ब्राजील विश्वकपको सन्देश

  • 11 जुलाई 2014
तस्वीर कपीराइट Getty
Image caption विश्वकपको फाइनलमा आइतवार जर्मनी र अर्जेन्टिना भिड्दैछन्

विश्वकप फुटबलको चर्चा संसारका सबै कुना काप्चामा आ-आफ्नै ढंगले भैरहेका छन्। फुटबलको महामेलाले विश्वकप उचाल्ने शक्ति राष्ट्रदेखि विश्वकप खेल्ने सपना देख्ने नेपाल जस्ता साना राष्ट्रसम्म तरंग ल्याएको छ। विश्वकपसँग नेपालको सन्दर्भ जोडेर खेल पत्रकार राजु सिलवालको विश्लेषण:

अहिलेसम्म भएका ६२ वटा खेलहरुमा वरियतामा अग्रपङ्तिमा रहेका टिमहरुले पनि हार ब्यहोरेको तथा तल रहेका टिमहरुले पनि गरेको चुनौतीपूर्ण प्रदर्शनबाट सहभागी सबै टिमहरु उतिक्कै दाबेदार भएको पुष्टी भएको छ।

विश्वकपको पूर्व विजेता स्पेन र ईंगल्याण्ड लिगबाटै बाहिरिनु, पांचपटकको विश्व विजेता ब्राजील जर्मनीसँग एक गोलका विरुद्ध सात गोलको अन्तरले हालसम्मकै लज्जाजनक रुपमा पराजीत हुनु यसका उदाहरण हुन्।

विश्वकप फुटबल प्रतियोगितामा खेलको गति विगतको तुलनामा बढ्दै गएको महसुस गरिएको छ।

द्रुत

निक्कै छिटो गतिमा संचालन भैरहेका खेलहरुमा मैदानमा उत्रने ११ जना खेलाडीहरु आफूलाई दिइएको क्षेत्र बाहेक अग्रपंक्ति वा रक्षापंक्ति मैदानको सबै क्षेत्रमा भ्याउन सक्षम देखिएका छन्।

प्राविधिक तथा शैलीका दृष्टिकोणले पनि खेलाडीहरु परिस्कृत हुँदैँ गैरहेको देखिएको छ।

यसपाली सहभागी ३२ वटै मुलुकका टिमहरुले ‘प्ले टु विन’ अर्थात जित्नको लागी खेल्ने लक्ष्य राखेर दर्शकहरुलाई छाप छोडेका छन्।

विश्वकपमा गोलको बर्षा नै भएको छ, सेमिफाइनल खेलसम्म १ सय ६७ वटा गोल भैसकेका छन्।

रेफ्रीको निर्णय सम्बन्धी विवादपनि विगतको तुलनामा कम हुंदै गएका छन्।

गोललाईन प्रविधिको प्रयोगले रेफ्रीको निर्णय न्यायोचित बन्न सघाउ पुगेको छ।

यसपाली गोलरक्षकहरुले पनि खतरनाक प्रहार रोकेर कयौं गोल बचाएका छन्।

दोस्रो सेमीफाइनलमा सर्जियो रोमेरोले ट्राइब्रेकरमा दुइ वटा पेनाल्टी रोकेर अर्जेन्टिनालाई २४ बर्षपछि विश्वकप फाइनलमा पुर्याएका छन्।

तस्वीर कपीराइट Reuters
Image caption मैदानमा नेईमारको अनुपस्थितिले ब्राजीललाई ठूलो घाटा भयो

यसपाली खेलाडीहरुबाट ‘फल’ भने भैरहेका छन् जसको पछिल्लो शिकार ब्राजीलका स्ट्राईकर नेईमार बन्न पुगे।

सन्देश

विश्वकपको १३ औं संस्करणदेखि छनौट खेलमा खेल्न सुरु गरेको नेपालले विश्वकपबाट सिक्नुपर्ने पाठहरुमा सम्पूर्ण फुटबल कसरी खेल्ने भन्ने महत्वपूर्ण रहेको छ।

विपक्षी टिमको रणनिति, खेलशैली र संरचनालाई खेल भैरहेकै बेला आंकलन गर्न सकेमात्र खेल विजयतिर उन्मुख हुने पाठ पनि विश्वकपबाट नेपाली खेलाडीहरुले सिक्न सक्छन्।

तस्वीर कपीराइट AFP
Image caption जर्मनीले ब्राजील विश्वकपमा गोलको बर्षा गरीरहेको छ

साथै खेलाडीहरुले आत्मकेन्द्रीत नभई स्वार्थी खेल नखेली टिमको भावना अनुरुप खेल्न सके जित्न सकिने जर्मनी, अर्जेन्टिना र नेदरल्याण्डसका खेलाडीहरुले उदाहरण प्रस्तुत गरेका छन्।

ब्राजीलले १२ वटा रंगशालामा विश्वकपका खेलहरु संञ्चालन गरिरहेको छ।

सन् १९७१ मै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको सदस्य भैसकेको नेपालमा लामो समयदेखि जुनसुकै प्रतियोगिताको लागि पनि दशरथ रंगशालामा नै निर्भर रहनुपर्ने बाध्यता विद्यमान छ।

हाल नेपाल पनि पुरै विश्वकपमय भैरहेको वर्तमान अवस्थामा सरकारले भोलीका दिनमा विश्वकप जस्ता ठूला प्रतियोगितामा नेपालको ढोका खोल्न आधुनिक प्रविधियुक्त रंगशाला बनाउन उच्च प्राथमिकता दिनुपर्ने देखिएको छ।