनबीचको मुख्य भन्सार नाकामा खानतलासी गर्न अत्यावश्यक उपकरणको अभावकाबीच प्रहरीहरु बढदो सुन तश्करी नियन्त्रण गर्न संघर्ष गरिरहेका छन्।

उक्त महंगो पहेंलो धातु भित्र्याउन तश्करहरुले पनि सबै उपाय अपनाएका छन्।

तस्वीर कपीराइट bbc
Image caption मूल्य वृद्धि भएपनि भारतीय ग्राहकहरु माझ सुनले आफ्नो परम्परागत चमक भने गुमाएको छैन

अधिकारीहरुले बीबीसी नेपाली सेवालाई दिएको जानकारी अनुसार उनीहरुले सुनलाई धूलो बनाएर खाने तेलमा मिसाउने,चिस्याइएका भाँडोहरुमा लुकाउने र डोरीको सहायताले घिर्नीमा झुन्डाएर राती राती सीमा नदीबाट तार्ने गरेका छन्। नेपालको सीमा छिरिसकेपछी ती अधिकांश सुन लामो र खुल्ला सीमा पार गर्दै भारत पुग्ने गरेको छ।

दक्षिण तिरको श्रीलंकाको टापूमा गएको वर्ष झन्डै एक सय जनालाई सुन तश्करी गरेको आरोपमा पक्राउ गरिएको भन्सारका अधिकारीहरुले बताएका छन्।

श्रीलंकाली भन्सारको कानून विभागका निर्देशक लेस्ले गामिनी भन्छन् खाडी र अन्य देशहरुबाट मुख्य गरी हवाई मार्गबाट भित्रिने सुन भारततर्फ तस्करी गरिन्छ।

“हामीले चेन्नाइ, दिल्ली र मुम्बई जाने यात्रुहरुको चेकजाँच कडा पारेका छौँ। जाँचबुझका लागी हामीसँग एकदमै सुविधा सम्पन्न सामानहरु छैनन्। हामीसँग धातु पत्ता लगाउने मेटल डिटेक्टर छ। कर्मचारीहरुले आफ्नो अनुभवको आधारमा सम्भावित तश्करहरु समाइरहेका छन्,” उनले भने।

भारत र उसका छिमेकी देशका भन्सार अधिकारीकाबीचमा केही कमचलाउ सहकार्य भएपनि बढ्दो तस्करी रोक्न कुनै उच्चस्तरीय संयन्त्र छैन।

तर चाँदनी चोकजस्ता बजारमा भने सुन के कसरी आइपुग्यो भन्नेबारे अधिकांश मानिसहरुलाई मतलब भए जस्तो देखिंदैन।

मानिसहरु सुनका लागि यति व्यग्र छन् कि त्यसमा चाहे कुनै प्रतिबन्ध लागोस् या नलागोस् बत्तीमा पुतली झुमिएजस्तै सुनले उनीहरुलाई तानीरहनेछ।

(बीबीसी हिन्दीका तुसार बनर्जीले तयार पारेको यो प्याकेजका लागि बीबीसी नेपालीकी रमा पराजुली, बीबीसी बांग्लाका अहरार होसेन, तथा बीबीसी सिंहालाका अजाम अमीनले सहयोग गरेका थिए।)