'गाजामा मारिनेहरुको संख्या एक सय'

  • 11 जुलाई 2014
गाजामा हमला तस्वीर कपीराइट AFP
Image caption प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मारिनेहरुमा धेरै महिला तथा केटाकेटीहरु भएको जनाएको छ

गाजामा भएको इजरायली हवाइ हमलामा मारिनेहरुको संख्या एक सय पुगेको प्यालेस्टिनी सूत्रहरुले बताएका छन्।

इजरायलले गाजामा सैनिक योद्धा तथा उनीहरुका केन्द्रहरुलाई निशाना बनाएको बताएको छ तर प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मारिनेहरुमा धेरै महिला तथा केटाकेटीहरु भएको जनाएको छ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका एकजना प्रवक्ताले पछिल्लो हमलामा बुरियज क्षेत्रमा मोटर चलाइरहेका दुईजना पुरुषहरु मारिएको बताए।

मानवीय सहायताकालागि राष्ट्रसंघीय उपमहासचिव बेरोनेस भेलरी एमोले भनिन्, "गाजामा पहिले नै खाद्यान्न र औषधिको आवश्यकता थियो। यो द्वन्द्वले अवस्थालाई झन् खराब बनाइ दिएको छ। युद्ध विराम गर्नु आवश्यक छ किनभने सँधै सर्वसाधारण नै लडाईंको चपेटामा पर्छन्।"

प्रहार

यो द्वन्द्वमा पहिलो पटक लेबनानबाट पनि उत्तरी इजरायलमा रकेटहरु प्रहार गरिएका थिए।

प्यालेस्टिनी विदेश मन्त्री रियाद अल मलिकीले इजरायलले हिंसात्मक अभियान जारी राखेमा अझ धेरै ज्यान जाने बताए।

इजरायलको असदादस्थित एउटा पेट्रोल स्टेशनमा रकेट प्रहार हुँदा तीन जना घाइते भएको इजरायली अधिकारीहरुले बताएका छन्। गाजामा स्थल कार्यवाही हुने अनुमानमाझ इजरायलले करीब बीस हजार जगेडा सैनिकलाई परिचालन गरेको छ।

प्यालेस्टिनी रकेट प्रहारबाट अहिलेसम्म इजरायलमा कसैको ज्यान गएको छैन।

यसैबीच अमेरिकी राष्ट्पति बराक ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुलाई फोन गरी जारी द्वन्द्व अन्त्य गर्न र नोभेम्बर २०१२ मा भएको युद्ध विराम संझौतामा फर्कन मध्यस्थता गर्न अमेरिका तयार रहेको बताए।

भूतपूर्व ब्रिटिश प्रधानमन्त्री तथा मध्यपूर्वकालागि शान्ति दूत टोनी ब्लेयरले भने, “यो हिंसा र द्वन्द्वको मूलमा रहेको दीर्घकालिन प्रश्नलाई संबोधन गर्न आवश्यक छ।”

पक्राउ

यसअघि इजरायली अधिकारीहरुले गत साता एकजना प्यालेस्टिनी किशोर मोहम्मद अबु खदेरको हत्यामा संलग्न रहेको आशंकामा कैयौं सन्दिग्ध यहुदीहरुलाई पक्राउ गरेका थिए।

गत महिना तीनजना इजरायली किशोरहरुको अपहरण तथा हत्याको बदला लिन यहुदी उग्रवादीहरुले ती प्यालेस्टिनी किशोरको हत्या गरेको हुनसक्ने आशंका गरिएको थियो।

इजरायलले इजरायली किशोरहरुको अपहरण तथा हत्याकालागि प्यालेस्टिनी उग्रवादी समूह हमासमाथि दोष लगाएको थियो।

तर हमासले ती आरोपहरुको खण्डन गर्दै आएको छ।

पछिल्ला घटनाहरुले दुबै पक्षबीच तनाव बढाइदिएको छ।