अन्तर्राष्ट्रिय दबाबमा कारवाही रोकिन्न: इजरेली प्रधानमन्त्री

  • 12 जुलाई 2014
तस्वीर कपीराइट Reuters
Image caption इजरेल र गाजा दुबै तर्फबाट आक्रमण-प्रत्याक्रमण जारी छ

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा आफ्नो देशले गरेको सुरक्षा कारवाही रोक्न परिरहेको अन्तर्राष्ट्रिय दवावको सामना गर्ने बताएका छन्।

गाजा तर्फबाट रकेट हमला नरोकिएसम्म इजरेलले हवाई आक्रमण तीव्र बनाउँदै जाने उनको भनाई छ।

उनको पछिल्ला भनाई प्यालेष्टाइन र उनको देशबीच बढ्दो तनावलाई लिएर देखा परेका अन्तर्रष्ट्रिय चासो र चिन्ताहरुका माझ आएको छ।

अमेरिका तयार

उनले अमेरिकी राष्ट्रपति बराक ओबामा र जर्मन चान्सलर अंगेला मर्कलसँग ‘निकै राम्रो र सकारात्मक’ टेलिफोन वार्ता भएको बताए।

तर गाजामा पूर्ण शक्ति सहितको कार्वाही अन्तर्राष्ट्रिय दवावका कारण नरोक्ने प्रधानमन्त्री नेतन्याहुको भनाई छ।

यसअघि अमेरिकाले दुई देशबीच शान्तिको निम्ति मध्यस्तता गर्न तयार रहेको बताएको थियो।

नेतन्याहुसँगको फोनवार्तापछि राष्ट्रपति ओबामाले भने, “सन् २०१२ मा भएको युद्ध विराम सम्झौतामा दुबै पक्षलाई फिर्ता ल्याउने लगायत युद्धकोस्थिति अन्त्यका निम्ति सघाउन अमेरिका अझै पनि तयार छ।”

पीडाजनक

तस्वीर कपीराइट Reuters
Image caption इजरेली आक्रमणको निशानामा प्यालेष्टीनि सर्वसाधारण परिरहेका छन्

इजरेली आक्रमणमा परेर गाजामा विगत चारदिनमा बालबालीका सहित कयौं सर्वसाधारण गरी मारिने प्यालेष्टिनीहरुको संख्या ११३ पुगेको छ।

प्यालेष्टाइनको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले विहिवारदेखि इजरेलले गरेको कारवाहीमा अधिकांश सर्वसाधारण सहित ७५० जना घाइते भएको जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो पटक गाजास्थित घरमा हवाई आक्रमण गरिँदा दुईजना तथा विहिवार रातभर एवं शुक्रवार विहानसम्म तीनवटा फरक-फरक आक्रमणमा थप ८ जना मारिएका छन्।

इजरेलले भने गाजामा दर्जनौ आतंककारीहरु सहित मारिएको बताएको छ।

तर राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नाभी पिल्लेले सर्वसाधारण नागरिकलाई निशाना बनाउन नहुने अन्तर्राष्ट्रिय कानुन इजरेली सैन्य कारवाहीका क्रममा पालना गरिएकामा गम्भीर आशंका रहेको बताएकी छन्।

उनले जारी गरेको वक्त्व्यमा भनिएको छ, “हामीले घरहरुमा गरिएको आक्रमणमा परि बालबालीकाहरु सहित कयौं सर्वसाधारण मारिएको भन्ने निकै पीडादायी रिपोर्टहरु प्राप्त गरेका छौं।”

युद्ध-विरामको सम्भावना

गाजाका लडाकूहरुले पनि इजरेलमा रकेट आक्रमण जारी राखेका छन्, जसबाट केही घाइते भएको र क्षति पुगेको बताइएको छ।

शुक्रवार गाजाबाट इजरेलमा ७७ वटा रकेट प्रहार भएको त्यहाँको सेनाको भनाई छ।

इजिप्ट र टर्कीले गाजा विरुद्ध इजरेलले गरिरहेको शक्ति प्रयोगको आलोचना गरेका छन्।

इजिप्टले सन् २०१२ मा भएको द्वन्द्वपछि हमास र इजरेलबीच युद्ध-विराम सम्झौता गराउन मध्यस्तता गरेको थियो।

तर कायरोस्थिति एकजना बीबीसी सम्वाददाताका अनुसार इजिप्टले पहिले जस्तो यसपटक पनि युद्ध-विरामको स्थिति ल्याउन सक्ने संकेत तत्काल देखिन्न।