एमाले महाधिवेशन लम्बिने

  • 8 जुलाई 2014
Image caption बुधबार सकिने भनिएको एमाले महाधिवेशन कहिले टुंगो लाग्ने भनी नेताहरुले बताएका छैनन्

नेकपा एमालेको नवौं महाधिवेशन उनीहरुकै कार्यतालिका अनुसार बुधबारसम्ममा समापन हुनुपर्ने भए पनि अहिलेसम्म विधान संशोधनकै विषय टुंगो लाग्न नसक्दा महाधिवेशन केही दिन अरु लम्बिने भएको छ।

अध्यक्षका दुई दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले भने विधान संशोधनको विषय टुंगो नलाग्दा प्यानल बनाउन सकेका छैनन्।

अध्यक्ष झलनाथ खनालले गत शुक्रबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि १९ वटा छुट्टाछुट्टै समूहले छलफल गरेपछि मंगलबार केही सुझाव सहित उक्त प्रतिवेदन पारित भएको छ।

उक्त प्रतिवेदनले नेतृत्व हस्तान्तरणको विषय उठाएको ओली निकट मानिने नेता प्रदीप ज्ञवालीले बताएका छन्।

अलमल

राजनीतिक प्रतिवेदन पारित हुनु अघि दुबै दलका नेताहरुले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्नो प्यानलले जित्ने दाबी सहित बुधबारबाट निर्वाचन प्रकृया सुरु हुने बताएका छन्।

रोबट उडाएर कार्यक्रम सुरु गरेको नेकपा एमालेले सुरुदेखि नै विद्युतिय मतदान गर्ने भनेर प्रचारवाजी गर्दै आए पनि अन्तत: मतपेटिका मार्फत नै चुनाव गर्ने सम्भावना बढेको उनीहरुले बताएका छन्।

ज्ञवालीले अब लगभग विद्युतिय मेसिनबाट भोट गर्ने कुरा टरेको बताएका हुन्।

अध्यक्ष खनालले नेपाललाई समर्थन गर्ने भन्ने विषय सञ्चारमाध्यममा आइरहेको भए पनि उनले भने त्यो कुरालाई अस्वीकार गरेका छन्।

प्रचारप्रसार

उनले भने, "मैले कसैको पनि समर्थन गरेको छैन। म त अझै पनि सहमतिबाट नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा छु। तर केही साथीहरुले माधव नेपालको पक्षमा जान्छु भन्नु भयो, मैले तपाइको इच्छा गर्नुस् भनेँ।"

अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनले अब नेतृत्व हस्तान्तरण हुनुपर्ने उल्लेख गरेको नेता ज्ञवालीले बताएका छन्।

तर नेतृत्व हस्तान्तरणको विषय उठिरहँदा दुबै पक्षका युवा प्रतिनिधिहरु चाहिँ सडकमा आआफ्नो पक्षका नेताबारे प्रचारप्रसारमा जुट्न थालिसकेका छन्।