'थन्किएको विमान शनिवारदेखि उडाउने तयारी'

  • 11 जुलाई 2014
तस्वीर कपीराइट .
Image caption यसै बर्षभित्र थप छवटा चिनियाँ जहाज ल्याउने निगमको तयारी छ

अवतरणका क्रममा चरा ठोक्किएपछि दश दिनदेखि विराटनगरमा थन्किएको नेपाल वायु सेवा निगमको जहाज शनिवारदेखि संचालनमा ल्याउने गरी मर्मत गर्न लागिएको निगमले जनाएको छ।

चीनबाट ल्याइएको दुई महिनापछि मात्र उक्त विमानले व्यवसायीक उडान थालेको थियो।

तर राष्ट्रिय ध्वजा वाहक वायुसेवा निगमको चोला नै फेरिदिने ठानिएको अभियान अन्तर्गत पहिलो खेपमा ल्याइएको उक्त विमान उडान थालेको पाँच दिन नबित्दै थन्किन पुगेको हो।

चर्कियो

शनिबारसम्म समानसहितको प्राविधिक टोली विराटनगर पुग्ने र मर्मत थालिने निगमले बताएको छ।

विराटनगरस्थित निगमको कार्यालयका प्रमुख हिमाल गौतमले भने, "मर्मतका निम्ति नेपाल र चिनिया प्राविधिकहरुको संयुक्त टोली शनिवार आइपुग्छ, सम्भवत: २-३ बजे तिर विमान मर्मत भइसक्ने पार्नेछौं।"

मर्मतका लागि आवश्यक सामान चीनबाटै मगाउनु परेकाले ढिलाई भएको निगमका अधिकारीहरुको भनाइ छ।

प्रमुख गौतमले भने, "जहाजमा चरा ठोक्किँदा ठुलो क्षति भएको होइन्, पंखाको एउटा ब्लेड चर्किएको मात्रै हो, त्यो मात्रै बदलिए पुग्छ तर हामीलाई चाहिने सामान चीनबाट पानी जहाज मार्फत भारत हुँदै आउनु पर्ने भएकाले मात्रै ढिलो भएको हो।"

स्याल-दुम्सी

उडान र अवतरणका क्रममा विराटनगर विमानस्थलमा जहाजमा चरा ठोकिएको यो पहिलो घटना होइन।

धावनमार्गमा स्याल, कुकुर, दुम्सी लगायतका जनावर कुदेर जहाज उडान र अवतरणमा अवरोध पुर्याएका कैयौं घटनाहरु पनि बाहिर आइरहन्छन्।

नागरिक उडडयन कार्यालय विराटनगरका प्रमुख टेकचन्द्र पोखरेल भन्छन्, "तारवारले रोक्न नसक्ने र प्वालबाट पनि आएका देखेपछि सचेत गराउने गरेका छौं, अवतर वा उडानका बेला भ्याउने स्थिति रहेसम्म मोटर साईकल वा गाडीमै मान्छे पठाएर समेत धपाउन लगाउँछौं।"

त्यसैले उडडयन कार्यालयले विमानस्थलक्षेत्रको सुरक्षालाइ ध्यानमा राख्दै विमानस्थलको चारैतिर घुम्न मिल्ने बाटो बनाउने तयारी भैरहेको जनाएको छ।

यसै बर्षभित्र थप ६ वटा चिनियाँ जहाज ल्याउने तयारी भैरहेको निगमले जनाएको छ।